टी-२० विश्वकपको सेमिफाइनल समीकरण रोचक, अष्ट्रेलिया र ईंग्ल्यान्ड धरापमा ! – Nepal Press

टी-२० विश्वकपको सेमिफाइनल समीकरण रोचक, अष्ट्रेलिया र ईंग्ल्यान्ड धरापमा !

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा आयोजित टी-२० विश्वकप क्रिकेट सुपर ८ का खेलहरू जारी छन् । सुपर ८ का आठवटा खेल सकिँदा सेमिफाइनलको समीकरण रोचक बनेको छ ।

दुई वटा समूहका दुई–दुईवटा मात्र खेल बाँकी रहँदा कुनै पनि टीमले सेमिफाइनलमा स्थान निश्चित गरिसकेका छैनन् । यद्यपि, पहिलो ग्रुपबाट भारतले सेमिफाइनलमा एउटा खुट्टा राखिसकेको छ भने दोस्रो ग्रुपबाट साउथ अफ्रिकाको बलियो सम्भावना छ । दुवैले दुई खेलमा दुवै जितेर ४ प्वाइन्ट ल्याएका छन् ।

सुपर ८ को समूह १ मा आज अष्ट्रेलियाले अफगानिस्तानलाई हराएको भए भारत र अष्ट्रेलिया सेमिफाइनलमा जाने थिए । अफगानिस्तान र बंगलादेशको ढोका बन्द हुन्थ्यो । बाँकी दुई खेलहरू ‘डेड रबर’ हुने थिए । तर, अफगानिस्तानले अष्ट्रेलियालाई स्तब्ध पारेसँगै सेमिफाइनल समीकरणमा उथलपुथल भएको हो ।

आजको नतिजाले अष्ट्रेलिया धरापमा परेको छ । सोमबार हुने खेलमा यदि अष्ट्रेलिया भारतसँग पराजित भयो र मङ्गलवार हुने खेलमा अफगानिस्तानले बंगलादेशलाई हरायो भने अष्ट्रेलिया सुपर ८ बाट बाहिरिने छ र अफगानिस्तान भारतसँगै सेमिफाइनलमा प्रवेश गर्नेछ ।

अष्ट्रेलिया र अफगानिस्तान दुवै हारे भने नेट रनरेटका आधारमा अष्ट्रेलिया, अफगानिस्तान र बंगलादेशमध्ये एक टीम सेमिफाइनलमा जानेछन् । अष्ट्रेलियाले जित्यो र अफगानिस्तान हार्‍यो भने अष्ट्रेलियाको भाग्य खुल्छ । यदि बंगलादेशले ठूलो ठूलो अन्तरले अफगानिस्तानलाई जित्यो र अष्ट्रेलियाले ठूलो अन्तरले भारतसँग हार्‍यो भने बंगलादेशको पनि भाग्य नखुल्ला भन्न सकिन्न ।

भारतलाई भने सेमिफाइनलबाट वञ्चित गर्न निकै कठिन छ । यदि भारतले अन्तिम खेलमा अष्ट्रेलियासँग पराजय भोग्यो भने पनि नेट रनरेटका आधारमा सेमिफाइनलमा पुग्न सक्ने स्थिति देखिन्छ ।

भारतको रनरेट अरू सबै टिमहरूको भन्दा निकै राम्रो छ । यदि अष्ट्रेलियाले भारतलाई विशाल अन्तरले हरायो र अफगानिस्तानले पनि बंगलादेशलाई शर्मनाम हार चखायो भने मात्र भारत घर फर्किनुपर्ने हुन सक्छ ।

यता, दोस्रो समूहको समीकरण पनि उत्तिकै जटिल छ । साउथ अफ्रिका दुई जितका बाबजुद सेमिफाइनलमा पुगिसकेको छैन । अमेरिका दुई हारका बाबजुद सेमिफाइनल दौडबाट बाहिरिइसकेको छैन । साउथ अप्रिलकाले अन्तिम खेलमा वेस्ट इन्डिजबाट ठूलो हार नव्यहोरेमा सेमिफाइनलको यात्रा तय गर्न सक्छ । वेस्ट इन्डिजसँग दक्षिण अफ्रिका हारेर ईंग्ल्यान्डले अमेरिकालाई हरायो भने नेट रनरेटबाट निर्णय हुनेछ ।

यदि दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई हरायो र ईंग्ल्यान्डले अमेरिकालाई जित्यो भने दक्षिण अफ्रिका र ईंग्ल्यान्ड सेमिफाइनलमा जान्छन् । यदि दक्षिण अफ्रिकाले वेस्ट इन्डिजाई हरायो र ईंल्यान्डलाई अमेरिकाले जित्यो भने दक्षिण अफ्रिकासँगै ईंग्ल्यान्ड, वेस्ट इन्डिज र अमेरिकामध्ये एउटा टीमले नेट रनरेटका आधारमा सेमिफाइनलमा स्थान बनाउनेछ ।

हिजो भएको खेलमा अमेरिकाविरुद्ध फराकिलो जित हासिल गर्दै वेस्ट इन्डिजले आफ्नो नेट रनरेट सुधार गरेको छ । यसले दबाबमा परेको छ ईंग्ल्यान्ड । उसले अन्तिम खेलमा अमेरिकालाई फराकिलो अन्तरले हराउनुका साथै वेस्ट इन्डिजले साउथ अफ्रिका विरुद्ध ठूलो जित हासिल नगरोस् भनेर कामना समेत गर्नुपर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर