आरक्षण र समानुपातिक प्रणाली महिला समानताका लागि बाधक: अध्यक्ष हमाल – Nepal Press

आरक्षण र समानुपातिक प्रणाली महिला समानताका लागि बाधक: अध्यक्ष हमाल

रुपन्देही । नेकपा एमाले समर्थित अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष टुकाभद्र हमालले आरक्षण र समानुपातिक प्रणाली महिला समानताका लागि बाधक बनेको बताएकी छन् । उनले महिलाहरुको अबको आन्दोलन समानताको लागि हुनुपर्ने पनि बताइन् ।

अनेमसंघ रुपन्देहीको दशौं जिल्ला सम्मेलनको शनिबार बुटवलमा उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष हमालले हरेक क्षेत्रमा महिलाहरुको सहभागिता ३३ प्रतिशत पुर्‍याउनुपर्ने भनेर संविधानमा लेखिएको भए पनि अबको लडाइँ भने समानताका लागि हुनुपर्ने बताइन् ।

नेकपा एमाले पोलिटव्युरो सदस्य समेत रहेकी हमालले राणा शासनदेखि पञ्चायत फाल्न र बहुदलदेखि गणतन्त्र स्थापना गर्दासम्म महिलाहरुको लडाइँ ३३ प्रतिशतका लागि मात्र नभई समानताका लागि भएको उल्लेख गरिन् ।

उनले हरेक आन्दोलनमा अग्रमोर्चामा रहने महिलाहरु प्रतिफल पाउने बेलामा भने सबैभन्दा पछाडि रहने गरेको बताइन् ।

कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य लीला गिरीले नेपालको राजनीति स्थिर नबन्दा अस्थिरताबाट फाइदा लिनेहरु रमाइरहेको बताए ।

लुम्बिनीका पूर्वमुख्यमन्त्रीसमेत रहेका गिरीले आफू स्वरोजगार बन्ने र अरुलाई पनि रोजगारी दिएर आर्थिक उपार्जनको काममा लाग्न पार्टी कार्यकर्तालाई आग्रह गरे ।

अर्का पोलिटव्युरो सदस्य दधिराम न्यौपाने र लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले आरक्षण र समानुपातिक प्रणालीतर्फ केन्द्रित नभई क्षमता वृद्धि गरी प्रतिस्पर्धातर्फ लाग्न आग्रह गरे ।

अनेमसंघ रुपन्देहीकी अध्यक्ष मधुकला कुँवरले महिला अधिकार र समानताका लागि अनेमसंघले अग्रणी भूमिका निर्वाह गरेको बताइन् ।

सम्मेलनको अवसरमा उत्कृष्ट कार्य गर्ने बुटवल उपमहानगर कमिटी, सैनामैना नगर कमिटी र गैंडहवा गाउँपालिका शाखा कमिटी तथा निवर्तमान अध्यक्ष ममता पौडेललाई सम्मान गरिएको थियो । सम्मेलनले आगामी कार्यकालको लागि नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *