डोटीका ८ पालिकाको वार्षिक इन्धन खर्च ३ करोड २७ लाख – Nepal Press

डोटीका ८ पालिकाको वार्षिक इन्धन खर्च ३ करोड २७ लाख

डोटी। डोटी जिल्लाका आठ स्थानीय तहले एक वर्षमा ईन्धनमा ३ करोड २७ लाख ८९ हजार ५१५ रुपैयाँ खर्च गरेका छन् ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/०८० मा जिल्लाका आठ स्थानीय तहले इन्धनमा सो रकम खर्चिएका हुन् ।

दिपायल सिलगढी नगरपालिकाले अन्य प्रयोजन शिर्षकबाट ६९ हजार ३५० र कार्यालय प्रयोजन शिर्षकबाट १ करोड १३ लाख ५९ हजार नौ गरी जम्मा १ करोड १४ लाख २८ हजार ३५९ रुपैयाँ खर्च गरेको छ । नगरपालिकाले कुन सवारी साधनमा कति ईन्धन खर्च गर्‍यो भन्ने नखुलाएको प्रतिवेदनमा उल्लेख छ ।

नगरपालिकासंग नगर बस ३, जीप २, डोजर १, एम्वुलेन्स १, ट्याक्टर २, दमकल १ र २१ मोटरसाईकल रहेको प्रतिवेदनमा उल्लेख छ ।
शिखर नगरपालिकाले एक बर्षमा जम्मा ६६ लाख ४३ हजार २८१ रुपैयाँ इन्धनमा खर्च गरेको छ । इन्धन पदाधिकारी शीर्षकबाट ६ लाख ६२ हजार ५५७, इन्धन कार्यालय प्रयोजन शीर्षकबाट ४ लाख १८ हजार ५२८ र इन्धन अन्य प्रयोजन शीर्षकबाट ५५ लाख ६२ हजार १९६ खर्च भएको प्रतिवेदनले देखाउँछ ।

प्रतिवेदनमा लकबुकमा भएको ईन्धनको परिमाण भन्दा भुक्तानी दिईएको बिलको परिमाण बढी भएको उल्लेख छ । नगरपालिकाले उक्त ईन्धन एम्वुलेन्स, टिपर, बस, मोटरसाईकल लगायतका सवारी साधनमा प्रयोग गरेको प्रतिवेदन भन्छ ।

आदर्श गाउँपालिकाले ०७९÷०८० मा ३८ लाख २ हजार २८७ रुपैयाँको ईन्धन खपत गरेको छ । ईन्धन पदाधिकारी शिर्षकबाट ८ लाख १३ हजार १६६ र ईन्धन कार्यालय प्रयोजन शिर्षकबाट २९ लाख ८९ हजार १२१ खर्च भएको प्रतिवेदनले देखाउँछ ।

गाउँपालिकाको नाममा डोजर १, जीप १, एम्बुलेन्स १, ट्याक्टर १ र मोटरसाईकलहरु रहेका तर कुन सवारी साधनमा कति खर्च भयो भन्ने नखुलेको प्रतिवेदनमा उल्लेख छ ।

सो अवधिमा जोरायल गाउँपालिकाले ईन्धनमा २४ लाख २६ हजार १८५ रुपैयाँ खर्च गरेको छ । ईन्धन पधाधिकारी शीर्षकबाट ५ हजार १६०, अन्य प्रयोजन शिर्षकबाट १ लाख ९९ हजार २९४ र ईन्धन कार्यालय प्रयोजन शीर्षकबाट २२ लाख २१ हजार ७३१ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । यस पालिकाको नाममा कति सवारी साधन छ भन्ने प्रतिवेदनमा खुलाईएको छैन ।

सायल गाउँपालिकाले २३ लाख रुपैयाँ खर्च गरेको छ । यस पालिकाले एक वर्षमा अन्य प्रयोजन शिर्षकबाट ८ लाख, इन्धन कार्यालय प्रयोजन शिर्षकबाट १५ लाख खर्च गरेको हो । यस पालिकाले पनि कुन सवारी साधनमा कति इन्धन खर्च भयो भन्ने नखुलाएको प्रतिवेदनमा उल्लेख छ । सायलसंग एक्साभेटर १, एम्वुलेन्स १, जीप १, मोटरसाईकल १६ रहेको प्रतिवेदन बताउँछ ।

बडीकेदार गाउँपालिकाले ०७९/०८० मा ईन्धनमा २१ लाख ८९ हजार ८५६ खर्चिएको छ । प्रतिवेदनमा इन्धन पदाधिकारी शीर्षकबाट र इन्धन कार्यालय प्रयोजन शिर्षकबाट सो रकम बरावरको ईन्धन खर्च भएको भनिएपनि कुन शीर्षकमा कति इन्धन खर्च भएको भन्ने खुलाइएको छैन । प्रतिवेदनमा गाउँपालिकाको नाममा कति सवारी साधन छन भन्ने पनि उल्लेख छैन ।

केआई सिंह गाउँपालिकाले एक वर्षमा २० लाख रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । यस पालिकाको नाममा कति सवारी साधन छन् भन्ने प्रतिवेदनमा खुलाईएको छैन । पालिकाले सरकारी सवारी साधनलाई मात्र इन्धन दिनु पर्नेमा सवैलाई दिने गरेको र पदाधिकारीको ईन्धनमा गाउँपालिकाले आफै कुपन काट्ने गरेको प्रतिवेदनले औल्याएको छ ।

बोगटान फुड्सिल गाउँपालिकाले एक वर्षमा १९ लाख ९९ हजार ५४७ रुपैयाँ ईन्धनमा खर्च गरेको छ । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा कुन शिर्षकबाट कति ईन्धन खर्च भयो भन्ने खुलाईएको छैन । साथै गाउँपालिकाको नाममा कति सवारी साधन छन भन्ने पनि खुलाईएको छैन । गाउँपालिकाले सरकारी सवारी साधन प्रयोग गर्नेलाई मात्र ईन्धनको कुपन दिनु पर्नेमा जो सुकैलाई पनि दिने गरेको प्रतिवेदनमा उल्लेख छ ।

पूर्वीचौकी गाउँपालिकाले भने एक वर्षमा इन्धनमा कति रकम खर्च गर्‍यो भन्नेवारे प्रतिवेदन बोलेको छैन । तर, गाउँपालिकाले सरकारी सवारी साधन प्रयोग गर्नेलाई मात्र इन्धनको कुपन दिनु पर्नेमा अन्यलाई पनि दिने गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तै, प्रतिवेदनमा गाउँपालिकाका पदाधिकारीहरुको इन्धनको पालिकाले आफै कुपन काट्ने गरेको समेत उल्लेख छ ।

स्थानीय तहहरुले ईन्धन खपतको मापदण्ड नवनाएको, लकबुक नभर्ने गरेको, ईन्धन खर्च गर्दा प्रयोजन नखुलाउने गरेको प्रतिवेदनले औंल्याएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *