संसदका कर्मचारीको माग सम्बोधन गर्न कानून मन्त्रीको नेतृत्वमा समिति गठन
काठमाडौं । संघीय संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न तीन सदस्यीय समिति गठन भएको छ ।
आन्दोलनका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार विहान भएको शीर्ष बैठकले कानून मन्त्री पदम गिरीको नेतृत्वमा समिति गठन गरेको हो ।
समितिमा संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डे र अर्थ मन्त्रालयका सचिव मधु मरासिनी सदस्य रहनेछन् । यो समितिले कर्मचारीका मागबारे छलफल गरी उपयुक्त सुझाव दिनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहालसमेतको उपस्थितिमा भएको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी थिए ।
बैठकमा मुख्य सचिव डा।बैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि उपस्थित थिए ।
सभामुखले संसद सचिवालयका कर्मचारीको मागबारे सम्बद्ध पक्षहरूसँग केही दिनदेखि औपचारिक अनौपचारिक छलफल समेत गरिरहेका थिए । संघीय संसदका कर्मचारीले सेवा सुविधा र तलब बृद्धिलगायतका माग राखेर आन्दोलन गरिरहेका छन् ।