नेपाली राजनीतिमा इतिहास रच्ने यी तीन एकल महिला
चितवन । आज अन्तर्राष्ट्रिय एकल महिला दिवस । नेपालमा पछिल्लो समय एकल महिलाको अवस्था फेरिँदै गए पनि राज्यकै परिभाषाले एकल (विधवा) भन्ने बित्तिकै कमजोर, आर्थिक रूपमा विपन्न भनी व्याख्या गरेको छ ।
तर, नेपालका केही एकल महिला यस्ता छन्, जसले नेपाली राजनीतिमा इतिहास बनाएका छन् । राजनीतिक नेतृत्वका क्रममा एकल भएकाले सार्वजनिकरूपमा टिप्पणी खेपेरै पनि उनीहरूले सफल नेतृत्वको रूपमा स्थापित गरेका छन् ।
उनीहरूमध्ये नेपाली राजनीतिक इतिहासमा स्थापित तीन एकल महिला हुन्,- द्वारिकादेवी ठकुरानी, सहाना प्रधान र विद्यादेवी भण्डारी ।
द्वारिकादेवी ठकुरानी
ठकुरानीलाई नेपालको पहिलो महिला मन्त्री भनेर धेरैले चिन्छौँ । तर, श्रीमानको मृत्युपछि उनको राजनीतिक नेतृत्व उदाएको निकै कमलाई मात्रै थाहा छ । ठकुरानी प्रजातन्त्र प्राप्तिपछि भएको देशकै पहिलो आमनिर्वाचनमा निर्वाचित भएकी थिइन् । २०१६ जेठ १३ मा विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा गठन भएको पहिलो सरकारमा उनी उपमन्त्री बनिन् ।
द स्टोरी किचनले तयार गरेको समान अस्तित्वको लागि एकल महिलाको संघर्ष सन्धान खोजमा उल्लेख गरिए अनुसार ठकुरानी श्रीमानको मृत्युपछि मात्रै राजनीतिमा स्थापित भएकी हुन् ।
ठकुरानीको बारेमा रतन भण्डारीले आफ्नो पुस्तक द्वारिकादेवी ठकुरानी नेपालको पहिलो महिला मन्त्री पुस्तक पनि प्रकाशित गरेका छन् । उक्त पुस्तकमा उल्लेख गरिएअनुसार सुदूरपश्चिमको समाज तत्कालीन समाजमा महिलाका लागि बन्द थियो ।
सोही समय १८ वर्षको उमेर उनको विवाह भयो । १८ वर्ष नै वैवाहिक जीवनमा बिताए पनि गर्भावस्थामा उनको श्रीमानको मृत्यु भएको हो । गर्भवती अवस्थामा विधवा भए पनि उनले सकुशल सन्तान जन्माउन सकिनन् । विधवा हुनुसँगै गर्भको सन्तान जिउँदो नहुनु एउटी महिलाको लागि कति पीडादायी होला !
यद्यपि, व्यक्तिगत सुखभन्दा राजनीतिक नेतृत्वलाई अघि बढाउन एकल अवस्थामा नै उनी नेपाली काँग्रेसको सक्रिय राजनीतिक जीवनमा अगाडि बढिन् ।
ठकुरानीका श्रीमान् उद्धवबहादुर चन्द थिए । उनलाई श्रीमान् चन्दले नै तत्कालीन नेपाली राष्ट्रिय काँग्रेसको सदस्य बनाएका थिए । २००७ सालमा श्रीमानसँगै कांग्रेसको सदस्य बने पनि २०१० कात्तिक १० मा चन्दको मृत्यु भयो । त्यसपछि मात्रै ठकुरानीले सक्रिय राजनीतिक जीवन थालेकी हुन् । ।
द्वारिकादेवीले तत्कालीन प्रकाशित सञ्चारमाध्यममा वकालतसम्बन्धी काम गर्ने आफ्ना श्रीमान् प्रगतिशील विचारधाराको भएको, श्रीमान्ले ठकुरीको घरमा महिलाले घुम्टो हालेर बस्ने चलनलाई तोडेर सार्वजनिक काममा लाग्ने उत्साह दिएको, आफूलाई राजनीतिमा लाग्ने प्रेरणा श्रीमान्बाट प्राप्त भएको बताउने गरेकी थिइन् । जुन कुरा रतन भण्डारीले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।
एकल जीवनको ५ वर्षपछि अर्थात् २०१५ सालको आमनिर्वाचनमा क्षेत्र नम्बर ६६ डडेल्धुराबाट उनले निर्वाचन लडिन् । तीन हजार ९०३ मत ल्याइन् र विजेता पनि भइन् । त्यही जितले नेपाली राजनीतिमा पहिलो महिला मन्त्रीको रूपमा उनलाई स्थापित गरिदियो । २०१७ पुस १ मा तत्कालीन राजा महेन्द्रद्वारा निर्वाचित सरकार भङ्ग गरेर शासनसत्ता आफ्नो हातमा लिनुअघिसम्म उनी मन्त्री पदमा थिइन् ।
सहाना प्रधान
सहाना प्रधान नेपाली राजनीतिमा श्रीमानसँग नाम जोडिएर आउने महिला होइनन् । यद्यपि उनी नेपाली कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठकी पत्नी थिइन् । महिलाको शिक्षामा हकको नारा लगाएर बाल्यकादेखि नै समाज परिवर्तनको अभियानमा होमिएकी महिला हुन् सहाना प्रधानले । उनले एक समय नेपाली राजनीतिलाई हाँकिन् ।
नेपालको कम्युनिस्ट राजनीतिमा उनले नेतृत्वकर्ता बनेर जीवनको ऊर्जाशील समय बिताइन् । २०३५ साउन ७ मा श्रीमान्को निधनपछि पनि उनको राजनीतिक सक्रियता रोकिएन ।
सन्धान अनुसन्धानात्मक आलेखमा सहानाले अन्तिम समयमा राजनीतिमा लाग्ने प्रतिविद्धताबारे पुष्पलालका सहकर्मी गोविन्द ज्ञवालीले भनेको प्रसंग उल्लेख गर्दै लेखिएको छ,- २०३५ साउन ७ गते पुष्पलालको निधन भएपछि दिल्लीको निलम्बोध घाटमा अन्तिम श्रद्धाञ्जली दिने क्रममा मुखमा पानी राखिदिँदै सहानाले भनेकी थिइन्, तिम्रा अधुरा काम पूरा गर्न म लागिरहने छु ।
द्वारिकादेवी ठकुरानीका समयमा जस्तै तत्कालीन समाज नेपाली महिलाका लागि बन्द प्रायः थियो । सहानाहरूले नै छोरीले पढ्न पाउनुपर्छ भनेर आन्दोलनको बिगुल फुकेका थिए ।
सहानामा नेतृत्वको हुटहुटी थियो । जसको पुष्टि २०४६ सालसम्म आइपुग्दा संयुक्त वाममोर्चाको अध्यक्ष समेत भएर सहानाले प्रमाणित गरिसकेकी थिइन् । उनले २००७ सालमा भएको दिल्ली सम्झौताविरोधी आन्दोलनमा पनि सशक्त भूमिका निर्वाह गरेको सहाना प्रधान स्मृतिका आँखीझ्यालबाट पुस्तकमा उल्लेख छ ।
नेपाली कांग्रेस, नेपाल प्रजा परिषद् र नेपाली राष्ट्रिय कांग्रेसको गठबन्धनमा २०१४ साउन २४ मा ‘प्रजातान्त्रिक मोर्चा’ गठन भएको थियो । मोर्चाले आम चुनावको मिति अविलम्ब घोषणा गरियोस् भनेर २०१४ मङ्सिर २२ मा भद्र अवज्ञाको नामबाट आन्दोलन थालेको थियो ।
प्रजातान्त्रिक मोर्चामा संलग्न नभए पनि नेपाल कम्युनिष्ट पार्टीले कार्यगत एकताको आधारमा आन्दोलनमा सक्रिय सहभागिता जनाएको ‘नेपाली कांग्रेसको इतिहासको प्रारुप’ भाग २ मा उल्लेख छ ।
सहानाले गर्भवती अवस्थामा पनि भद्र अवज्ञा आन्दोलनमा सघाइन् । महिलाले घरबाट बाहिर निस्कन नहुने रूढ चिन्तनले ग्रस्त समाजमा सहाना पटक पटक जेल पनि भोगिन् ।
पञ्चायत व्यवस्थाविरुद्धको संयुक्त जनआन्दोलनमा वाममोर्चाको नेतृत्व गर्नुभएको थियो । तत्कालीन राजा वीरेन्द्रसँगको टेबल टकमा सहभागी भइन् । पटक पटक नेपालको राजनीतिक हाँक गरेकी प्रधान उद्योग वाणिज्यमन्त्री र परराष्ट्रमन्त्री समेत बनिन् ।
हुन त समाज परिवर्तन एकै पटक हुँदैन । नेपाली राजनीतिमा द्वारिकादेवी, सहानाहरु उदाउँदै गए पनि समाजको परिधिमा एकल महिलाहरूले संघर्ष बेहोरिरहनुपरेको थियो । यद्यपि, राजनीतिक उचाइमा उभिन सामाजिक चुनौती चिर्दै उनीहरूले एकलको परिभाषाभन्दा माथि गएर देशकै नेतृत्वदायी पद सम्हाले ।
विद्यादेवी भण्डारी
द्वारिकादेवी पहिलो महिला मन्त्री बनेको ५६ वर्षपछि नेपालको सर्वोच्च पदमा पुग्ने अर्को ऐतिहासिक एकल महिला बनिन् विद्यादेवी भण्डारी ।
नेपालको संसदबाट बहुमतले निर्वाचित भएर २०७२ कात्तिक १२ गते नेपालको पहिलो महिला राष्ट्रपतिको रूपमा विद्यादेवी भण्डारीले शपथ लिएपछि नेपालको नयाँ रेकर्ड स्थापित भयो,- पहिलो महिला राष्ट्रपति ।
भण्डारी महिला सँगसँगै समाजले थपिदिएको एकल पनि हुन् । उनी तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीकी पत्नी हुन् । महासचिव भण्डारीको मृत्युपछि नै विद्यादेवी भण्डारी सार्वजनिक जीवन अझ भनौँ राजनीतिक जीवनमा प्रवेश गरेकी हुन् ।
राष्ट्रपतिमा निर्वाचित हुनुअघि विद्यादेवी संसद् सदस्यका लागि पटक पटक भएको निर्वाचनमा निर्वाचित भइन् । राष्ट्रपतिसँगै नेपालको पहिलो महिला रक्षामन्त्री पनि हुन् भण्डारी । उनी २०५३ चैतमा जनसङ्ख्या तथा वातावरणमन्त्री र २०६६ जेठमा नेपालको पहिलो महिला रक्षामन्त्री बनेकी थिइन् ।
नेपाली राजनीतिमा एकल महिला भएर पनि नेतृत्व गर्ने द्वारिकादेवी र सहाना हामीमाझ छैनन् । तर, एकल भएर राज्यको सर्वोच्च पदमा पुग्ने विद्यादेवी भण्डारी नेपाली समाजको उदाहरणीय महिलाका रूपमा हामीमाझ छिन् ।
उनीहरूले राज्य हाँक्ने अवस्थासम्म आइपुग्दा नेपाली समाजले पनि एकल महिलाको राजनीतिक पहिचान र अस्तित्व बिस्तारै स्वीकार हुन थालेको छ । जसको फस्वरुप १ सय ४६ जना एकल महिला स्थानीय तहहरूको नीति निर्माण तहमा निर्वाचित भएका छन् ।
एकल महिलाको समानताको लागि लामो समय अभियान चलाएकी मानवअधिकारका लागि महिला एकल महिला समूहको संस्थापक समेत रहेकी लिली थापा नेपालमा राज्य र समाजको तहबाट नै एकल महिलाको नेतृत्व स्वीकार गरिन थालिएको बताउँछिन् ।