शैलजा आचार्य र प्रदीप गिरीको विवाहमा बीपीको ‘असहमति’ – Nepal Press
किताबी कुरा

शैलजा आचार्य र प्रदीप गिरीको विवाहमा बीपीको ‘असहमति’

काठमाडौं । ग्लोबल टेलिजिनमा २०७९ भदौ ७ गते मंगलबार राति ९ः१० बजे प्रशारण भएको ‘तक्षशिला’ नामको अन्तर्वार्तामा अग्रज पत्रकार किशोर नेपालले शैलजा आचार्य र प्रदीप गिरीको प्रेम भएको खुलाए । निजी जीवनको सवालमा बोल्दा उनले यस्तो खुलासा गरेका थिए ।

नेपालकी प्रथम उपप्रधानमन्त्री तथा तीन महिने कार्यबाहक प्रधानमन्त्री भएकी नेपाली कांग्रेसकी हेभीवेट नेतृ शैलजा आचार्य र नेपाली कांग्रेसको केन्द्रीय कमिटिसम्म पुगेर चिन्तकको परिचय बनाएका प्रदीप गिरीको सवालमा बोल्दै थिए नेपाल । प्रश्नकर्ता प्रकाश गिरीले प्रदीप गिरीको व्यक्तिगत जीवनका केही कुरा खुलाउन आग्रह गर्दा नेपालले भनेका थिए, ‘व्यक्तिगत कुरा गर्दाखेरि चै प्रदीप दाइ, भन्दिऊँ ? शैलजा आचार्यसँग प्रदीप दाइको प्रेम थियो, मोह थियो । त्यो दोहोरो नै थियो । त्यो पछि कसरी वियोगान्त भयो, त्यसको कुरा चैँ कुनै बेला भनौला ।’

प्रश्नकर्ताले वियोगको कथा भन्न जोड गर्दा नेपालले भन्न चाहेनन् । पछि भन्ने भन्दै पन्छिए । यति चै भने, ‘त्यो गर्दा राजनीतिका धेरै कुराहरु गर्नुपर्ने हुन्छ । जुन म अहिले गर्न चाहन्न ।’

प्रश्नकर्ताले फेरि सोधे, ‘त्यो अन्य पात्रहरुसँग पनि जोडिन्छ ?’ त्यसमा नेपालले भने, ‘धेरैसँग जोडिन्छ ।’

२०७९ भदौ ४ मा निधन भएका गिरीको बारेमा गरिएको ५० मिनेट ७ सेकेण्डको कुराकानीमा नेपालले गिरी र आचार्यको प्रेममा खुलेर बोलेका थिए । त्यो बोलेको भिडिओ क्लिप सार्वजनिक भएपछि धेरैले नेपालको आलोचना गरे । नेपालले हावा बोलेको जस्ता आरोप लगाए । तर, अन्तर्वार्ता प्रशारण भएको ठीक एक वर्षपछि शिखा बुक्सले प्रकाशन गरेको ‘जेल डायरी’मा यसबारे खुलासा भएको छ ।

भारतको जवाहरलाल नेहरु सङ्ग्रहालय तथा पुस्तकालयमा भेटिएको बीपीको डायरीका २०२८ पुस १८ देखि २०३५ कात्र्तिक १४ सम्म (सन् १९६२ जनवरी १ देखि १९६८ अक्टोबर २०) को शिखा बुक्सले प्रकाशन गरेको छ ।

यस अगाडि प्रकाशन गरिएको बीपीका तीन जेल डायरीहरु ‘जेल जर्नल’ (१९६१-१९६४), ‘फेरि सुन्दरीजल’ (१९७७) र ‘बीपी कोइरालाको डायरी’ (१९५१-१९५६) भन्दा भिन्न डायरी हो यो । यो ४२१ पृष्ठको डायरी संकलन पुस्तकाकारमा आएको छ । जसको पृष्ठ २८३ र २८४ मा प्रदीप गिरी र शैलजा आचार्यको प्रेम र विवाहको कुरा बीपीले गरेका छन् । २०२४ असोज १ को डायरीमा बीपीले लेखेका छन्, ‘आमाको पत्र आयो, जसमा उहाँले भन्नुभएको थियो- शैलजा प्रदीप गिरीसँग बिहे गर्न चाहन्छिन् । ती दुई प्रेममा छन् । उनीहरु मेरो रिहाइ नहुँदासम्मलाई बिहे रोकिरहेका छन् ।’

त्यसको भोलिपल्ट असोज २ को डायरीमा पनि शैलजाको विवाहको कुरा बीपीले जोडेका छन् । शैलजाका पिता डाक्टर पिनाकीप्रसाद आचार्यले शैलजाको विवाह गिरीसँग गराउन नचाहेको तर सम्झाएपछि चाहेको बीपीले लेखेका छन् । उनले तारिणीको भनाइ साभार गरेर डायरीमा लेखेका छन्, ‘शैलजासँग हुन लागेको विवाहका सम्बन्धमा प्रदीप गिरीको परिवार खुशी छैन । शैलजाकी बाबु पनि खुशी थिएनन् । तर, शैलजाले उनले मुसलमानसँग विवाह गरिदिइन् भने उनी के गर्छन् ? भनेपछि उनले सन्न्यासँगको विवाहलाई मञ्जुरी दिएका रहेछन् ।’

बीपी कोइरालाले प्रदीप गिरीलाई तारिफ गरेका छन् । तर, शैलजासँगको विवाहमा भद्र असहमति राखेका छन् । असोज १ को डायरीमा उनी लेख्छन्, ‘मेरो सोचाइमा प्रदीप गिरी एक असल युवक हुन्, बौद्धिक कोटिको । आफैं पनि बौद्धिक रहेकी शैलजाका लागि उपयुक्त छन् । मेरो भय केमात्रै हो भने यी दुवै बौद्धिक जवान विवाह गर्ने खालका छैनन् कि ! जब विवाहको सामना गर्नुपर्ने हुन्छ, बौद्धिकहरु अक्सर त्यसको सकुशल सामना गर्न सकिरहेका हुँदैनन् ।’

असोज २ को डायरीमा बीपीले प्रदीप गिरी-शैलजाले विवाहविना पनि प्रेम गर्नसक्ने भन्दै विवाहमा जोड दिएका छैनन् । उनले लेखेका छन्, ‘उनले बिहे गर्नुपर्छ र जोखिम उठाउनुपर्छ भनेर म उनलाई चिठी लेख्ने थिएँ । तर, मलाई चिठी लेख्ने अनुमति छैन । विवाह भन्नु प्रेम होइन । हामीले जीवनमा देखेको वा पुस्तकमा पढेको प्रेम, अधिकांश अवस्थामा कि विवाहपूर्वको छ या विवाहेत्तर छ । विवाह केही यो यदि भने प्रेमको औषधि हो । यो कसैले कसैलाई दिएको साथ होइन । किनभने विवाहविना पनि हामी साथ पाउन सक्छौं ।’

शैलजा आचार्यले २०६६ जेठ २९ मा देहत्याग गरिन् । प्रदीप गिरीले त्यसको ठीक १३ वर्षपछि देहत्याग गरे । प्रदीप गिरीले खुलाएको शैलजासँगको प्रेम किशोर नेपालमार्फत् व्यक्त भयो । शैलजा आचार्यले खुलाएको गिरीसँगको प्रेम उनको परिवार तथा बीपीका परिवारबाट सूचना पाएर बीपीका दिनचर्या लेखनबाट व्यक्त भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *