बाले आफूलाई टेर्नेमात्र सरकारमा पठाएका छन्, प्रधानमन्त्रीलाई मन्त्रीहरूले धम्काउँछन्: गगन थापा (भिडिओ) – Nepal Press

बाले आफूलाई टेर्नेमात्र सरकारमा पठाएका छन्, प्रधानमन्त्रीलाई मन्त्रीहरूले धम्काउँछन्: गगन थापा (भिडिओ)

भौतिकमन्त्रीले राति अर्थ मन्त्रालयमा ग्याङ लिएर गएर २५ अर्ब आफ्नो क्षेत्रमा हालेको दाबी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सरकारकै मन्त्रीहरुले नटेरेको दाबी गरेका छन् ।

कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाडौं ६ (क)को दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले जनताले विश्वास गुमाएको बेलामा सरकारले सम्हान नसकेको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीको हालत चोक्टा खान गएको बढी झोलमा डुबेर मरी भनेको जस्तो छ । कांग्रेसले हेप्यो भनेर गएको हालत अहिले एउटा मन्त्रीले प्रधानमन्त्रीलाई टेर्दैन । प्रधानमन्त्रीले संसदमा बोल्दा मन्त्री आउँदैन । उपप्रधानमन्त्री आउँदैन । मन्त्रीले खल्तीबाट राजीनामा दिउँ भनेर थर्काउँछ । प्रधानमन्त्रीको यस्तो हालत भएको छ । लुते प्रधानमन्त्रीले कसरी सम्हाल्छ ? मन्त्री र मुख्यमन्त्रीले टेर्दैनन् ।’

उनले भौतिक पूर्वाधारमन्त्रीले अर्थ मन्त्रालयमा राति ग्याङ लिएर गएर आफ्नो क्षेत्रमा पैसा हालेको दाबी गरे ।

महामन्त्री थापाले भने, ‘बाले त्यस्तै मन्त्री पठाउनुभएको छ । बालाई मात्रै टेर्ने, प्रधानमन्त्रीलाई गन्दै नगन्ने, भौतिकमन्त्रीले अर्थ मन्त्रालयमा ग्याङ लिएर गएको छ । राति गएर २५ अर्ब आफ्नो क्षेत्रमा हाल्नुभएको छ । मैले कहिले पनि देखेको थिएन त्यस्तो । एमालेले यो सरकारको जिम्मा लिँदैन । घन्टीले पनि लिँदैन । यो बेलामा प्रधानमन्त्रीले जिम्मा लिनुपर्ने हो तर, अहिले आफैं गनगन गरेको छ, रोएको छ । यो सरकार उनीहरु नै मिलेर चलाउँछन् ।’

उनले कांग्रेस अहिले कोहीसँग टाँसिएर सरकार बनाउने खेलमा नलाग्ने प्रस्ट पारे ।


प्रतिक्रिया

3 thoughts on “बाले आफूलाई टेर्नेमात्र सरकारमा पठाएका छन्, प्रधानमन्त्रीलाई मन्त्रीहरूले धम्काउँछन्: गगन थापा (भिडिओ)

  1. हेर यसलाई डाहा भएको । दाइ भाउजूको बफादार अरूको कुरा गर्छ । हिम्मत छ र साच्चिकै सुधार चाहेको हो भने काँग्रेसका ९८% भ्रष्टहरूको विरोध गर । काँग्रेस फटाहाहरूको क्लब भए पनि म चाहि पानी माथिको ओभानो भन्न खोजेको होला । कसैले पत्याउनेवाला छैन ।

  2. महासचिव ज्यू ! आफ्नो पार्टीमा यहांको हालत दयनीय त छैन नी ? स्वमूल्यान्कन ??!

  3. गगन थापाले भुलेछन नुवाकोट डडेल्धुरा र गोरखामा ८० % बजेट १ बर्ष अगाडिको हालेको अहिले कार्यान्वयन भइरहेको छ आफ्नो आङमा भैंसी नदेख्ने अरूको आङ्मा जुम्रा देख्ने प्रवृत्ति अनि खोक्ने त्यतिबेला के बोलेका थियौ बोलेउ त्यसबेला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर