प्रहरीमा ५ वर्षे जागिर छाडेर बाख्रापालनमा लागेका रविन्द्र मल्लको कृषिमोह
‘सरकारी जागिर छाडेर बहुलायो भन्नेहरु अहिले सल्लाह लिन आउँदा खुसी लाग्छ’
रुपन्देही । धेरै युवाहरु पैसो कमाउन विदेशतिर दौडरहेको र यहाँ बस्नेहरु पनि सरकारी जागिरका लागि मरिहत्ते गरिरहेको बेला प्यूठानका एक युवक नेपाल प्रहरीको जागिर ५ वर्षमै छाडेर आफ्नै गाउँमा कृषि पेशामा रमाएका छन् ।
गौमुखी गाउँपालिका वडा नं ५ खुङ्ग प्यूठानका ३० वर्षीय रविन्द्रप्रताप मल्लले निकै कठिन मेहनतबाट नेपाल प्रहरीमा भर्ती भएको ५ वर्षमै राजीखुसीले राजीनामा दिएर जन्मभूमिमै व्यवसायिक कृषि पेशा थालेका हुन् ।
प्लस टु सम्मको अध्ययनपछि २० वर्षको उमेरमा प्रहरी जवानमा भर्ती भएर चितवनबाट सेवा सुरु गरेका मल्लले अरुको मातहतमा बसेर तलब खाएर बस्नुभन्दा आफै योजना बनाएर अरुलाई रोजगार दिन सकिने योजनाका साथ सरकारी जागिर छाडेर व्यवसायिक कृषिलाई अंगालेको बताउँछन् ।
सुरु–सुरुमा गाउँलेहरु र उनका साथीभाइहरुले रविन्द्रलाई बहुलायो भन्दै कानेखुसी गरेको आफैले धेरैपटक सुनेका थिए तर मल्लले व्यवसायिक योजना बनाएर कृषि पेशालाई अगाडि बढाएर वाहीवाही भएपछि भने अहिले सबैको खोजीमा पर्न थालेको बताउँछन् ।
‘गाउँका धेरै युवाहरु पैसा कमाउन विभिन्न देशमा दौडिरहेको र सरकारी जागिर खानका लागि निकै मेहनत गरेपनि सफल हुन नसकेको भएर होला सुरुमा त मलाई सबैले बहुलायो भन्थे’ उनले भने– ‘बिस्तारै गाउँमा मैले गरेको काम देखेर सबैको मन फर्कियो होला, अहिले त सबैले सल्लाह लिन आउने गर्नुहुन्छ ।’
अहिले उनी कृषि पेशामा फर्किएको पनि ५ वर्ष पुगिसकेको छ । रविन्द्र प्रहरी सेवा छाडेर गाउँ फर्केपछि २०७७ सालमा विवाह गरेका हुन् । अहिले श्रीमति एक बच्चासहित गाउँमै उनीहरुले कृषि पेशा चलाएका छन् । बुवाआमाको मृत्यु भइसकेको र दाइ पनि विदेश भएकाले घरमा आफ्नो ३ जनाको मात्रै परिवार रहेको रविन्द्र सुनाउँछन् । घरको समय मिलाएर रविन्द्रलाई श्रीमतिले साथ दिएपनि बाख्रापालन र घाँस खेतीको सबै काम आफैले मिलाएर गर्नेगरेका छन् ।
२०७० साल असोज १५ गते चितवनबाट प्रहरी जवानमा भर्ना भएर सेवा सुरु गरेका रविन्द्रले ५ वर्ष काम गरेपछि राजीनामा दिएर गाउँमै काम गर्ने योजना बनाएको सुनाउँछन् ।
‘निकै मेहनत गरेर प्रहरीमा भर्ना भएको थिएँ, काम पनि राम्रै चलेको थियो, तर आफ्नो गाउँमा जग्गा खेर जाने अवस्था र कृषि क्षेत्रमा लगानी गरेपछि दीर्घकालीन रुपमा आम्दानीको स्रोत बनाउन सकिने लक्ष्य राखेर राजीनामा दिएको हुँ’ मल्लले भने–‘छोडेर कुनै दिन गल्ती गरेँजस्तो लागेको छैन, सुरुसुरुमा त निकै दुःख भयो, केही नजानेको पछि त सबै सिक्दै गएँ, अहिले सबै सजिलो लाग्न थाल्यो ।’
अहिले प्यूठानमा मात्रै होइन प्रदेशका अन्य जिल्लामा पनि उनको फर्म जयमाँ दुर्गाश्री कृषि तथा पशुपंक्षी पालन फर्म धेरैको रोजाइमा परेको छ ।
‘प्रहरीको जागिर छाडेर घरमा आएपछि सुरुमा फर्म दर्ता गरियो । सुरुमा तीन जना साथीहरु मिलेर ६ लाखबाट बाख्रा र लोकल कुखुरा पालनबाट थालेका थियौं तर केही समयमै दुई साथीहरुले छाड्नुभयो अनि म एक्लैले चलाइरहेको छु’ मल्लले भने । अहिले मल्लले आफ्नो मात्रै होइन छिमेकीको जग्गासमेत भाडामा लिएर काम गरिरहेका छन् । जिल्लामै नमुना बाख्रापालनको पहिचान बनाएका उनले अहिले बाख्रापालनसँगै १२ प्रजातिका घाँसका बेर्नासमेत उत्पादन गरेर बेच्न थालेका छन् ।
मल्लले आफ्नो २१ रोपनी र छिमेकीको १७ रोपनी जग्गा भाडामा लिएर बाख्रापालन तथा घाँस खेती गरेका छन् । ‘२०७५ सालमा फर्म दर्ता गरेर काम थालेको हुँ, सुरुको ३ वर्ष त मेहनत नै उठेन तर त्यसपछि बिस्तारै लयमा फर्कियो, अहिले त नियमित आम्दानी दिन थालेको छ’ उनी भन्छन् –‘गाउँमा उत्पादन भएका वस्तुहरु बिक्रीका लागि पनि धेरै समस्या छैन, ५–६ जिल्लामा यहाँका उत्पादनहरु जाने गर्दछन्, धेरैजसो घरमै लिन आउने छन् ।’
प्यूठानबाहेक गुल्मी, रुकुम, दाङ, अर्घाखाँची, रोल्पाका विभिन्न ठाउँमा आफ्ना उत्पादनहरु जाने उनको भनाइ छ । उनको फर्ममा अहिले व्यवस्थित संरचनासहितको बाख्रापालनमा ७० वटा खसीबाख्रा रहेका छन् ।
समयअनुसार बढ्ने र घट्ने गरेको उनको भनाइ छ । बाख्रापालन सुरु गर्दा यो क्षेत्रको प्राविधिक ज्ञानबारे उनलाई केही थाहा थिएन । सुरुमा नियमित रुपमा प्राविधिक नै राखेर काम गरेपनि अहिले उनले सबै सिकिसकेका छन् र आफै गरेका छन् ।
‘सुरुमा त निकै समस्या भयो नि, कहिले कुन बाख्रा बिरामी पर्ने, कहिले के समस्या देखिने, नियमित प्राविधिक राखेर काम गरियो अहिले पढेर होइन परेर आफै प्राविधिक भइयो, धेरैजसो काम म आफैले गरेको छु’ मल्लले भने– ‘काम थाल्ने समयमा यो बारे आधारभूत विषय केही थाहा थिएन, गर्दै गएपछि सबै सिकियो ।’
गाउँमै रमाएका मल्लले ६ लाखबाट सुरु गरेको यो फर्ममा पाँच वर्षमा ४५ लाखको लगानी पुराएका छन् । उनले यो काम सुरु गर्दा जिल्लामै यसरी व्यवसायिक रुपमा बाख्रापालन कसैले गरेको थिएन तर उनले थालेपछि धेरै युवाहरुले नै व्यवसायिक रुपमा सुरुवात गरेका छन् । ‘मैले काम थाल्दा सबैले घरखर्चको लागि मात्रै चलाएका थिए तर अहिले धेरै ठाउँमा युवा साथीहरुले थालेका छन्, कसरी सफल भएको भनेर सिकाउन बोलाउँछन्, केही फर्ममै आएर हेरेर जान्छन्, अहिले व्यवसायिक रुपमै सबैतिर यो काम थालिँदा सबैलाई सहज भएको छ, आफूलाई निकै खुसी लागेको छ’ मल्लले भने ।
प्रहरीमा भर्ना हुने समयमा उनले प्लस टु मात्रै सकाएका थिए । अहिले खाली भएको समयमा उनले ब्याचर तहको अध्ययनलाई पनि निरन्तरता दिएका छन् । प्यूठानकै स्वर्गद्धारी बहुमुखी क्याम्पसमा स्नातक तेस्रो वर्षमा पढ्दै गरेका उनले क्रमशः सर्टिफिकेटको महत्व बुझेकाले पनि पढाईलाई निरन्तरता दिएको बताउँछन् ।
कुनै पनि पेशाव्यवसाय गर्दा अरुको सिको गरेर नभई अध्ययन गरेर मात्रै थाले सफल हुन सकिने उनको बुझाई छ । ‘हामीकहाँ धेरै अरुको देखेर काम थाल्ने अनि सुरुमै नतिजा खोज्ने बानीले समस्या पारेको छ, मैले पनि काम थालेको ३ वर्षसम्म आम्दानी धेरै भएकै थिएन, तर म हतास भएन, निरन्तर काममा खटिरहेर सफल भएको हुँ’ उनले भने ‘कुनै काममा तुरुन्तै नतिजा खोजेर हुँदैन धैर्य गरेर निरन्तर काममा प्रतिवद्ध हुनुपर्छ ।’ उनले यो फर्म संचालन गरेर धेरैलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी दिएका छन् ।
पछिल्लो पटक पालिका र जिल्लामा उनी उत्कृष्ट बाख्रापालक किसानका रुपमा पुरस्कृत भएपछि थप हौसिएका छन् । पहाडी जिल्ला भएपनि उनको पालिकामा अन्यत्रजस्तो धेरै बसाईसराई गरेर जिल्ला छाड्नेहरुको संख्या कम छ त्यही भएकाले पनि जग्गा धेरै पाउन समस्या छ र महंगो पनि परेको छ ।
स्थानीय सरकार र प्रदेश सरकारबाट समेत उनको फर्मलाई केही सहयोग भएको छ तर उनले सबै किसानलाई सहज हुनेगरी सरकारले दीर्घकालीन योजना ल्याउनुपर्ने बताउँछन् ।