अन्जनाको राजीनामाले राप्रपामा ध्रुविकरण, स्वीकृत गरिए अन्य संगठनबाट समेत पार्टी छाड्ने चेतावनी – Nepal Press

अन्जनाको राजीनामाले राप्रपामा ध्रुविकरण, स्वीकृत गरिए अन्य संगठनबाट समेत पार्टी छाड्ने चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष अन्जना शाह रावलको राजीनामाले राप्रपा नेताहरु नै विभाजित भएका छन् ।

संगठनभित्र चरम असहयोग र काम गर्ने अवस्था नभएपछि अन्जनाले महिला संगठनको अध्यक्षसहित राप्रपाको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएकी छन् ।

उनले राजीनामा पत्रमा आफू र आफ्नो परिवार राप्रपाको मतदाता समेत नरहने घोषणा गर्नुले उनको अवस्था झल्काएको छ । यद्यपी अन्जनाको राजीनामा स्वीकृत भएको छैन । अध्यक्ष राजेन्द्र लिङ्देनले महामन्त्री राजेन्द्र गुरुङमार्फत अन्जनालाई राजीनामा फिर्ता लिन सन्देश पठाएका छन् ।

अन्जनाले भने राजीनामा फिर्ता नलिने भन्दै मोबाइल अफ गरेर बसेकी छन् । उनको राजीनामाको कारण र संगठनभित्रको समस्या समाधान मुख्य कुरा रहेको भन्दै पार्टीका नेताहरु राजीनामा फिर्ता गराउनुपर्ने पक्षमा उभिएका छन् ।

पशुपति शमसेर जबरा,डा.प्रकाशचन्द्र लोहनी,बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र,विक्रम पाण्डे,महामन्त्री धवल शमसेर जबरा,कुन्ति शाहीलगायतका नेताहरु अन्जनाको राजीनामा फिर्ता गराएर महिला संगठनभित्रको असहयोगको वातावरण पार्टीले हस्तक्षेप गर्नुपर्ने पक्षमा देखिएका छन् ।

नेताहरुकै कारण शुक्रवार झापाबाट आएर राजीनामा स्वीकृत गर्ने तयारीमा रहेका अध्यक्ष लिङ्देन दबाबमा परेका छन् । उनले आफ्नो राजीनामापत्रमा पार्टी नेता वा कसैमाथि दोषारोपण गरेकी छैनन् । तर संगठनभित्र उनले मनोनित गरेकै पदाधिकारीले केही नेताको आडमा काम गर्न नदिएपछि राजीनामा दिएको चर्चा छ ।

महिला संगठनका नेताहरुले वक्तव्य निकाल्दै अन्जनाको राजीनामा स्वीकृत भएमा ९० प्रतिशत निर्वाचित कार्य समितिले सामुहिक राजीनामा दिने भनेका छन् । त्यस्तै राप्रपाभित्र बलियो भातृ संगठन मानिने भुपु सैनिक संगठनका अध्यक्ष प्रकाश सिंह कार्कीले वक्तव्य निकाल्दै अन्जनाको राजीनामा स्वीकृत भएमा सैनिक संगठनका सबै पदाधिकारी र सदस्यहरुले पार्टी छाड्ने चेतावनी दिएका छन् ।

राप्रपाको महिला संगठनका ५२ जिल्ला अधिवेशन भएकामा ४० जिल्ला अध्यक्षले अन्जनाको राजीनामा फिर्ता गराउनुपर्ने माग नेतृत्वसमक्ष राखेका छन् । नत्र उनीहरुले पनि राजीनामा दिने र पार्टी छाड्ने भनेपछि राप्रपा नेतृत्व अप्ठेरोमा परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर