जसपा केन्द्रीय समितिमा उपेन्द्र एक्लै, सर्वसम्मत गर्छु भन्दै उम्मेदवारलाई रोकेका थिए – Nepal Press

जसपा केन्द्रीय समितिमा उपेन्द्र एक्लै, सर्वसम्मत गर्छु भन्दै उम्मेदवारलाई रोकेका थिए

काठमाडौं । पार्टी विभाजनको एक महिनामै महाधिवेशनको सामना गरेको जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूलाई सर्वंसम्मत अध्यक्ष घोषणा गरेर महाधिवेशन टुंग्याए । महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यका लागि परेको उम्मेदवारी फिर्ता गर्न लगाएर सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै उम्मेदवारी दिएकाहरुलाई फिर्ता लिन लगाए ।

सबै नेताहरूलाई उम्मेदवारी फिर्ता गराएर अन्य पदाधिकारी छान्ने जिम्मेवारी अध्यक्ष यादवलाई नै दिइएको छ । तर, उनले एक साता बित्दासमेत १९ पदाधिकारी र केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढाएका छैनन् ।

अशोक राई, राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राईलगायतले पार्टी फुटाएर जसपा गठन गरेपछि नेतृत्वमा उपेन्द्रविरुद्ध कोही उभिन सकेनन् । तर, प्रतिनिधिसभामा १२ सांसद भएका उपेन्द्रसँग अहिले ५ जनामात्रै छन् । निरन्तर शक्ति ओरालो लागे पनि उनी पार्टी नेतृत्वमा १८ वर्षदेखि अविराम छन् ।

२०६३ मा मधेशी जनअधिकार फोरम गठन भएदेखि नेतृत्वमा रहेका उपेन्द्रले विभिन्न पार्टीसँग एकता र टुटफुट भएपनि नेतृत्व छाडेका छैनन् । महाधिवेशनले अध्यक्षलाई सबै जिम्मेवारी दिएकाले छलफलमा रहेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

उनले भने, ‘महाधिवेशनले सबै जिम्मेवारी अध्यक्षलाई दिएको छ । अब कहिले गर्नुहुन्छ टुंगो छैन । समय लाग्छ भन्नुभएको छ । कति भन्नुभएको छैन । तत्काल हुने सम्भावना छैन ।’

महाधिवेशनको ३५ दिनभित्र निर्वाचन आयोगमा पदाधिकारीको नयाँ सूची पठाउनुपर्छ भनिएकाले त्यसअघि नै टुंग्याउनसक्ने उनको आँकलन छ ।

उपेन्द्रले अब सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १, २०१ केन्द्रीय सदस्य चयन गर्नुपर्नेछ । सात सचिवमा भने प्रादेशिक क्लस्टरका आधारमा हुनेछ । एक सहअध्यक्षमा रकम चेम्जोङ, राजकिशोर यादव र लालबाबु राउतले उम्मेदवारी दिएका थिए। तीनमध्ये चेम्जोङको सम्भावना रहेको जसपाका एक नेताले बताए ।

ती नेताले भने, ‘जुन पदमा उम्मेदवारी दिएका छन् । त्यही पदमा व्यवस्थापन गर्नेगरी लाग्नुभएको छ । पदाधिकारीमा २० जनामा ७० जनाको उम्मेदवारी परेको छ । त्यही भित्रबाटै हुन्छ । तर, अध्यक्षज्यूले निर्वाचन प्रक्रिया त रोक्नुभयो अब चयनमा सहज छैन ।’

सह-अध्यक्षमा नहटेकाहरूलाई उपाध्यक्षमा समेट्नेगरी आन्तरिक छलफल चलाएका छन् । तर, त्यसमा नेताहरुले आकांक्षा राख्छन् राख्दैनन् उनीहरुमा निर्भर रहन्छ । त्यसैले उपेन्द्रले सकेसम्म नेताहरूलाई नै सहमतिको प्रयास गर्न भनेको बताइन्छ ।

५ जना उपाध्यक्षका लागि १७ जनाले उम्मेदवारी दर्ता गराएका थिए । उपाध्यक्षमा मृगेन्द्रकुमार सिंह, हरिनारायाण यादव, आङ देन्डी शेर्पा, विद्युत बज्राचार्य, अजुर्न थापा, गोविन्द चौधरी, शिवलाल थापा मगर, सरोजकुमार यादव, मोहम्मद खालिद, प्रकाश अधिकारी, बच्चा राउत अहिर, सुरेन्द्र प्रसाद कुर्मी, रामबचन अहिर यादव, मानध्वज ब्लोन, अमरेश नारायण झा, राजन केसी र सुमन कुमार चौधरी, रेखा यादव, शोभा देवी, सुनी लामा, सविता यादव र राधा थापाले उम्मेदवारी दिएका थिए ।

२ महासचिवमा महासचिवमा बोमबहादुर दर्लामी मगर, रामकुमार शर्मा, विजय कुमार, मनिष सुमन र अशोककुमार यादवले उम्मेदवारी दर्ता गराएका थिए । महासचिवमा मनिष सुमन र रामकुमार शर्माको सम्भावना रहेको एक नेताले बताए । हालै माओवादी छाडेर जसपा नेपाल रोजेका शर्मालाई उपेन्द्रले महासचिव बनाउने आश्वास दिएर भित्र्याएको बताइन्छ ।

३ उपमहासचिवमा खुला ९ र महिला ३ गरी १० जनाको उम्मेदवारी परेको थियो । उपमहासचिवमा सुरेन्द्र कुमार यादव, रामबाबुप्रसाद यादव, रामकिशोर यादव, राजकुमार राई, योगेन्द्रराय यादव, शैलेन्द्रप्रसाद साह, सुरेशकुमार मण्डल, जयप्रकाश राई, जयराम यादव, सीताकुमारी यादव, विनिता कुमारी यादव र निर्मला यादवको उम्मेदवारी दिएका थिए ।

७ सचिव पदका लागि ३४ जनाको उम्मेदवारी दिएका थिए । सचिवमा शेख अब्दुल कलाम, प्रमोद साह, राजकुमार गुप्ता, रामबाबु कुमार यादव, धरेन्द्र यादव, सरोज सिंह कुश्वाहा, विकासकुमार तिवारी, प्रभुराम श्रेष्ठ, रामकुमार मण्डल, वीरेन्द्र प्रधान, लाक्पा शेर्पा, अशेश्वर यादव, अशोककुमार यादव, कमरुदिन राई, कृष्ण कुमार राई, देवबहादुर दुरा, भारत महतो, भीमबहादुर थापा, महाजन यादव रहेका छन् ।

यस्तै, विन्देश्वर यादव, चन्देश्वर पासवान, विश्वनाथ राउत, सञ्जयकुमार सिंह, विजयकुमार दनुवार, चन्देश्वरप्रसाद सिंह, पूर्णबहादुर बस्नेत, सिंहबहादुर लामा, रमेशचन्द्र प्रधान, दिना लामा, रसना यादव, उषाकुमारी यादव, तारा विश्वकर्मा, प्रमिला यादव र सुरिता कुमारी साहले उम्मेदवारी दिएका थिए ।

एक कोषाध्यक्षमा रेणुकुमारी यादव, संजयकुमार यादव र बलराम महतोले उम्मेदवारी दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर