टी-२० विश्वकपमा अफगानिस्तानको सनसनी : न्यूजिल्यान्डपछि अष्ट्रेलियाको ‘शिकार’ – Nepal Press

टी-२० विश्वकपमा अफगानिस्तानको सनसनी : न्यूजिल्यान्डपछि अष्ट्रेलियाको ‘शिकार’

काठमाडौं। वेस्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको सुपर एटमा आइतबार बिहान अफगानिस्तानले अस्ट्रेलियामाथि ऐतिहासिक जित हात पार्‍यो।

सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानले अस्ट्रेलियालाई पहिलो पटक हराएको हो। यी दुई टोलीबीच यसअघि ५ पटक प्रतिस्पर्धा भएकामा अफगानिस्तानले जित्न सकेको थिएन। अस्ट्रेलिया गत वर्ष मात्र भारतमा आयोजित एकदिवसीय विश्वकप जितेको टोली हो।

सोही विश्वकपमा अफगानिस्तानले साबिक विजेता इङ्ल्यान्डलाई हराएर सनसनी मच्चाएको थियो। सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा त्यसअघि अफगानिस्तानले इङ्ल्यान्डलाई कहिल्यै हराएको थिएन। इङ्ल्यान्ड सन् २०२२ मा आयोजित अघिल्लो संस्करणको टी-२० विश्वकपको पनि विजेता थियो।

जारी विश्वकपमा अफगानिस्तानले पहिलो चरणमा न्युजिल्यान्डलाई हराएर ऐतिहासिक सफलता हात पारेको थियो। न्युजिल्यान्डमाथि पनि अफगानिस्तानले अघिल्ला भिडन्तहरूमा जित हात पार्न सकेको थिएन।

न्युजिल्यान्ड सन् २०२० मा एकदिवसीय विश्वकप र सन् २०२१ मा आयोजित टी-२० विश्वकपको उपविजेता हो। जारी विश्वकपमा न्युजिल्यान्ड पहिलो चरण पार गर्न असफल भयो।

अस्ट्रेलिया र न्युजिल्यान्डविरुद्ध प्राप्त ऐतिहासिक सफलतामा कम्तीमा एउटा समानता देखियो। दुवै खेलमा प्रारम्भिक ब्याट्सम्यानद्धयले शानदार ब्याटिङ गरे। न्युजिल्यान्डलाई एक सय ६० रनको लक्ष्य दिएको अफगानिस्तानले विपक्षीलाई ७५ रनमा अलआउट गरेर ८४ रनको जित हात पारेको थियो।

प्रारम्भिक ब्याट्सम्यानद्धय रहमनुल्लाह गुरबाजले ८० र इब्राहिम जद्रानले ४४ रनको पाली खेलेका थिए। यी दुईबीच पहिलो विकेटका लागि एक सय ३ रनको साझेदारी भएको थियो।

बलिङतर्फ अफगानिस्तानका फजालहक फारुकी र रसिद खानले ४/४ विकेट लिए। मोहम्मद नाबीले पनि २ विकेट लिएका थिए।

अस्ट्रेलियाविरुद्ध गुरबाज र जद्रानले पहिलो विकेटका लागि एक सय १८ रनको साझेदारी गरेपछि अफगानिस्तानले एक सय ४९ रनको लक्ष्य दिएको थियो। गुरबाजल ६० र जद्रानले ५१ रन बनाए। अस्ट्रेलिया भने एक सय २७ रनमा समेटियो। गुल्बादिन नैबले ४, नबिन उल हकले ३ तथा रसिद खान, मोहम्मद नाबी र अज्मतुल्लाह ओमरजाईले एक एक विकेट लिएका थिए।

अफगानिस्तानले २०१७ मा टेस्ट मान्यता पाएपछि नियमित रूपमा टेस्ट टोलीहरूसँग खेल्ने अवसरहरू पाइरहेको छ। यसबीचमा अफगानिस्तानले पाकिस्तान, श्रीलंका, वेस्ट इन्डिज, बंगलादेश, जिम्बावेलाई धेरैपटक हराइसकेको छ। भारत र दक्षिण अफ्रिकाले मात्र अफगानिस्ताबाट हार ब्यहोरेका छैनन्।

नेपालले पहिलो पटक खेलेको सन् २०१४ को टी-२० विश्वकपमा नेपाल र अफगानिस्तान एकै समूहमा थिए। त्यतिबेला नेपालले अफगानिस्तानलाई हराएको थियो। त्यसयता पहिलो पटक जारी विश्वकप खेलेको नेपाल पहिलो चरण पार हुन सकेन। तर पहिलो चरणमा बंगलादेश र दक्षिण अफ्रिकाविरुद्ध नेपाल जित नजिक पुगेर स्तब्ध भएको थियो।

अहिले भइरहेको सुपर एटमा अफगानिस्तानले २ खेलबाट २ अंक जोडेर समूहको दोस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको भारतको २ खेलबाट चार अंक छ। २ खेल खेलेको अस्ट्रेलियाको २ अंक छ भने बंगलादेशले खाता खोल्न सकेको छैन।

समूहको आ-आफ्नो अन्तिम खेलमा अस्ट्रेलियाले भारत र अफगानिस्तानले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्ने छ। यही कारण एकदिवसीय विश्व विजेता अस्ट्रेलिया टी-२० विश्वकपमा भने सुपर एटबाटै बाहिरिन सक्ने संकटमा परेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *