भक्तपुरमा प्रहरी हौं भन्दै दिनदहाडै लुटपाट, नम्बर प्लेट छोपेर दुईवटा मोटरसाइकलमा घर छिरेका थिए लुटेरा – Nepal Press

भक्तपुरमा प्रहरी हौं भन्दै दिनदहाडै लुटपाट, नम्बर प्लेट छोपेर दुईवटा मोटरसाइकलमा घर छिरेका थिए लुटेरा

काठमाडौं । भक्तपुरको दधिकोटमा नाटकीय तरिकाले दिनदहाडै लुटपाट भएको छ । गत मंगलबार दुईवटा मोटरसाइकलमा गएका चार जनाले घरभित्र छिरेर लुटपाट गरेको सूचना पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले यतिबेला अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार लुटपाटमा संलग्न भएको आरोपमा २ जना पक्राउ परेका छन् ।

चार जनाको समूहले २ करोड रुपैयाँ लुटपाट गरेर फरार भएको सूचना पाएपछि प्रहरीको टोली अनुसन्धानमा खटिएको थियो । ‘तर अहिलेसम्म ६ लाख रुपैयाँ मात्र बरामद भएको छ । २ करोड रुपैयाँ लुटिएको पीडितको दाबी हो’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने ।

मंगलबार दिउँसो १ बजे आफुहरु प्रहरी हौँ भन्दै उनीहरुले पीडितको घरमा ‘अप्रेसन’ सुरु गरेका थिए । अवैध रकम घरभित्र रहेको भन्दै आफुहरु आएको बताएपछि घरबेटी झस्किएका थिए । ‘घटनाका बेला श्रीमान–श्रीमती र आमा मात्र घरमा रहेको देखिन्छ’, ती अनुसन्धान अधिकारीले भने ।

प्राविधिक अनुसन्धानमा लुटेराले दुईवटै मोटरसाइकलको नम्बर प्लेट छोपेर त्यहाँ आएका थिए । नम्बर प्लेट नबुझिने गरी बाहिरबाट पोतिएको अनुसन्धान अधिकारी बताउँछन् । २ करोड रुपैयाँ लुटिएको दाबीपछि प्रहरीले घरबेटीलाई पनि अनुसन्धानको दायरामा राखेको बुझिएको छ ।

‘२ करोड रुपैयाँ रकम कुन स्रोतको पैसा हो भन्नेतर्फ पनि हामीले बुझिरहेका छौँ’, स्रोत भन्छ । प्रारम्भिक अनुसन्धानमा घरबेटीले विदेशमा मान्छे पठाउने काम गर्ने गरेको पाइएको छ । प्रहरीले फरार रहेका अन्य २ जनाको खोजी गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *