भाषणमा होइन, विकासको राजनीतिमा विश्वास गर्छु: विनोद चौधरी
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले राजनीति भाषणका लागि नभई विकासका लागि हुनुपर्नेमा जोड दिएका छन् ।
कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य चौधरीले विकासका लागि राजनीति रोजेको प्रस्ट पारे ।
शनिबार नवलपरासीमा स्वर्गीय पृथ्वीराज कँडेल बसपार्कको उद्घाटन एवम् सालिक अनावरण कार्यक्रममा उनले भने, ‘म निर्वाचित भइसकेपछि निरन्तर यो क्षेत्रको विकासका लागि प्रतिबद्ध भएर लागेको छु । यहाँको विकासबाहेक मेरो अरु कुनै स्वार्थ छैन ।’
उनले डेढ वर्षको बीचमा आफूले गरेका महत्वपूर्ण कामका बारेमा जानकारीसमेत गराएका थिए । वर्षायाममा बर्सेनि डुबानको समस्या भोग्दै आएको नवलपरासीमा गण्डक परियोजनाअन्तर्गत डुबानको समस्या अन्त्य गर्ने गरी काम भइरहेको उनले बताए ।
‘यो परियोजनाको काम सुरु भइसकेको छ । यो क्षेत्रमा डुबानका कारण वर्षौंदेखि हजारौं विघामा लगाइएको बाली नष्ट हुने गरेको छ । हजारौं किसान घरबारविहीन हुने गरेका छन् । यो विडम्बनाको अब अन्त्य हुनेछ भन्ने हाम्रो विश्वास छ’, सांसद चौधरीले भने, ‘यसको डीपीआरमात्रै तयार भएको छैन । यसको कार्यान्वयन सुरु भइसकेको छ । हाम्रो निरन्तरको पहलमा सरकारले बजेटमा समेत राखेको छ ।’
उनले गण्डक परियोजनाले अब सार्थकता पाउने विश्वास गरे । दुबै देशबाट डुबान र कटान नियन्त्रणका लागि काम भइरहेको उल्लेख गर्दै सांसद चौधरीले सिंचाइको समस्या पनि समाधान हुने बताए ।
कांग्रेस सभापति शेरबहादुर देउवासमेत सहभागी रहेको कार्यक्रममा सांसद चौधरीले अबको राजनीति विकास र समृद्धिका लागि हुनुपर्ने बताए ।
बर्सेनि हुने गरेको मलको अभाव हटाउन आफूले सुरुदेखि नै सरकारसँग संवाद गरिरहेको बताउँदै सांसद चौधरीले निर्वाचन क्षेत्रमा स्वास्थ्य, शिक्षा, रोजगारीको सुनिश्चितताका लागि काम भइरहेको जनाए ।
उनले साना तथा मझौला उद्योगको स्थापना, ट्रमा सेन्टर निर्माण, चिसापानी अस्पतालको स्तरोन्नति, युवालाई प्राविधिक शिक्षालगायतका दर्जनौं कार्य भइरहेको बताए ।
स्वर्गीय पृथ्वीराज कँडेल नेपाली कांग्रेसका तर्फबाट २०१५ सालको आमनिर्वाचनमा निर्वाचित जनप्रतिनिधि थिए । उनले ६५ वर्षअघि नवलपरासीको महेशपुरमा बसपार्क निर्माण गर्ने परिकल्पना गरेका थिए । त्यसका लागि जग्गाको व्यवस्थापन पनि गरेका थिए । उनका छोरा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहराज्यमन्त्री देवेन्द्र कँडेलको पहलमा बसपार्क निर्माण सम्भव भएको हो ।
नवलपरासी जिल्लाकै पहिलो जननिर्वाचित जनप्रतिनिधि स्वर्गीय पृथ्वीराज कँडेलको सम्मानका लागि उनको नाममा बसपार्क निर्माण गरिनुका साथै बसपार्क परिसरमा अर्धकदको सालिकको अनावरण गरिएको छ ।