नियुक्तिको एक वर्षपछि भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा परे मुख्यसचिव अर्याल – Nepal Press

नियुक्तिको एक वर्षपछि भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा परे मुख्यसचिव अर्याल

काठमाडौं । मुख्यसचिव डा. बैकुण्ठ अर्याल निलम्बनमा परेका छन् । सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्कको स्टिकर खरिद प्रकरणलाई लिएर अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेसँगै अर्याल निलम्बनमा परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको प्रावधानअनुसार कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि भ्रष्टाचार मुद्दा दायर भए निलम्बित हुने व्यवस्था छ ।

उक्त ऐनको दफा १७ मा ‘मुद्दाको किनारा नभएसम्मको अवधिभर त्यस्तो व्यक्ति आफ्नो पदबाट स्वतः निलम्बन भएको मानिनेछ । त्यसरी निलम्बनमा रहेको व्यक्तिले कुनै सरकारी कार्यालय वा सार्वजनिक संस्थामा वा नेपाल सरकारलाई कुनै किसिमले प्राप्त ऋण वा अनुदान रकममा व्ययभार पर्ने पदमा कुनै पनि किसिमले नियुक्त भई काम गर्न पाउने छैन’, भन्ने उल्लेख छ ।

आज अख्तियारले अर्यालसहित १२ जनालाई जनही ३८ करोडभन्दा माथि बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ । जसमा ९ जना सरकारी कर्मचारी रहेको बताइएको छ । अर्यालमाथि टेरामक्स प्रकरणमा पनि मुद्दा दायर गर्ने अख्तियारको तयारी छ ।

अर्याल गत वर्ष जेठ ३२ गते मुख्यसचिवमा नियुक्त भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *