दोस्रो वार्षिकोत्सवमा रास्वपाको घन्टी कालो, रविको राजनीतिमा चुनौतीको जालो – Nepal Press

दोस्रो वार्षिकोत्सवमा रास्वपाको घन्टी कालो, रविको राजनीतिमा चुनौतीको जालो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सव मनाउँदैछ । स्थापनाको छोटो समयमै राजनीतिको मूलधारमा स्थापित भएको रास्वपाका आगामी दिनहरु भने सरल र सहज नहुने विश्लेषण जिम्मेवार नेताहरुले नै गर्न थालेका छन् ।
रास्वपा सभापति रवि लामिछानेले आज वार्षिकोत्सवको शुभकामना दिँदै फेसबुकमा स्टाटस लेखे । उनको स्टाटसमा उत्साहभन्दा हतासा बढी झल्किन्छ । उनले प्रयोग गरेको पोस्टरमा पार्टीको चुनावचिह्न घन्टीको रंग कालो बनाइएकोमा धेरैको ध्यान पुगेको हुनुपर्छ । यसको सांकेतिक अर्थ छ ।

यसअघि महामन्त्री डा. मुकुल ढकाल समीक्षा यात्रामा निस्कँदा पहिलो पटक उनले कालो रंगको घन्टी प्रयोग गरेका थिए । यसअघि नीलो घन्टी हुने गरेकोमा अहिले किन रंग बदलियो ?

एक नेता भन्छन्, ‘पार्टीको चुनौतीपूर्ण घडीलाई प्रतिविम्बित गर्न घन्टी कालो बनाइएको हो ।’

लामिछानेले आफ्नो शुभकामना सन्देशमा रास्वपा आफ्नो उद्देश्यमा अडिग र गन्तव्यमा स्पष्ट रहेको बताएका छन् । पार्टीको बाटो भने सरल नरहेको उनको स्वीकारोक्ति छ ।

उनी लेख्छन्, ‘बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुङ्गा खस्छ । आमनागरिक एवं रास्वपा परिवारका तमाम सदस्य शुभचिन्तकहरुको आशा र अपेक्षासहितका अग्ला अग्ला पहाडहरु काँधमा बोकेर हामी अहिले भिरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेका छौं ।’

कैयौं कठिनाइहरुलाई नचिरी एउटा पार्टी स्थापित हुन नसक्ने भन्दै लामिछानेले वैचारिक स्पष्टतासँगै राजनीतिक परिपक्वता हासिल गरेर यात्रा सम्पन्न गर्ने विश्वास प्रकट गरेका छन् ।

सभापति लामिछानेले यसरी समर्थकहरुमा ऊर्जा भर्न खोजे पनि उनी स्वयंकाे आत्मविश्वास खस्किँदो अवस्थामा छ । पार्टीले सरकारमा गएपश्चात जनआकांक्षाहरुलाई सम्बोधन गर्न सकिरहेको अवस्थामा छैन

‘विश्वास गर्ने एकदुई जनामात्र हुँदा त हिँड्ने आँट गरियो भने आज त हामीसँग लाखौंलाख शुभेच्छुकहरु हुनुहुन्छ । २ वर्षअघि हामीलाई विश्लेषण गर्न त परको कुरा, अस्तित्वमा समेत नरहने ठोकुवा गर्ने कैयौं विश्लेषकहरु आज ‘रास्वपा खस्कँदो छ’ भन्ने विश्लेषणवाला आर्टिकलको ड्राफ्ट लेख्दै होलान्, कोही टक शोमा बोल्न घाँटी र टाइ मिलाउँदै होलान् । तर, हामी हाम्रो यात्रामा अविचलित छौं । सम्झ्नुस् त, देश तथा विदेशका टोलटोल, वस्तीवस्तीका आममान्छेको आवाज बोल्दाबोल्दै त्यो आवाजलाई ‘घण्टी’मा रुपान्तरण गरेर २ वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौं । २१ सांसदले एक वर्षमा सिङ्गो सदनको ध्यान तान्यौं, ४ मन्त्रीले सिङ्गो देशको ध्यान तान्दैछौं ।’

सभापति लामिछानेले यसरी समर्थकहरुमा ऊर्जा भर्न खोजे पनि उनी स्वयम्को आत्मविश्वास खस्किँदो अवस्थामा छ । पार्टीले सरकारमा गएपश्चात जनआकांक्षाहरुलाई सम्बोधन गर्न सकिरहेको अवस्थामा छैन । रास्वपाका एक मन्त्रीले राजीनामा खल्तीमा बोकेर बसेको अभिव्यक्तिसमेत दिए ।

गृहमन्त्रीको कुर्सीमा रहेका सभापति लामिछानेलाई विवादले पिछा छोडिरहेको छैन । सहकारी प्रकरणको झ्याउलोले गर्दा उनी लामो समयसम्म मन्त्रालयको जिम्मेवारीमा दत्तचित्त भएर लाग्न पाएनन् । उनले चालेका कथित ‘बोल्ड’ कदमहरु पनि ‘हात्ती आयो फुस्सा’ सावित भइरहेका छन् । कृष्णबहादुर महरादेखि कैलाश सिरोहियासम्मलाई पक्राउ गर्दा उनको वाहवाही भएको थियो । तर, दुवै जना सहजै रिहा हुनुले उनलाई ठूलै धक्का पुग्यो । कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजुको समेत फाइल खोल्ने भनेर कस्सिएका उनी अहिले फत्रक्क गलेको प्रतित हुन्छ ।

रास्वपाका तीन मन्त्रीहरु डीपी अर्याल, सुमना श्रेष्ठ र विराजभक्त श्रेष्ठले आआफ्नो मन्त्रालयमा सुधारको प्रयास त गरिरहेका छन्, तर जनतालाई महसुस गराउन सकेका छैनन् । फलस्वरुप कर्मकाण्डी पारामा १०० दिनको उपलब्धि सूची निकालेर आत्मप्रचार गर्नु परिरहेको छ । उनीहरुले अरु मन्त्रीभन्दा तैविसेक फरक छवि भने जेनतेन कायम गरिरहेका छन् ।

रास्वपा अहिले कठोर आत्मसमीक्षाको विन्दूमा छ । बाहिर जति आत्मविश्वासी र आक्रामक अभिव्यक्तिहरु दिए पनि लामिछाने स्वयम् पनि रक्षात्मक मनस्थितिमा नै छन् । पार्टीले निर्णय गरेर महामन्त्री डा. मुकुल ढकाललाई देशभर समीक्षा यात्रामा पठाएको थियो ।

स्थापनाको एक वर्ष नबित्दै संसदमा २१ सीट जितेर चौंथो ठूलो दलको हैसियत बनाउनु चानचुने सफलता थिएन । यसको सबैभन्दा ठूलो कारण रवि लामिछाने नै थिए । उनीप्रतिको आशा र भरोसाले गर्दा नै जनताले नचिनेका उम्मेदवारहरुलाई पनि आँखा चिम्लिएर भोट दिएका हुन् । तर, जनअपेक्षामा खरो उत्रिन लामिछानेलाई सकस परिरहेको छ । मन्त्रालयबाट केही पपुलिष्ट कामबाहेक उनले राष्ट्रको दिगो हितको पक्षमा ठोस कदम चाल्न सकिरहेका छैनन् ।

रास्वपा अहिले कठोर आत्मसमीक्षाको विन्दूमा छ । बाहिर जति आत्मविश्वासी र आक्रामक अभिव्यक्तिहरु दिए पनि लामिछाने स्वयम् पनि रक्षात्मक मनस्थितिमा नै छन् । पार्टीले निर्णय गरेर महामन्त्री डा. मुकुल ढकाललाई देशभर समीक्षा यात्रामा पठाएको थियो । उनले ल्याएको रिपोर्ट सुखद छैन । आज सामाजिक सञ्जालमा स्टाटस लेखेर ढकालले गम्भीर परिस्थितिको संकेत गरेका छन् । पार्टी जोगाउने हो भने केही बोल्ड निर्णय लिनैपर्ने उनको अडान छ ।

ढकाल लेख्छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टी जोगाउने वा नजोगाउने, हाम्रो औचित्य के हो ? गम्भिर र उच्च संवेदनशील प्रश्नका अगाडि हामी खडा छौं । यो प्रश्न आइसक्यो, र यो प्रश्न छ भनेर सार्वजनिक स्वीकारोक्ति गर्दै हामीले हामीमा केही परिवर्तन गरी अघि बढेनौं भने हाम्रा गाह्रा दिन शुरू भए । पार्टी जोगाउने हो, नेपाली जनताको आशा भरोसा जगाइराख्ने हो भने हामीले उच्च सचेतनासहित जोखिम लिएरै भए पनि केही बोल्ड निर्णय गरेर जानपर्छ । मलाई विश्वास छ, हामी त्यस्तो निर्णय गर्न अलिकति पनि हच्किदैनौं ।’

ढकालले संकेत गरे झैंं यदि रास्वपाले कार्यशैलीमा मात्र नभएर पार्टीको सैद्धान्तिक प्रस्तावनामाथि नै पुनर्विचार गर्नुपर्ने अवस्था आइसकेको छ । कांग्रेस, एमाले र माओवादीको भन्दा हामी फरक कित्तामा छौं भन्ने महसुस नगराएको खण्डमा रास्वपाले आफ्नो साख व्युँताउन सहज हुनेछैन । संघीयता र धर्मनिरपेक्षको स्पष्ट विपक्षमा उभिने जनआकांक्षालाई रास्वपाले अहिलेसम्म नजरअन्दाज गर्दै आयो । रास्वपा संघीयताको मुद्दामा धरमर छ भने धर्मनिरपेक्षतालाई उसले स्वीकार गरेको छ । तर, अब भने जनचाहना-विपरीतका यी दुई एजेन्डाको स्पष्ट खिलाफमा नउभिए पार्टी उँभो लाग्न नसक्ने निष्कर्षमा थुप्रै नेताहरु पुगिसकेका छन् ।

जनमानसमा पार्टीको लोकप्रियतामा तीव्र ह्रास आउन थालेको रास्वपा नेतृत्व पंक्तिलाई नै महसुस भएको छ । केहीले खुलेरै बोल्न थालेका छन् । पार्टीभित्र सभापति लामिछानेको प्रभुत्वसमेत खुकुलो हुँदै गएको प्रतित हुन्छ ।

जनमानसमा पार्टीको लोकप्रियतामा तीव्र ह्रास आउन थालेको रास्वपा नेतृत्व पंक्तिलाई नै महसुस भएको छ । केहीले खुलेरै बोल्न थालेका छन् । पार्टीभित्र सभापति लामिछानेको प्रभुत्वसमेत खुकुलो हुँदै गएको प्रतित हुन्छ । केही दिनअघि पार्टीका एक केन्द्रीय सदस्य गणेश कार्कीले सभापति लामिछानेका विरुद्ध खुलेरै अन्तर्वार्ता दिए । उनले ‘सभापतिका कारण पार्टीको मिसन ८४ ले हावा खाएको’ टिप्पणी गरेका थिए । तर, उनलाई लामिछानेले कारबाही त के स्पष्टीकरणसम्म सोध्न सकेनन् ।

बुझ्न सकिन्छ कि लामिछाने अनेक परिवन्दमा छन् । कतिपय उनकै कमजोरीमा टेकेर त प्रहार भइरहेको छ भने कतिपय बनावटी बखेडाहरु झिकेर उनलाई टाङ अड्काउन खोजिएको छ । सहकारी विवादमा जबरजस्ती घिसार्दै नखाएको विष मुखमा टाँसिदिने कोसिस भइरहेको छ । अहिले पनि गर्दनमा तरवार झुण्डाएर हिँडेका छन् लामिछाने । संसदीय छानबिन समितिले उनलाई अलिकतिमात्रै दोष देखाइदियो भने पनि पदमा बसिरहन नैतिक संकट हुनेछ । अहिले आक्रामक अभिव्यक्तिहरु दिएर मनभित्रको त्रास लुकाउन खोजिरहेका छन् ।

लामिछानेलाई असफल पार्न ठूलै जमात सक्रिय रुपमा लागिरहेको छ । यो जमातमा राजनीतिक दलदेखि मिडियासम्म छन् । नेपाली मिडियाको एउटा ठूलो तप्कामा ‘डे वान’ देखि नै लामिछानेप्रति चिड्चिडाहट थियो । अहिले पनि परिस्थितिमा तात्विक भिन्नता आएको छैन । रविले भन्ने गरेका १२ भाइ अहिले पनि उसैगरी संगठित भएर उनलाई हानिरहेकै छन् ।

सत्ताबाट बाहिर धकेलिएको संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आफ्नो मुख्य निशाना रविलाई बनाएको छ । कांग्रेसका महामन्त्री गगन थापा त व्यक्तिगत दुश्मनीकै स्तरमा ओर्लिएका थिए । कांग्रेसलाई नपत्याए पनि गगन थापालाई पत्याउनेहरुको जमात देशमा ठूलै छ । ‘गगनले यत्तिकै बोलेनन् होला’ भनेर पनि रविविरुद्धको आरोपमा आंशिक विश्वास गर्न थालिएको छ ।

अहिले रविलाई प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले संरक्षण दिएका छन् । तर, यो केवल सत्तास्वार्थका लागि हो भन्ने उनले पक्कै बुझेको हुनुपर्छ । रविले छोड्दा सरकार ढल्ने अवस्था नरहेको भए उनलाई प्रचण्ड-ओलीले यसरी सुम्सुम्याएर राखिरहने थिएनन् ।

रविलाई नरुचाउनेहरुको सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शााह पनि पर्छन् । रविले जति प्रयास गरे पनि बालेन कहिल्यै उनीप्रति सकारात्मक भएनन् । अब ८४ को चुनावमा बालेनले पार्टी नै खोलेर आए भने रास्वपाको ‘पत्तासाफ’ हुन सक्ने चर्चा जनमानसमा चल्ने गरेको छ । रास्वपाकै कतिपय नेताहरुले रविभन्दा बालेनप्रति व्यक्तिगत झुकाव राख्ने गरेको बताइन्छ ।

सामाजिक सञ्जालको अभिमत हेर्दा पहिले जस्तो रास्वपा र रविप्रति एक पक्षीय क्रेज देखिन्न । पहिले आँखा चिम्लेर समर्थन गर्नेहरु पनि आजभोलि ‘सन्तुलित’ टिप्पणी गर्ने गर्छन् । आलोचकहरुको स्वर निरन्तर चर्को भइरहेको छ । रवि सत्ताका लागि प्रचण्ड र ओलीसँग टाँसो लाग्न गएको पनि धेरैले रुचाएका छैनन् । क्रेज खस्किनुको एउटा कारण यो पनि हो । नेपालमा कुनै पनि दललाई सरकारमा गइसकेपछि आफ्नो लोकप्रियता कायम राख्न हम्मे पर्छ नै ।

अहिले रविलाई प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले संरक्षण दिएका छन् । तर, यो केवल सत्तास्वार्थका लागि हो भन्ने उनले पक्कै बुझेको हुनुपर्छ । रविले छोड्दा सरकार ढल्ने अवस्था नरहेको भए उनलाई प्रचण्ड-ओलीले यसरी सुम्सुम्याएर राखिरहने थिएनन् । उनीहरु दाहिना होइञ्जेलसम्म रविलाई ठूलो संकट नआउला् । तर, नेपालको राजनीतिमा कहिले को कुन कित्तामा पुग्छ कुनै ठेगान छैन । त्यसैले पनि रविको राजनीति असुरक्षित देखिन्छ ।

समग्रमा भन्नुपर्दा बुलेट ट्रेनको गतिमा हुइँकिएको रविको राजनीतिक यात्रा अहिले त्यही गतिमा नभए पनि बिस्तारै ओरालो लाग्न थालेको छ । यो ओरालो यात्रालाई उनले ब्रेक लगाउन सक्छन्, तर सरकार र पार्टीबाट केही बोल्ड निर्णयहरु भने लिनैपर्छ । झिनामसिना पपुलिस्ट कामहरुमा रमाउने होइन, राष्ट्रिय सुरक्षा र सम्प्रभूतामा दिगो प्रभाव पार्ने महत्वपूर्ण निर्णयहरु रविबाट अपेक्षित छन् । आगामी दिनमा कम बोल्ने र बढी काम गर्ने बालेनको शैली पछ्याउनु उनका निम्ति श्रेयस्कर हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *