प्रचण्ड, माधव नेपालले एमालेलाई मियो मानिसके : उपमहासचिव ज्ञवाली – Nepal Press

प्रचण्ड, माधव नेपालले एमालेलाई मियो मानिसके : उपमहासचिव ज्ञवाली

चितवन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रचण्ड, माधव नेपालले एमालेलाई मियो मानेर नयाँ समीकरणमा आएका बताएका छन् ।

नेकपा एमाले चितवनको नयाँ निर्वाचित कमिटीको जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले एमालेले राष्ट्रभक्त पार्टी भएकोले देशमा आशा जगाउन अन्ततः सरकार निर्माणमा एमालेलाई मियो मान्नुपर्ने अवस्था आएको बताएका हुन् ।

‘प्रतिशोधपूर्ण ढंगले एमालेलाई कहिल्यै नेतृत्वमा आउन नसक्ने गरी पछार्यौं भन्ने थियो’, उपमहासचिव ज्ञवालीले भने, ‘अन्ततः जनतामा छाएको निराशा हटाएर आशा जगाउन एमाले पार्टी चाहियो र प्रचण्डा माधव नेपालले एमालेलाई मियो मानेर नयाँ समीकरणमा आएका छन् ।’

उनले नेपालको राष्ट्रिय राजनीतिमा नेकपा एमाले नेतृत्वदायी भूमिकामा स्थापित भएको समेत दाबी गरेका छन् । गएको तीन वर्षमा गठबन्धन सरकारले अर्थतन्त्र कमजोर बनाउने, भ्रष्टाचार संस्थागत गर्ने र देशमा निराशा जगाउने कुकृत्य गरेको समेत उनले आरोप लगाए ।

उनले भने, ‘गठबन्धन सरकारको सबैभन्दा ठूलो कुकृत्य जनताको आशा र भरोसा र देश बन्छ भन्ने विश्वासमाथि तुषारापात गर्ने काम गरेको हो । त्यसैले एमाले देश बन्छ भन्ने आशा र विश्वास जगाउन सरकारमा गएका हौँ ।’

उनले नेकपा एमाले वैचारिक परिवर्तनमा सफल भएको पनि दाबी गरेका छन् । उनले आफ्नो पार्टीलाई पुर्याउन मिल्नेसम्म पुछारमा दक्षिणपन्थी शक्तिले लगिसकेको बताउँदै एमाले बाउन्स ब्याकको चरणमा रहेको बताए ।

‘हामी पुग्नुपर्ने जति तल पुगिसकेका छौँ, अब बाउन्सव्याकको चरणमा छौँ’, उपमहासचिव ज्ञवालीले थपे, ‘हामी माथि लागिसकेका छौँ, अब तल झर्दैनौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर