आईएमई समूहको ६६ मेगावाटको मध्य कालीगण्डकी हाइड्रोपावरमा जुट्यो लगानी – Nepal Press

आईएमई समूहको ६६ मेगावाटको मध्य कालीगण्डकी हाइड्रोपावरमा जुट्यो लगानी

काठमाडौं । ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन गर्न सहवित्तीयकरणका बैंकहरू र प्रवर्द्धक कम्पनीले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् ।

आईएमई समूहको कम्पनी हाइड्रो सपोर्ट प्रा.लि.मार्फत म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित कालीगण्डकी नदीमा निर्माण गर्न लागिएको ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन गर्न सहवित्तीयकरणका बैंकहरू र प्रवद्र्धक कम्पनीले ऋण सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा हाइड्रो सपोर्ट प्रा.लि.को तर्फबाट आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंकको तर्फबाट सहवित्तीयकरणको लिड बैंक नबिल बैंकका प्रमुख कार्यकारी ज्ञानेन्द्र ढुङ्गानाले हस्ताक्षर गर्नुभएको छ ।

सहवित्तीयकरणका बैंकहरूको अगुवाइ नबिल बैक लिमिटेडले गरेको छ भने अन्य सहभागी बैकहरूमा एभरेष्ट बैक लिमिटेड, नेपाल इन्भेष्टमेण्ट मेघा बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य वैक र प्रभु बैक लिमिटेड रहेका छन् ।

निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब ९३ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा ७५ प्रतिशत ऋणबाट र २५ प्रतिशत स्वपुँजी (इक्विटी) बाट जुटाइएको छ । इक्विटीमा आईएमई समूह र सर्वसाधारणको लगानी रहनेछ ।

सहवित्तीयकरणका बैकहरूले आयोजनामा निर्माण अवधिको ब्याजसहित ११ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गर्नेछन् । कुल ऋणमध्ये नविल बैंकको ३ अर्ब १२ करोड, एभरेष्ट बैक र नेपाल इन्भेष्टमेण्ट मेघा बैंक प्रत्येकले २ अर्ब र नेपाल बैक, राष्ट्रिय वाणिज्य बैक र प्रभु बैक, प्रत्येकको १ अर्ब रूपैयाँ रहनेछ ।

मध्य कालीगण्डकी जलविद्युत आयोजनाको निर्माण सन् २०२४ बाट शुरु भई ४ वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नेपाल विद्युत प्रधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता हुँदा हिउँद यामको विद्युत खरिद दर ८.४० रुपैयाँ र वर्षायामको दर ४.८० रुपैयाँ कायम भएको आधारमा आयोजनाबाट हिउँदमा १३० गिगावाटबाट १ अर्ब ९ करोड रुपैयाँ आम्दानी हुने र वर्षामा २७७ गिगावाट बाट १ अर्व ३३ करोड रुपैयाँ आम्दानी भई वार्षिक कुल ४०७ गिगावाट विद्युत उत्पादन बाट २ अर्व ४२ करोड रुपैयाँ आम्दानी हुनेछ । हालसम्म आयोजना निर्माण तयारीका कामहरु भइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *