मन्त्रीका निर्वाचन क्षेत्र केन्द्रीत कोशीको बजेट आलोचनाकाबीच पास – Nepal Press

मन्त्रीका निर्वाचन क्षेत्र केन्द्रीत कोशीको बजेट आलोचनाकाबीच पास

विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको बजेट मन्त्रीहरूको निर्वाचन क्षेत्र केन्द्रीत देखिएको छ ।

मन्त्रालयको जिम्मेवारी पाएका मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्र केन्द्रित बजेट हालेपछि प्रदेश सभामा चर्को आलोचना भएको छ । बजेटमाथिको छलफलमा बोल्ने अधिकांश सांसदले सरकारले ल्याएको बजेट कुनै पालिका लक्षित, मन्त्रीको घर वरिपरि र आफ्नो कार्यकर्ता रिझाउने गरी आएको भन्दो आलोचना गरेका छन् ।

कोशी प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेतीले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै ८६ वटा योजना हालेका छन् । उनको निर्वाचन क्षेत्रमा रहेको रतुवामाई नगरपालिका र सुनबर्षीमा ८६ वटा योजना हालेपछि सत्ता पक्षकै सांसदहरूले उनको आलोचना गरे । उनको निर्वाचन क्षेत्रमा हालिएका योजना १० लाखदेखि २ करोडसम्मका रहेका छन् ।

उनको निर्वाचन क्षेत्रमा दुई करोडको एउटा योजना हालिएको छ । यस्तै एक करोडका ७ वटा योजना उनको निर्वाचन क्षेत्रमा हालिएको छ । उनको निर्वाचन क्षेत्रमा ९५ लाखको एउटा योजना हाल्दा ५० लाखको ६ वटा योजना मन्त्री आफैले आफ्नो निर्वाचन क्षेत्रमा हालेका छन् ।

उनले आफ्नो निर्वाचन क्षेत्रमा भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत हालेका योजनाहरू २० देखि २५ लाखका धेरै रहेको प्रदेश सरकारले प्रकाशित गरेको रातो किताबमा उल्लेख छ । मन्त्री उप्रेतीको निर्वाचन क्षेत्र रतुवामाईमा साना–ठुला ६० वटा र सुनवर्सी नगरपालिकामा ३६ वटा योजनाहरू हालेको आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रम पुस्तिकामा स्पष्ट देखिन्छ ।

भौतिक पूर्वाधार विकास मन्त्री उप्रेतीले आफ्नो निर्वाचन क्षेत्रलाई मात्र प्राथमिकता दिएको आरोप लागेको छ । सडक स्तरोन्नति, ग्राभेल, कालोपत्रे, नाला निर्माण, कल्भर्ट, पुल, झोलुङ्गे पुल निर्माण, लगायतमा मन्त्रीले आफ्ना कार्यकर्ता लक्षित बजेट हालेको आरोप नेपाली काँग्रेसले मात्र लगाएर सत्ता पक्षीय सांसदहरूले नै प्रदेश सभामा भएको बजेट छलफलको क्रममा प्रश्न उठाए ।

धनकुटाका प्रदेश सभा सदस्य इन्द्रमणी पराजुलीले अहिले सरकारले बजेट विनियोजन गर्दा ठिक तरिकाले नगरेको बताए । प्रदेश सभा सदस्य खड्गबहादुर बस्नेतले मुख्यमन्त्री र मन्त्रीहरूको विज्ञतामाथि नै प्रश्न उठाए ।

आलोचनकाबीच बजेट पास

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । असार १ गते प्रदेश सभामा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेश सभामा पेस गरेको बजेट बहुमतले पारित भएको हो ।

आगामी आर्थिक वर्ष २०८१र०८२ कोलागि प्रस्तुत गरेको ३५ अर्ब २७ करोड ९३ लाख बजेट बहुमतले पारित भएको हो । प्रदेश रकारले प्रस्तुत गरेको बजेटमा चालु तर्फ १४ अर्ब ४७ करोड २३ लाख र पुँजीगत तर्फ ४ अर्ब ५८ करोड ५० लाख विनियोजन गरेको छ ।

जसमध्ये चालु खर्च मध्ये सङ्घीय अनुदान फिर्ताको लागि ३ अर्ब राखिएको छ। प्रदेश सरकारको आन्तरिक राजश्व ४ अर्ब ९८ करोड, राजश्व बाँडफाँडबाट १२ अर्ब ४० करोड ८ लाख सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ८ अर्ब १४ करोड ३२ लाख, सशर्त अनुदान ४ अर्ब १६ करोड ४३ लाख, समपूरक अनुदानबाट प्राप्त हुने ६५ करोड ५० लाख र विशेष अनुदानबाट ७८ करोड १ लाख गरी ३१ अर्ब ९२ करोड ३४ लाख खर्च बेहोरिने भनिएको छ। बाँकी मौज्दातबाट ३ अर्ब २५ करोड र वैदेशिक अनुदानबाट १० करोड ५९ लाख बेहोरिने उल्लेख गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *