कांग्रेस र एमालेभित्रको विवाद पनि मैले नै समाधान गरिदिने गरी काम गरेको छु: प्रचण्ड (भिडिओ) – Nepal Press

कांग्रेस र एमालेभित्रको विवाद पनि मैले नै समाधान गरिदिने गरी काम गरेको छु: प्रचण्ड (भिडिओ)

गुट नभइ पार्टी बनाउनतिर लाग्न नेता कार्यकर्तालाई निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको आवश्यकताअनुसार सबै राजनीतिक प्रमुख दललाई आफूले संयोजन गरिराखेको बताएका छन् ।

नेपाल बुद्धिजीवी संगठनको छैटौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेस र एमालेभित्रको समस्या पनि आफैंले समाधान गरिदिने गरी काम गरिरहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘मान्छेहरूले हेर्दा मलाई कहिले यता कहिले उता पनि भन्छन्, तर मैले पार्टी आन्दोलन र देशको आवश्यकताअनुसार सबै राजनीतिक प्रमुख दलहरूसँग सदनभित्र र बाहिर भएकाहरूलाई पनि संयोजन गरिराखेको छु । कहिलेकाहीँ मलाई लाग्छ, नेपाली कांग्रेस र एमालेलाई पनि संयोजन गर्ने, उहाँहरूभित्रको समस्या पनि मैले नै समाधान गरिदिनुपर्‍यो जस्तो गरी काम गर्नु परिराखेको छ । मैले गरिराखेको पनि छु ।’

पार्टी विभाजनहरूको अप्ठेरा परिस्थितिहरू झेलेर फेरि पार्टी एकताको नयाँ प्रक्रिया हुँदै अझ एउटा बृहत एकतातिर गएको उनले बताए ।

उनले भने, ‘शान्ति सम्झौताको हस्ताक्षरकर्ताको बीचमा अन्तिम टुंगो लगाउने कुराकानी भइरहेको छ । अहिले पनि देशमा समाजवादसहित सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा सुरू गर्न सकिने दृढताका साथ हिँडेको छु ।’

प्रचण्डले पार्टीका नेता कार्यकर्ताहरूलाई गुटभन्दा पनि पार्टी निर्माणमा लाग्न आग्रह गरे ।

उनले भने, ‘पार्टीमा कुनै खालको गुट बनाउने होइन, गुटले मान्छेलाई तलतल झार्छ, मान्छेको हैसियत आत्मसम्मान घट्दै जान्छ । पार्टी बनाउनतिर लाग्दा मान्छेको सम्मान बढ्छ । त्यसैले त्यतातिर केन्द्रित हुनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर