सरस्वती प्रतीक्षाको ‘स्व’: बौद्ध दर्शनको आकर्षक आख्यानीकरण – Nepal Press
ग्रन्थ गुञ्जन

सरस्वती प्रतीक्षाको ‘स्व’: बौद्ध दर्शनको आकर्षक आख्यानीकरण

पर्यटकीय नगरी पोखराकी चर्चित लेखक तथा कवि सरस्वती प्रतीक्षाको दोस्रो आख्यान ‘स्व’को लोकार्पण असार १ गते नेपाल पर्यटन बोर्डको सभाहलमा भयो । सभाहल खचाखच देख्दा यस्तो लाग्थ्यो- यो उनको ‘काठमाडौं’ लोकार्पण नभएर गृहनगर लोकार्पण हो । अरु काममा व्यस्त हुनेहरु पनि प्रतीक्षासँग किताब लिएर तस्विर खिचाएर निस्कन हतारमा देखिन्थे । नेपाली कविता, निबन्धमा पहिचान बनाएकी प्रतीक्षामाथि पाठकहरुको विश्वासको विम्ब कार्यक्रमको भीड मान्न सकिन्छ । यो त भयो पाठकहरुको सरस्वतीमा विश्वास ।

‘नथिया’बाट औपन्यायिक राजमार्गमा शयर गर्न पुगेकी प्रतीक्षाको ‘स्व’ विधाको कोणमा एकै हो, तर मुद्दाको कोणमा बिल्कुल फरक । ‘नथिया’ मुद्दाबारेमा लेखन थियो । ‘स्व’ चैँ मनबारेमा । ‘नथिया’ सामाजिक मुद्दा थियो । ‘स्व’ मनोवैज्ञानिक । ‘नथिया’ सीमान्तकृत मुद्दा थियो । ‘स्व’ दार्शनिक ।

‘बुद्ध वाज बर्न इन नेपाल’

बुद्ध वाज बर्न इन नेपाल, बुद्ध नेपालमा जन्मिएका हुन् । नेपालीहरुले लाउने टी-सर्ट, सामाजिक सञ्जालमा पोस्टदेखि सवारी साहित्यमा यो कुरा यत्रतत्र देखिन्छ । ‘स्व’मा पनि यो छ । फेवातालको जलकुम्भी जक्सनमा भेट भएर प्रेममा परेका सप्तम र काव्या दुई पात्र उभ्याएर लेखकले बुद्धको दर्शन भनेकी छन् । बुद्ध नेपालमा जन्मेको कुरा ल्याएकी छन् । लेखकीय खण्डमा ‘हामी बुद्ध नेपालमा जन्मिएका हुन् भनेर गर्वमात्र गरिरह्यौं, तर बुद्धले जीवनका लागि जुन व्यवहारिक दर्शन पस्किए, त्यो दर्शनलाई नजरअन्दाज गरेर बाँच्यौं’ भन्ने लेखक प्रतीक्षाले आफ्ना पात्रहरुलाई पनि यस्तै भनाएकी छन् । किताबमा मादी किनार नामका पात्रले भन्छ, ‘बुद्ध जन्मेको देशको हुनाले बुद्धको अनित्यको दर्शनबारेमा अलि–अलि त सुनेकै थिएँ ।’

सांसारिक दुनियाँको सप्तम पात्रको बुद्ध दर्शनको गन्तव्यमा पुग्ने कथाहरु लेखकले बुनेकी छन् । सप्तम स्याङ्जामा सवारी दुर्घटनामा पुगेर सात दिन कोमामा पुग्छ, त्यो कोमायात्रा नै उसको लुप्त बौद्ध दर्शनको अवचेतन मनको गन्तव्य बन्छ । उसले गन्धकुटीमा सत्संग गर्छ । कर्म देशना सुन्छ । धर्म देशना बुझ्छ । नारेश्वर वृक्ष बुझ्छ । अप्पो दीपो भवःमा गुञ्जिन्छ । विनय-पिटक, सुत्त-पिटक र अभिधम्मा-पिटक बुझ्छ । किताब लेख्न लेखकले गरेका संगतमा भिक्षु धज्जवन्तो आउँछन् । किताबमा चैँ भिक्षु अश्वघोष, बोधानन्द नामका भिक्षु आउँछन् ।

बौद्ध दर्शनमा सामान्य सूचना भएको सप्तमलाई बौद्ध दर्शनको लागि घरबार त्याग्ने तहमा पुर्‍याउनु लेखकीय तरिका सुन्दर छ । सांसारिक जस्तो देखिने सप्तम पछि बुद्ध मार्गमा जान्छ । बौद्ध मार्गको झलक आउने काव्य चैँ सप्तम सांसारिक नै भएको देख्न चाहेको रोचक कुरा लेखकले कथामा ल्याएकी छन् । मल्टिपल पर्सनालिटी डिसअर्डर तथा डिमेन्सिया जस्ता मेन्टल हेल्थ र बुद्ध दर्शनलाई जोड्ने उनको कला आकर्षक छ ।

‘नथिया’बाट औपन्यायिक राजमार्गमा शयर गर्न पुगेकी प्रतीक्षाको ‘स्व’ विधाको कोणमा एकै हो, तर मुद्दाको कोणमा बिल्कुल फरक । ‘नथिया’ मुद्दाबारेमा लेखन थियो । ‘स्व’ चैँ मनबारेमा । ‘नथिया’ सामाजिक मुद्दा थियो । ‘स्व’ मनोवैज्ञानिक । ‘नथिया’ सीमान्तकृत मुद्दा थियो । ‘स्व’ दार्शनिक ।

किताबको पृष्ठ इ देखि सुरु भएर अन्तिम पृष्ठ २८० सम्म गौतम बुद्धको कुरा जोडिएको छ । हर्मन हेस्सेको उपन्यास सिद्धार्थकै परिमार्जित नेपाली मौलिक संस्करण जस्तो लाग्छ ‘स्व’लाई । सिद्धार्थमा मूल पात्र सिद्धार्थ सांसारिक भएर पनि आफूलाई खोज्ने मिसनमा हुन्छ । उसले गौतम बुद्धलाई पनि ज्ञान आफैंमा खोज्ने भन्ने तपाईं आफैं किन बुद्धत्व पाउन भिक्षुहरुको भीड बनाएर हिँड्नुहुन्छ भन्ने गम्भीर प्रश्न छ ।

‘स्व’मा काव्याले पनि मौलिक प्रश्न गर्छिन् । उनी भन्छिन्, ‘हर युगमा लोग्नेमान्छेको सोच र खोजको मूल्य स्वास्नीमान्छेले नै किन चुकाउनुपर्छ ? उति बेला सिद्धार्थ गौतमको महानिभिष्क्रिमणको मूल्य यशोधराले चुकाउनुपर्‍यो । अहिले सप्तमको खोज र बोधको मूल्य मैले चुकाउनु परिरहेको छ । हर युगमा जीवनका फरकखाले दर्शन र मूल्यहरु सन्धान गर्न लोग्नेमान्छे निस्कँदा त्यसको मूल्य चुकाउने पाटो चाहिँ स्वास्नीमान्छेकै भागमा किन पर्छ । के स्वास्नीमान्छेको ‘स्व’ हुँदैन?’

कविता र कलाको संक्रमण

कवि भएकाले हुनसक्छ उपन्यासमा कवि र कविताको सुन्दर संक्रमण देखिन्छ । कविहरु मनु मञ्जिल, श्रवण मुकारुङ जस्ता नेपाली कवि, रोबर्ट बर्न्स, रोबर्ट फ्रस्ट, अमृता प्रितम जस्ता कविहरु आएका छन् । कथाकी एक प्रमुख पात्रको नाम काव्या छ । अर्को प्रमुख पात्र सप्तमको प्रकाशित किताब कथाको भए पनि उसको प्यार भने कवितामा छ । ऊ विद्यार्थीलाई पढाउँदा कविता खण्डमा आउँदा अतिरिक्त ऊर्जाशील हुन्छ ।

कविता पात्र, रुचि र कविका नामबाट मात्रै आएको छैन, लेखनीको सुन्दरतामा पनि कविता आएको छ । जस्तैः पृष्ठ ३९ मा पात्रले बोल्ने कुरा कविताको छः

राम्रो अंक ल्याएर एसएलसी पास भएको खुसीको खबर कसलाई सुनाउने ?
उसले सबैभन्दा पहिले झोलुङ्गे पुलमुनि सुसाउँदै बगिरहेको नदीलाई सुनायो
घरछेउको वरपीपल चौतारीलाई सुनायो
चौतारीनेर हिँडिरहेका भुस्याहा कुकुरहरुलाई सुनायो
बाटोमा हिँडिरहेका केही थान बाख्रा, गाई र भैँसीहरुलाई पनि सुनायो
छिमेकीको आँगनमा फुलिरहेका नीलजाई र कामिनी फूलहरुलाई सुनायो
साँझपख झ्यालनेरै चिरबिर चिरबिर गर्दै आइपुगेको एक जोडी भँगेरालाई सुनायो
माउसुलीलाई चाँहि किन नसुनाउने ?
खानाखाने बेला घरको भित्तोमा चलमलाइ बस्ने माउसुलीलाई पनि सुनायो ।

लेखन, प्रयोग, कला र कथा सबै कोणमा ‘स्व’लाई पढ्नैपर्ने कोटीको पुस्तकमा राख्न सकिन्छ । २८० पृष्ठमा दौडिएको ‘स्व’बारेमा आत्मसमीक्षा स्वयं लेखकबाटै भएको छ । उनले एक ठाउँमा भनेकी छन्, ‘अनुभव, अनुभूति र बोधले मलाई अब तैँले फिलोसोफिकल उपन्यास लेख्न सुरु गर भन्यो र मैले ‘स्व’ उपन्यास लेखें ।’

कवितामात्रै होइन, सुन्दर पन्चलाइनहरु पनि उपन्यासमा आएका छन् । जस्तैः

  • संसारको सबैभन्दा ठूलो अदालत आफ्नै हृदयको अदालत हो । हृदयको अदालतमात्रै यस्तो अदालत हो, जहाँ म जे भन्छु, सत्य भन्छु भनेर कुनै गीता वा बाइबल छोएर कसम खानै पर्दैन । हृदयको अदालतमा कसैले झूट बोल्नै सक्दैन ।
  • घडीमा पेन्डुलम बनेर बाँच्दा पो घडीको शोभा बढ्छ । जीवनमा पेन्डुलम बनेर बाँच्दा त जीवनकै शोभा घट्छ ।
  • मित्रता वा दुश्मनीमा पो झगडा गर्नलाई ठूलो कारण चाहिन्छ । प्रेममा त झगडा गर्नलाई ससानो कारण नै काफी हुन्छ ।
  • किन जीवनभन्दा जीवनसम्बन्धी प्रश्नहरुको वजन बढी छ ?

किताबको नाम ‘स्व’देखि, प्रमुख पात्रको नाम सप्तमको पनि कथाले न्याय गरेको छ । यी दुवैको नाम जस्टिफाइ हुने कथानक प्रस्तुत गर्नु लेखकको अर्को कला हो ।

घच्याकघुचुकहरु र अरु कुरा

किताबमा केही घच्याकघुचुकहरु नभएका होइनन् । कतिपय शब्द, कतिपय प्रसंग र कतिपय सवालमा लेखक तथा सम्पादकका देखिने कमजोरी छन् । उदाहरणका लागि पृष्ठ ‘ए’मा ‘बुद्धिज्म’ भनिएको हो । भन्नु पर्ने ‘बुद्धिजम’ हो । पृष्ठ २४ मा विद्यालयको छात्राबासमा बस्ने एक साथीले सप्तमलाई भन्छ, ‘आमा सम्बन्धमा बाँच्नेभन्दा पनि फिल गर्ने कुरा हो ।’ यो तहको बुझाइ स्कुले बच्चाहरुमा हुने कुरामा प्रश्न गर्ने ठाउँ छ । कतै पात्रमा लेखकीय घुसपैठ भएको पो हो कि ?

पृृष्ठ ८९ मा ‘पृथ्वीका १९५ देशहरु’ भनिएको छ । हामीले मान्दै आएको आँकडा संयुक्त राष्ट्रसंघको हो । उसले विश्वसमा १९३ देश भएको भन्छ । यो कुरा त्यो कोणमा तथ्यगत कमजोरी भएर आएको छ । यस्तै जलकुम्भी र जलवायुको कुरा गर्दा लेखले हृदयभन्दा बुद्धि धेरै प्रयोग गरेको देखिन्छ । वैज्ञानिक तथ्यांकहरु र आँकडाहरु दिएको देखिन्छ । यी कुरालाई वैज्ञानिक तथ्यांकभन्दा हृदयकै गणितबाट पनि भन्न सकिन्थ्यो कि भन्ने प्रश्न आउँछ ।

यी र यस्ता केही कमजोरी देखिए पनि किताब पठनीय छ । संग्रहणीय छ । लेखन, प्रयोग, कला र कथा सबै कोणमा ‘स्व’लाई पढ्नैपर्ने कोटीको पुस्तकमा राख्न सकिन्छ । २८० पृष्ठमा दौडिएको ‘स्व’बारेमा आत्मसमीक्षा स्वयं लेखकबाटै भएको छ । उनले एक ठाउँमा भनेकी छन्, ‘अनुभव, अनुभूति र बोधले मलाई अब तैँले फिलोसोफिकल उपन्यास लेख्न सुरु गर भन्यो र मैले ‘स्व’ उपन्यास लेखें ।’ त्योभन्दा अगाडि अर्को ठाउँमा उनी भन्छिन्, ‘वर्षौंदेखि मनभित्र कतै गडेर बसेको एउटा रहर थियो- एउटा यस्तो उपन्यास लेखूँ, जुन उपन्यासमा म दर्शनको कुरा गर्न सकूँ, जीवनको कुरा गर्न सकूँ, मृत्युको कुरा गर्न सकूँ, मान्छेभित्र मान्छेले लुकाएर राखेको अर्को मान्छेको पत्र-पत्र उधिनेर देखाउन सकूँ ।’ स्वयं लेखकले आशा गरेको जस्तो कुरा उपन्यासमा भेटिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *