सहकारी ठगीविरुद्ध सानुरामको ठूलो एक्सन- सर्वसाधारणकाे अर्बौं बचत अपचलन गर्नेहरु यसरी समातिदैछन् – Nepal Press

सहकारी ठगीविरुद्ध सानुरामको ठूलो एक्सन- सर्वसाधारणकाे अर्बौं बचत अपचलन गर्नेहरु यसरी समातिदैछन्

काठमाडौं । एसएसपी सानुराम भट्टराईले वैशाखको तेस्रो साता काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व सम्हालेयता बचतकर्ताको मोटो रकम हिनामिना गरेका दुईवटा सहकारीका सञ्चालकहरु पक्राउ परेका छन् ।

मीनभवनस्थित कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोपरेटिभका पूर्व अध्यक्ष सीबी लामा जेठको तेस्रो साता पक्राउ परेका थिए । बचतकर्ताको करिब २ अर्ब रकम हिनामिना गरेको आरोप लागेका लामा फरार थिए । वर्तमान अध्यक्ष हाल जेलमा छन् । चितवनमा लुकेर बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीको दाबी छ ।

कान्तिपुर सहकारीले रकम फिर्ता नगरी सन्चालकले हिनामिना गरेको भन्दै ८ सय ५२ जनाले उजुरी दिएका थिए । सहकारीको रकम अवैध रुपमा विभिन्न ठाउँमा लगानी गरेको र बचतकर्ताको रकम हिनामिना गरेको आरोप उनीमाथि छ । लामा हाल पशुपति सेभिङ एन्ड क्रेडिटका सञ्चालक पनि रहेका छन् । उक्त सहकारीको अवस्था पनि राम्रो छैन ।

यस्तै, बचतकर्ताको करिब एक अर्ब रकम हिनामिना गरेको आरोप लागेको ललितपुरको कुमारीपाटीस्थित कृषी विकाश बहुउदेशीय सहकारीका पदाधिकारी पनि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको फन्दामा परेका छन् । अध्यक्ष तेजविक्रम थापासहित ४ जना सञ्चालकलाई जेठ ३२ गते पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा व्यवस्थापकसमेत रहेकी थापाकी श्रीमती पनि रहेकी छन् ।

हालसम्म ५ सय ६६ जना बचतकर्ताले ९४ करोड २३ लाख ४२ हजार रुपैयाँ ठगी भएको भन्दै उजुरी गरेका छन् । एसएसपी भट्टराईका अनुसार उक्त सहकारीमा २ हजार ५ सय ३१ जनाले २ अर्ब ८० करोड रुपैयाँ बचत गरेका थिए । ‘त्यसैले जाहेरवालाको संख्या अझ बढ्न सक्छ’, भट्टराईले भने । प्रहरीमा उजुरी परेको लामो समय बितिसक्दा पनि उनीहरु पक्राउ पर्न सकिरहेका थिएनन् ।

देशभर धेरै सहकारीले बचतकर्ताको रकम अर्बौँ रुपैयाँ हिनामिना गरेको आरोप लागेपछि सञ्चालकहरुको भागाभाग भएको थियो । सहकारी पिडितको रकम फिर्ता र रकम मिनामिनामा शक्ति केन्द्रहरु समेत जोडिएको भन्दै लामो समय संसद अवरुद्ध हुने गरी माग उठेपछि संसदीय छानबिन समिति पनि गठन भएको छ । यता प्रहरीले आफ्नो अनुसन्धान र कारबाहीलाई पनि कायमै राखेको छ ।

‘बचतकर्ताको अर्बौँ रुपैयाँ हिनामिना भएकाले हामीले अनुसन्धान र कारबाहीलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ’, एसएसपी भट्टराईले भने । काठमाडौं उपत्यका भित्रका ठूला अपराधहरुको अनुसन्धान गर्ने जिम्मेवारी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलय भट्टराईले नेतृत्व गरेयता पछिल्ला गतिविधिहरु ठगीजन्य अपराधको अनुसन्धान र कारबाहीमा केन्द्रित देखिन्छ ।

यूएन मिनसमा वर्क पर्मिटमा कामदार पठाउने भन्दै एक सय २४ जनाबाट करिब ४ करोड रुपैयाँ ठगी गरेको आरोप लागेका पोखराका ४२ वर्षीय विनोद श्रेष्ठ वैशाखको अन्तिम साता पक्राउ परेका थिए । यस्तै, न्युजिल्यान्ड, फ्रान्सलगायतका देश पठाई दिने भन्दै ३ सयभन्दा बढी युवाबाट १५ करोडभन्दा बढी रुपैयाँ ठगी गरेको आरोप लागेका तीन जना पक्राउ परेका थिए ।

अमेरिका र क्यानडा पठाई दिने भन्दै १० जनाबाट करिब साढे ५ करोड रुपैयाँ ठगी गर्ने गिरोहलाई अपराध अनुसन्धान कार्यालयले भारतसमेत पुगेर ल्याएको छ ।

जापानमा अध्ययन तथा रोजगारीमा पठाई दिने भन्दै २ सय १९ जनालाई ठगी गरेको आरोपमा एक कन्सल्टेन्सीका सन्चालकहरु पनि पक्राउ परेका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार भट्टराईले जिम्मेवारी सम्हालेयता मात्र वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा ४७ जना पक्राउ परेका छन् । एसएसपी भट्टराईले सर्वसाधारणको रकम धेरै ठगी हुने भएकाले पीडितलाई केन्द्रमा राखेर कारबाही अगाडि बढाइएको बताए ।

‘ठगीमा सर्वसाधारणको रकम ठगी हुने भएकाले अपराधीलाई कारबाहीको दायरामा ल्याउने र पीडितको रकम फिर्ता हुने वातावरण तयार गर्ने परिस्थिति बनोस् भन्ने हो’, भट्टराई भन्छन् ।

उनका अनुसार अनलाइन ठगीमा संलग्न १० जना पनि यसबीचमा पक्राउ परेका छन् । पछिल्लो समय राष्ट्रिय अर्थतन्त्रलाई नै चुनौती बनिरहेको अनलाइन बेटिङ र क्रिप्टो करेन्सीको कारोबारलाई कारबाहीको दायरामा ल्याउन आफुले प्रयाश गरिरहेको एसएसपी भट्टराईले भने ।

करिब २ अर्ब रकम कारोबार गरेको दाबीसहित अपराध अनुसन्धान कार्यालयले गिरोहलाई नियन्त्रणमा लिएको थियो । यस्तै, हुन्डी कारोबारीको आशंकामा काठमाडौंको दरबारमार्गबाट ९८ लाख रुपैयाँसहित २ जना पक्राउ परेका थिए ।

एसएसपी भट्टराईले धेरै कामहरु ‘पाइपलाइन’ रहेको बताए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकै अधिकारीहरु पनि विगतभन्दा अहिले कामको चाप र स्तर अझ बढेको बताउँछन् । २०५६ सालमा प्रहरी निरिक्षकबाट सेवा सुरु गरेका भट्टराई काविल प्रहरी अधिकृतका रुपमा परिचित छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *