सेबोनको अध्यक्षको प्रक्रिया कसरी अगाडि बढ्छ ? समितिले महान्यायाधिवक्तासँग राय लिँदै – Nepal Press

सेबोनको अध्यक्षको प्रक्रिया कसरी अगाडि बढ्छ ? समितिले महान्यायाधिवक्तासँग राय लिँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्डको (सेबोन) अध्यक्षका सबै उम्मेदवार अन्तर्वार्तामा उपस्थित नभएपछि बोर्डको अध्यक्ष प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयबारे छनौट समितिले आज महान्यायाधिवक्ताको कार्यालयसँग लिखित राय लिने भएको छ ।

अहिले महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल छन् । सर्ट लिष्टमा परेका पाँच जनामध्ये तीन जना दुई पटकसम्म सूचना जारी गर्दा पनि बदनियतपूर्ण ढंगले अन्तरवार्तामा अनुपस्थित भएपछि छनौट प्रक्रिया के गर्ने भन्नेबारे महान्यायाधिवक्ताको कार्यालयसँग लिखित राय लिने निर्णय बमोजिम राय लिन लागिएको अर्थ मन्त्रालयले जनाएको छ ।

अध्यक्षका उम्मेदवारत्रय बोर्डकै कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का सीईओ कृष्णबहादुर कार्की र तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ लगातार दुई पटक सम्म अनुपस्थित भएका थिए ।

सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठको अन्तर्वार्ता भने पहिलो चरणमा नै भएको थियो । कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने भएकाले २ जना मात्र उपस्थित हुँदा समस्या भएको छ ।

अब महान्यायाधिवक्ताको कार्यालयको राय अनुसार नै प्रक्रिया अघि बढाउने अर्थले जनाएको छ । बोर्ड नेतृत्वविहीन हुँदा लामो समयदेखि शेयर निष्कासनदेखि अरू महत्त्वपूर्ण काम अलपत्र परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *