माओवादीको विशेष महाधिवेशन अनिश्चित, कसरी हुँदैछ नयाँ विधान कार्यान्वयन ? – Nepal Press

माओवादीको विशेष महाधिवेशन अनिश्चित, कसरी हुँदैछ नयाँ विधान कार्यान्वयन ?

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको विशेष महाधिवेशन अनिश्चित बनेको छ। ०७८ पुसमा भएको आठौँ महाधिवेशनको ६ महिनाभित्र गर्ने भनिएको विशेष महाधिवेशन अझै अनिश्चित बनेको हो।

महाधिवेशने भएको दुई बर्ष कटिसक्दा समेत माओवादीभित्र बिशेष महाधिवेशनको चर्चा छैन। महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैंले पार्टीको विशेष महाधिवेशन गर्ने घोषणा गरेका थिए।

महाधिवेशनबाट मात्रै होइन, गत फागुनमा भएको विधान अधिवेशनमा पनि नेताहरुले विधान चाँडै विशेष महाधिवेशन गर्नुपर्ने दबाब दिएको थियो।  तर, अहिलेसम्म कुनै प्रक्रिया अघि बढ्न सकेको छैन।

माओवादीका महासचिव देव गुरुङ गत महाधिवेशनमा समय सयममा विशेष महाधिवेशन पनि गरिराख्नुपर्छ भनेर सैद्धान्तिक र नीतिगत रुपले चर्चा भएको बताउँछन्।

उनी भन्छन्, ‘पाँच/पाँच वर्षभित्र महाधिवेशन गर्दा बीचमा आवश्यकअनुसार गर्ने भनिएको हो, मिति तय भएको थिएन। सैद्धान्तिक रुपले उठेको कुरा हो। मिति तय गर्ने अधिकार केन्द्रीय समितिलाई छ। केन्द्रीय समितिको बैठकबाट अहिलेसम्म यसबारे निर्णय गरेको छैन।’
उनले अहिले यो विषय पार्टीभित्र ठोस छलफलमा नभएकाले तत्काल हुने सम्भावना नरहेको बताए।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अहिले सरकारमा छन्। पार्टीका टप लिडर सत्ता केन्द्रित हुँदा अहिले पार्टीका गतिविधि खासै अगाडि बढ्न सकेको छैन। प्रचण्डले कार्यव्यस्ता देखाउँदै पार्टीको बैठक समेत राखेका छैनन्।

गत महाधिवेशनमा नेताहरुले नेतृत्वमा प्रचण्डको विकल्प खोज्नुपर्ने बताएका थिए। तर, प्रचण्ड तत्कालै पार्टीको नेतृत्व छाड्ने मूडमा छैनन्। त्यसैले पनि आफैंले घोषणा गरिएको विशेष महाधिवेशन अनिश्चित बनेको नेताहरु स्वीकार्छन्। विषेश महाधिवेशन नहुँदा गत फागुनमा पार्टीले तय गरेको नयाँ विधान कार्यान्वयनमा समेत अन्योल देखिएको छ।

प्रचण्डले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, नेपसाका महेन्द्रराय यादवलगायत माओवादी घटकहरुसँगको एकतापछि मात्रै विशेष महाधिवेशन गर्ने प्रयास गरेपनि अहिले त्यो प्रक्रिया अघि बढेको छैन। महासचिव गुरुङ माओवादी घटक मात्रै नभइ समाजवादी मोर्चामा आबद्ध भएका सबै दलहरुसँग एकताको बिषयमा छलफल भइरहेको बताउँछन्।

त्यसो त अहिले प्रचण्डले एमालेसँग सहकार्य थालिसकेपछि पार्टी नयाँ कोर्समा जानसक्ने भएकाले अहिले नै बिशेष महाधिवेशन गर्न हतारो नगरेको उनी निकट नेताहरु बताउँछन्।

याे पनि

माओवादीमा मिसन ८४ बहस- गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णय गर्न दबाब

तर, माओवादी सचिव दिनानाथ शर्मा विशेष महाधिवेशनको तयारी भइरहेको दाबी गर्छन्।

उनले भने, यो वर्षभित्र गर्नेगरी तयारी भइरहेको छ। तलबाट सदस्यता नविकरण गर्नेको काम भइरहेका छन्। वडा सम्मेलन करिब देशभरी नै भइसकेका छन्। वडापछि पालिका सम्मेलन हुन्छन्। सहमति हुने ठाउँमा सहमतिबाटै नभए लोकतान्त्रिक विधिबाट प्रतिनिधि छनोट भएका छन्। पालिकापछि प्रदेश सम्मेलन हुन्छ। त्यसले राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोट गर्छ, त्यो प्रक्रियामा जाँदा समय लाग्छ नै।

नयाँ विधानअनुसार वडा, पालिका, जिल्ला, प्रदेश समिति बन्ने भएकाले अहिलेजस्तो भद्दा नहुने बताए।

उनले थपे, ‘संगठन अहिले संक्रमणकालमा छन्। तल जति सम्मेलन हुन्छन् त्यो नयाँ विधानअनुसार नै हुन्छन्। अहिले नयाँ विधान लागू गर्ने भनेर माथिदेखि संगठन भत्काउँदा त केही रहँदैन। तलबाट विधान अनुसार लागू भइसकेको छ। विधान अनुुसार नै वडा, पालिका, जिल्ला, प्रदेश समिति बन्छन्। अहिलेको ठूला र भद्दा हुँदैनन्। अब जे कामकारवाही हुन्छ यही विधानको परिधिभित्र रहेर हुन्छ।’
अहिलेको केन्द्रीय समिति नै आयोजक समिति बनेर तल सम्मेलनहरु गराउनुपर्ने, प्रतिनिधि छनोट गराउँदै महाधिवेशनमा पुगेपछि मात्रै पुर्णता पाउने बताए।

उनले पार्टीमा अहिले प्रचण्डको विकल्पकोबारेमा कुनै छलफल नभएको बताए।

सचिव शर्माले भने, ‘नेतृत्वबारे अहिले कुनै छलफल भएको छैन। पार्टी त्यहाँसम्म पुगेको छैन। कसैले चाहेर मात्रै हुँदैन। नेतृत्व फेर्छु भन्नेहरुले तयार भएर पनि आउनुपर्यो। देशलाई नेतृत्व दिनसक्नुपर्छ। सबै राजनीतिक दललाई समायोजन गरेर जानसक्नुपर्छ। अब महाधिवेशनसम्म पुग्दा नेतृत्व फेर्ने रहने त्यसैले निर्धारण गर्छ। तलबाट नै विधान लागू हुँदैछ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर