आईएफजे बैठकमा प्रेस युनियन- नेपालमा प्रेसमाथि नियन्त्रण गरिँदैछ – Nepal Press

आईएफजे बैठकमा प्रेस युनियन- नेपालमा प्रेसमाथि नियन्त्रण गरिँदैछ

लण्डन । अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) को लण्डनमा जारी वार्षिक बैठकमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रतामाथि आक्रमण प्रयास भइरहेको बताएका छन् ।

आईएफजे बैठकमा बोल्दै युनियनका अध्यक्ष लम्सालले संघ, प्रदेश र स्थानीय सरकारहरुले कानून निर्माण गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्मलाई बेवास्ता गर्ने क्रम बढेको उल्लेख गरे । उनले युनियनको अगुवाईमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र प्रेसमैत्री कानून कार्यान्वयनका लागि अग्रसरता र पहल जारी राखिएको बताए ।

हालै नेपालमा समाचार लेखिएकै पृष्ठभूमिलाई आधार बनाएर कान्तिपूर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई सञ्चारगृहबाट हतियारधारी प्रहरीले गिरफ्तार गरेको सन्दर्भ उल्लेख गर्दै लम्सालले नेपालमा धेरै सञ्चारकर्मीले सरकारी र गैरसरकारी पक्षबाट चुनौती सामना गर्नुपरेको उल्लेख गरे ।

एकातिर श्रमजीवि पत्रकारको पेशागत सुरक्षाको सवाल र अर्कोतर्फ समग्र प्रेस स्वतन्त्रताको सवाल रहेको भन्दै लम्सालले दुवै विषयलाई प्राथमिकता दिनुपर्ने बताए ।

नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्थाबारे अनुगमन गर्न आईएफजेको प्रतिनिधिमण्डललाई निम्तो समेत दिँदै युनियन अध्यक्ष लम्सालले नेपाली पत्रकारिताको व्यवसायिकता र निष्पक्ष विश्वका अन्य धेरै देशभन्दा उत्कृष्ट रहेको दाबीसमेत गरे । आईएफजेको वार्षिक सभामा नेपालको प्रतिनिधित्व नेपाल प्रेस युनियनले गर्दै आएको छ । युनियन आईएफजेको आवद्धता हासिल गर्ने पहिलो नेपाली संस्था हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *