विदेश जाँदै हुनुहुन्छ ? ह्याण्ड क्यारी र लगेजमा यी सामान नलैजानुस्, एयरपोर्टमै हुनसक्छ जफत – Nepal Press

विदेश जाँदै हुनुहुन्छ ? ह्याण्ड क्यारी र लगेजमा यी सामान नलैजानुस्, एयरपोर्टमै हुनसक्छ जफत

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रत्येक दिन हजारौंले विदेश यात्रा गर्छन् । भिजिट, विद्यार्थी, बिजेनश, टुरिस्टलगायत विभिन्न भिसामा त्रिभुवन विमानस्थलबाट यात्रु विदेशिइरहन्छन् ।

त्रिभुवन अनतर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेमा अधिकांश नेपाली नै छन् । त्यसमा पनि पढ्न र कामको सिलसिलामा विदेशिने नेपाली बढी छन् । अध्यागमन विभागका अनुसार दैनिक २ हजारभन्दा बढी यात्रु बाहिरिन्छन् । त्रिभुवन विमानस्थलबाट बाहिरिँदै गर्दा यात्रु आक्रोश पोखिरहेका हुन्छन्, विमानस्थलले दुःख दिने गरेको गुनासो गर्छन् ।

विदेश जाने क्रममा एयरपोर्टमा सामान हराउने, निकालिदिने गरेको गुनासो त सामान्य हुन थालिसकेको छ । तर, यसमा विमानस्थल र त्यसका कर्मचारीलाई मात्र दोष दिन मिल्दैन । यात्रु आफैंले हवाई यात्रा गर्दा के कस्ता सामान लिएर जाने भन्ने जानकारी राख्नुपर्छ । जुन जानकारीको अभावमा यात्रु स्वयं विभिन्न झमेलामा पर्छन् अनि कर्मचारीले दुःख दिएको आरोप लगाउँछन् ।

यात्रा गर्दा के सामान लैजान पाउने हो भनेर जानकारी नहुँदा प्रतिवन्धित सामान विमानस्थलमा जफत गरिन्छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को मापदण्ड एनएक्स १७ मा विमानमा यात्रा गर्दा के के लैजाने, केके लैजान प्रतिवन्ध छ भनेर उल्लेख छ । सोहीअनुसार सामान लैजान पाइने नपाइने व्यवस्था हुने अध्यागमन विभागका निर्देशक प्रेमप्रसाद दाहालले नेपालप्रेसलाई बताए । त्यसमा पनि विमान कम्पनी र देशअनुसार सामान लैजान पाउने र नपाउनेमा भरपर्ने उनको भनाइ छ ।

सामान्यतया विदेश जाँदा ह्याण्ड क्यारी र लगेजमा सामान लैजान पाइन्छ । ह्याण्ड क्यारी यात्राभर आफूसँगै हुन्छ भने लगेज यात्राको अन्तिम विन्दुमा पाइन्छ । लगेज तल्लो चेकिङ काउन्टरबाट जान्छ भने ह्याण्ड क्यारी माथिल्लो चेकिङ काउण्टरबाट जान्छ । पढ्न, घुम्न र काम गर्न जाने नेपालीहरुले आफूलाई चाहिने सामान साथमा लैजान्छन् ।

तर, ती सामान कुन ब्यागेजमा राख्ने जानकारी नभएर विमानस्थलमा सामान निकालिनुपर्ने बाध्यता आइपर्ने गरेको छ । त्यतिमात्र होइन आईकाओको मापदण्डअनुसार लैजान नमिल्ने सामानहरु लिएर जाँदा नेपालमा मात्र नभई विदेशमा ठूलो मात्रमा जरिवाना तिर्नुपरेको घटना धेरै छ ।

कतिपय घटनामा त जानकारी अभावले विमानस्थलबाट लैजान निषेध गरिएका सामान पनि यात्रुले बोकेर लाँदा विमानस्थल प्रहरीको नियन्त्रणमा रहनुपर्ने हुन्छ । त्यस्तै विभिन्न देशको नियमअनुसार पनि सामान लैजान पाइने वा नपाइने हुनसक्छ । त्यसबारे यात्रु आफैं सचेत हुनुपर्ने हुन्छ । अस्ट्रेलियालगायतका देशमा बीउबिजन, फलफूल लैजान निषेध छ । यहाँबाट लैजान दिने रहेछ भनेर लैजान हुँदैन । सामान लैजान पाउने नपाउने पनि विभिन्न देशअनुसार फरक फरक नियम हुन्छ ।

नत्र जरिवानामा पर्नुका साथै सम्बन्धित देश पुगेर डिपोर्टसमेत हुनसक्ने सम्भावना हुन्छ । हुन त विमानस्थलमा कुन कुन सामान कहाँ लैजान पाइन्छ भनेर उल्लेख छ । तर, सबै सामानको बारेमा उल्लेख गरिएको छैन । सामान हाल्नुअघि लगेजमा लैजान मिल्ने र ह्याण्ड क्यारीमा लैजान मिल्ने छुट्याउनुपर्छ ।

त्यसकारण हामीले विदेशमा सुटकेशमा सामान लैजाँदा कसरी लैजाने, कुन कुन सामान कहाँ राखेर लैजाने भनेर जानकारी दिँदैछौं ।

विदेश जाने व्यक्तिहरुले दुई किसिमको लगेज लैजान पाइन्छ । एउटा होल्ड ब्यागेज, जसलाई लजेग (चेक इन) ब्यागेज पनि भनिन्छ । अर्को क्याबिन ब्यागेज अर्थात ह्याण्ड ब्यागेज हुन्छ ।

ह्याण्ड ब्यागेजमा १०० एमएलभन्दा बढीको लिक्विड, क्रिमहरु लैजान पाइँदैन । १०० एमएलभन्दा कम लिक्विड भने ह्याण्ड ब्यागेजमा लैजान सकिन्छ । टेप, चक्कु, कैची, धारिलो चिजवस्तु ह्याण्ड क्यारी ब्यागमा हाल्नुहुँदैन । त्यसलाई लगेजमा भने लैजान पाइन्छ । खुकुरी लैजान परे लगेजमा राख्न सकिन्छ । लगेजमा ५ लिटरभन्दा बढी लिक्विड लैजान पाइँदैन । माछामासु लैजान परे क्वारिनटिनबाट पत्र बनाउनुपर्ने हुन्छ । पफ्र्युम, स्प्रेहरु आगो टिप्ने जोखिम भएकाले ह्याण्ड क्यारीमा लैजान मिल्दैन । तर, यी सामान लगेजमा लैजान सकिन्छ ।

विदेश जाँदा नेपालीहरुले प्रायः घ्यू लैजान छुटाउँदैनन् । तर, एयरपोर्टमा घ्यू लैजान पाइँदैन भनेर निकालिदिने गरेको गुनासो धेरै सुनिन्छ । के घ्यू लैजानै नपाइने हो त ?

होइन घ्यू लैजान पाइन्छ । तर, घ्यू ह्याण्ड क्यारीमा भने लैजान पाइँदैन । लगेजमा भने राम्रोसँग प्याक गरेर लैजान पाइन्छ । त्यस्तै नेपालीले विदेश लैजाँदा नछुटाउने अर्को सामान हो । अचार । विदेश जाने धेरैजसोले अचार लिएर जान्छन् । तर, ह्याण्डमा राखेर लैजाँदा चेकिङको क्रममा निकालिने गरिन्छ । अचारलाई पनि लगेजमा हालेर लैजाँदा निकालिँदैन । मूर्ति लैजान परे यो मूर्ति पुरानो होइन, मान्छेले बनाएको हो भनेर पुरातत्व विभागबाट प्रमाणित गरेको पत्र चाहिन्छ ।

प्रेसरकुकर लैजाँदा बिर्को खोलेर लगेजमा हाल्नुपर्छ । डाडुपन्यु, सिलौटा, थाल, कराई लगेजमा हाल्नुपर्छ ।

ह्याण्ड क्यारीमा के के लैजान पाइन्छ ?

लत्ताकपडा, पावर बैंक, बहुमूल्य वस्तु, सुनचाँदी, गरगहना, पैसा, १०० एमएलभन्दा कमको लिक्विड लैजानुपर्ने हुन्छ । लत्ताकपडाबाहेक यी सामान भने लगेजमा लैजान पाइँदैन ।

लगेजमा के के लैजान पाइन्छ ?

कतिपयले विमानस्थलमा गुन्द्रुक पनि जफत गरिदिएको गुनासो सुनिन्छ । तर, गुन्द्रुक लगेजमा लैजान पाइन्छ । १०० एमएल बढीको सामान लैजान सकिन्छ । त्यसबाहेक खानेकुरा, क्रिम, पर्फ्युमलगायतका सामानहरु लैजान सकिन्छ ।

के के सामानमा प्रतिवन्ध छ ?

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को मापदण्ड एनएक्स १७ मा विमानमा यात्रा गर्दा के के लैजाने के के लैजान प्रतिवन्ध छ भनेर उल्लेख गरेको छ । आईकाओको मापदण्डअनुसार गाजा चरेस, बम, बारुद लैजान पाइँदैन ।

त्यस्तै सुख्खा नरिवल, लाइटर ह्याण्ड र लगेज दुबैमा पनि लैजान पाइँदैन । तर जट्टा पानीवाला नरिवल लगेजमा लैजान पाइन्छ । सुख्खा नरिवलले आगो टिप्ने खतरा भएकाले लैजान पाइँदैन । विमानस्थलबाट सबैभन्दा बढी प्रतिवन्धित वस्तु लाइटर बोकेको भेटिने गरेको छ ।

अहिलेसम्ममा सबैभन्दा बढी नै लाइटर निकालिएको छ । त्यसपछि कैँची निकाल्ने गरेको छ । ई-सिगरेट भारतबाट फ्लाइट हुनेले लैजान पाइँदैन । भारतमा ई-सिगरेट प्रतिवन्ध छ । एयर इन्डिया, इन्डिगो, भिस्काराको फ्लाइटबाट जाने यात्रुको भेप सिज गरिन्छ । अन्य देशमा ह्याण्ड क्यारीमा हालेर लैजान सकिन्छ ।

के ड्रोन लैजान पाइँदैन ?

विमानस्थलबाट ड्रोन निकालिदिएको धेरै गुनासो आउने गरेको छ । के ड्रोन लैजान नपाइने हो त ?

होइन ड्रोन लैजान पाइन्छ । तर, पार्ट छुट्याएर लैजान पाइन्छ । ड्रोनको ब्याट्री निकालेर ह्याण्ड क्यारीमा र बाँकी पार्टपुर्जा लगेजमा हालेर लैजान सकिन्छ ।

ह्याण्ड क्यारीमा लैजान नपाइने सामान

  • हातहतियार तथा विस्फोटक पदार्थहरु : कैँची, चक्कु, खुकुरी, पिस्तोल, गोली तथा गोलीको खोका, बन्दुक (नक्कली वा खेलौना), गोलाबारुद, बम, ब्याट्री, सलाई लाइटर, हक्की स्टिक, क्रिकेट ब्याट, सिरिन्ज तथा धारिलो वस्तु तथा औजारहरु आदि ।
  • तेलजन्य पदार्थहरु : घ्यु, खाने तेल, मह
  • सूर्तीजन्य पदार्थहरु : सबै प्रकारका खैनी, सूर्ती
  • मासुजन्य पदार्थहरु :  मासु, सुकुटी, मासुबाट बनेका अचार आदि ।
  • फलफूल, तरकारी तथा यसका बीउबिजन, खुर्सानी तथा यसका अचार
  • कम्प्रेस्ड ग्यास, एसीड, पारो
  • विकिरणधर्मी वस्तुहरु
  • विष तथा कीटनाशक पदार्थहरु
  • रासायनिक तथा जैविक पदार्थहरु

लगेजमा लैजान नपाइने सामानहरु

  • हातहतियार तथा विस्फोटक पदार्थहरु : पिस्तोल, गोली तथा गोलीको खोका, बन्दुक, गोला बारुद, बम आदि ।
  • तेलजन्य पदार्थ : घ्यु, खाने तेल, मह, (व्यक्तिगत प्रयोजनका लागि गन्तव्य मुलुकको नियमानुसार )
  • सूर्तीजन्य पदार्थहरु : सबै प्रकारका खैनी, सुर्ती (व्यक्तिगत प्रयोजनका लागि गन्तव्य मुलुकको नियमानुसार)
  • मासुजन्य पदार्थहरु : मासु, सुकुटी मासुबाट बनेका अचार आदि (व्यक्तिगत प्रयोजनका लागि गन्तव्य मुलुकको नियमानुसार)
  • विकिरणधर्मी वस्तुहरु
  • विष तथा कीटनाशक पदार्थहरु
  • रासायनिक तथा जैविक पदार्थहरु
  • कम्प्रेस्ड ग्यास, एसिड, पारो

कुन सामान लगे यात्रु पक्राउसमेत पर्छन् ?

आईकाओको मापदण्डले प्रतिवन्ध लगाएको सामान लैजाँदै गरेको अवस्थामा फेला पारे यात्रु तत्काल पक्राउ पर्नसक्छन् । यी सामान लिएर जानुभयो भने तत्काल पक्राउ पर्न सक्नुहुनेछ ।

सबै प्रकारका बन्दुक, राइफल, पेस्तोल र यस्तै प्रकारका सामानहरु सक्कली जस्तो देखिने सबै प्रकारका नक्कली बन्दुक, राइफल, पेस्तोल र यस्तै प्रकारका अन्य सामानहरु ।

सबै प्रकारका गोलीगट्ठाहरु, सबै प्रकारका विस्फोटक पदार्थहरु, हानिकारक रासायनिक वस्तु छोलोरी लैजान खोजेमा यात्रु पक्राउ पर्न सक्छन् ।

जफत हुने सामानहरु

यात्रुले जान अञ्जानमा केही सामानहरु लगेको पाइएमा जफत हुन्छ:

  • ग्यास लाइटर र व्याट्रीहरु
  • कर्कस्क्रयुहरु
  • दाह्री काट्ने ब्लेड छुरा
  • स्वीटर बुन्ने काटी, धागो
  • खुर्सानीको धूलो
  • ठूलो एवं भारी चिज वस्तुहरु
  • ड्रिलिङ मेसिन तथा सबै प्रकारका आरा तथा करौती, पेचकसहरु
  • धनुष तथा धनुषको वाण
  • सबै प्रकारका फलामे छड
  • मार्शल आर्टसका सामानहरु
  • खेलकुदका विभिन्न सामाग्रीहरु
  • घरेलु प्रयोगमा आउने काट्ने, घोच्ने धातुका वस्तुहरु
  • सबै प्रकारका कैँची
  • प्रज्वलनशील पदार्थहरु

सबै आकारप्रकारका खुकुरी, छुरी, चुप्पी, खुँडा, तरबार, चक्कु, भाला वा अन्य यस्तै प्रकारका काट्ने वा घोच्ने वस्तुहरु जफत हुनसक्छ । जफत भएका सामानहरु भन्सार विभागले लिलामीमा राख्ने गरेको छ ।

(विमानस्थलको एक्सरेमा खटिएका सुरक्षा अधिकारीहरुसँगको कुराकानीको आधारमा)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *