प्रभावमा होइन, आफ्नो स्वभावलाई पछ्याउनुस् – Nepal Press

प्रभावमा होइन, आफ्नो स्वभावलाई पछ्याउनुस्

माध्यमिक शिक्षा परीक्षा (एसईई)पछि के गर्ने, के पढ्ने भनी धेरै भाइबहिनीमा अन्योल र चिन्ता भइरहेको होला ! कसैलाई परिवार, आफन्तहरुको सल्लाह, सुझाव र दबाब पनि होला- यो गर्नुपर्छ, यसमा राम्रो हुन्छ, फलानोको छोराले यस्तो पढे, फलानोकी छोरीले त्यस्तो पढी, तर कमैमात्र भाइबहिनीले त्यो स्वतन्त्रता पाएको होला- तिमीलाई इच्छा लागेको पढ, गर, हामी तिम्रो साथमा छौं भन्ने । त्यो उमेरमा त्यति परिपक्व पनि भएका हुँदैनन् कि जीवनको निर्णय आफैं गर्न सकून् ! कोही अरुको सल्लाह सुझावलाई अँगााल्छन् त कोही अरुको दबाब स्वीकार्छन् । कोही अरुको देखासिकीमा लाग्छन्, जुन कुरा आफ्नो रुचि र क्षमतासँग नमिल्न पनि सक्छन् ।

धेरै भाइबहिनी आफ्नो गलत छनोट र निर्णयका कारण आफ्नो अमूल्य समय खेर फाल्न पुग्छन् । जसको असर ऊ/उनी जे बन्नसक्ने क्षमता राख्थ्यो, त्यो हुन नसक्दा जीवनप्रति नै निराशा उत्पन्न हुनसक्छ । हाम्रो जीवनको यो निकै कठिन मोड हो, जहाँ हाम्रो निर्णयले हाम्रो अगाडिको बाटो तथा भविष्य निर्धारण गरिदिन्छ । त्यसैले आफूले के विषय पढ्ने, कुन बाटो रोज्ने भन्ने कुराको निर्णय लिनुभन्दा पहिले केही कुरामा ध्यान दिनु जरुरी हुन्छ । जस्तैः आफ्नो रुचि, क्षमता, गुण, स्वभाव, आवश्यकता आदि । महान वैज्ञानिक अल्बर्ट आइस्टाइनले भनेका छन्- ‘सबै जना आफ्नो हिसाबले प्रतिभावान छन्, तर माछालाई रुख चढ्न लगाइ उसको क्षमताको मूल्याङ्कन गरियो भने ऊ जीवनभर आफूलाई कमजोर/मूर्ख सोची बिताँउछन् ।’

वास्तवमा हामी सबै जन्मँदा नै कुनै न कुनै प्रतिभा लिएर जन्मेका हुन्छौं । बस त्यसलाई चिन्न सक्नुपर्‍यो र त्यसलाई निखार्न सक्नुपर्‍यो । सन्दीप लामिछाने क्रिकेट नखेलेर कलाकारितामा लागेको भए, राजेश हमाल कलाकार नभएर खेलाडी बन्नतिर लागेको भए, उनीहरु सायदै आजको सफलताको उचाइमा पुग्न सक्थे ! उनीहरुले आफ्नो गुणलाई चिने, आफ्नो रुचिलाई पछ्याए, सीपले निखारे र त सफल पनि भए, तर अधिकांश मानिस अरुको सफलताको नक्कल गर्न खोज्छन् । कमैले मात्र आफ्नो गुण, क्षमता, रुचिलाई बुझ्न खोज्छन् ।

भगवानले हामीलाई यो संसारमा पठाउँदा सबैलाई केही न केही गुण र क्षमता भरेरै पठाएको छ । अमेरिकी मनोविद् होवार्ड गार्डनरले विद्यार्थीमा भएका गुण तथा क्षमतालाई विभिन्न नौ समूहमा विभाजन गरी सोअनुसारको शिक्षा तथा तालिमको लागि सल्लाह दिए, जसले सफल र सुखी जीवन जिउन सकिन्छ ।

शब्द तीक्ष्ण विवेकी (Word Smart) भन्नाले शब्द वा बोल्ने र लेख्ने क्षमता भएको हो । यस्ता व्यक्तिहरु नयाँनयाँ शब्द प्रयोग गर्न, पढ्न, लेख्न मनपराउँछन् । साथै बोल्ने, लेख्ने शैली पनि उच्चस्तरको हुन्छ । यस्ता व्यक्तिहरु भविष्यमा सफल लेखक, शिक्षक, पत्रकार, कवि, वकिल, न्यायाधीश बन्न सक्छन् । बोल्न तथा शब्दसँग रमाउन सक्नेहरुका लागि मानविकी र शिक्षाशास्त्र संकाय उपयुक्त हुन्छ ।

हामी सबै जन्मँदा नै कुनै न कुनै प्रतिभा लिएर जन्मेका हुन्छौं । बस त्यसलाई चिन्न सक्नुपर्‍यो र त्यसलाई निखार्न सक्नुपर्‍यो । सन्दीप लामिछाने क्रिकेट नखेलेर कलाकारितामा लागेको भए, राजेश हमाल कलाकार नभएर खेलाडी बन्नतिर लागेको भए, उनीहरु सायदै आजको सफलताको उचाइमा पुग्न सक्थे !

संख्या-तर्क तीक्ष्ण विवेकी -Number-Reasoning Smart) भन्नाले गणितीय बुद्धि, तार्किक तथा समस्याको विश्लेषण गर्नसक्ने क्षमता भएको हो । यस्ता व्यक्तिहरु अंक तथा जटिल डाटाहरुलाई राम्रोसँग बुझ्न सक्ने, तर्कसंगत कुरा गर्नसक्ने, कुनै पनि घटनाको कारण र सम्बन्ध बुझ्न सक्ने, रणनीतिक खेलहरुमा दक्ष हुन्छन् । यस्ता व्यक्तिहरु भविष्यमा सफल वैज्ञानिक, व्यापारी, बैंकर, शोधकर्ता, सैन्य अधिकारी, कम्प्युटर प्रोग्रामर, एकाउन्टेन्ट बन्न सक्छन्, जसका लागि गणित, विज्ञान तथा कम्प्युटर विज्ञान विषय राम्रो हुन्छ ।

चित्र तीक्ष्ण विवेकी (Picture Smart) भन्नाले ठाउँ, दूरी र मापनबारेको उच्च दक्षता हो । यस्ता व्यक्तिहरु चित्र कोर्न, रङ्ग भर्न मन पराउँछन् । साथै अधिक कल्पनाशील हुन्छन् । यस्ता व्यक्तिहरु भविष्यमा सफल चित्रकार, कला निर्देशक, फेशन डिजाइनर, आर्किटेक्चर, ग्राफिक डिजाइनर, फोटोग्राफर, सर्वेयर बन्न सक्छन् । ललितकला, इन्जिनियरिङ, सर्वे इन्जिनियरिङ, फेसन डिजाइनिङ पढ्नु राम्रो हुन्छ ।

आवाज तीक्ष्ण विवेकी (Sound Smart) भन्नाले ताल, आवाज र लयप्रति लगाव राख्ने तथा जहिल्यै गुनगुनाइरहने व्यक्तिहरु गायक, संगीतकार, ध्वनि इन्जिनियर, डीजे बन्न सक्छन् । त्यस्ता व्यक्तिहरुले संगीत विषय रोज्न सक्छन् ।

शरीर तीक्ष्ण विवेकी (Body Smart) भन्नाले शारीरिक दक्षता हो । यस्ता व्यक्तिहरु शारीरिक रुपमा आकर्षक, बलियो र फुर्तिला हुन्छन्, शरीरमा लचकता राम्रो हुनुका साथै शारीरिक अंगबीच पनि राम्रो समन्वय कायम गर्न सक्ने हुन्छन् । उनीहरु भविष्यमा सफल डान्सर, कलाकार, खेलाडी, फिजियोथेरापिस्ट, जीव वैज्ञानिक बन्न सक्छन् ।

प्रकृति तीक्ष्ण विवेकी (Nature Smart) भन्नाले प्रकृतिप्रति संवेदनशील यस्ता व्यक्तिहरु प्रकृतिसँग नजिक हुन रमाउँछन् । वातावरण प्रदूषणबारे चिन्तित हुने तथा चासो राख्ने हुन्छन् । यस्ता स्वभावका व्यक्तिहरु भविष्यमा सफल वातावरणविद्, पशु चिकित्सक, कृषिविज्ञ, रेन्जर, भू-वैज्ञानिक बन्न सक्छन् । वातावरण विज्ञान, पशु विज्ञान, कृषि विज्ञान, वन विज्ञान जस्ता विषय पढ्नु उनीहरुका लागि फलदायी हुन्छन् ।

कुनै पनि विषय तथा पेशालाई छनोट गर्दा आफ्नो गुण तथा स्वभाव र क्षमतामात्र नभई आफ्नो रुचि र आवश्यकतालाई पनि ध्यान दिनु जरुरी हुन्छ । यसरी जुन कुरामा आफ्नो क्षमता, रुचि र आवश्यकता जोडिएको छ, त्यो आफ्नो खुशी वा जोस हो ।

मानव तीक्ष्ण विवेकी (People Smart) भन्नाले मानिसलाई चिन्न सक्ने, घुलमिल हुन, वार्तालाप र अन्तरक्रियामा रमाउने स्वभावका यस्ता व्यक्तिहरु अरुको भावना तथा व्यवहारलाई सजिलै बुझ्न सक्ने क्षमता राख्छन् । यस्ता स्वभावका व्यक्तिहरु भविष्यमा सफल रेडियो तथा टेलिभिजन प्रस्तोता, कार्यक्रम सञ्चालक, राजनीतिज्ञ, सामाजिक कार्यकर्ता, शिक्षक, रिसेप्सनिस्ट, सेल्स ब्याइ/गर्ल, मनोवैज्ञानिक, प्रबन्धक, मध्यस्थकर्ता बन्न सक्छन् ।

स्व तीक्ष्ण विवेकी (Self Smart) अन्तरमुखी स्वभावका यस्ता व्यक्तिहरु एक्लै काम गर्नमा आनन्दित हुने, आफ्ना भावना, प्रेरणा तथा लक्ष्यप्रति चिन्तित हुने, विषय परिस्थितिको आफैं विश्लेषण र निष्कर्ष निकाल्ने हुन्छन् । उनीहरु धर्म तथा दर्शनशास्त्र, मनोविज्ञानमा रुचि राख्ने हुन्छन् । यस्ता स्वभावका व्यक्तिहरु भविष्यमा लेखक, वैज्ञानिक, दर्शनशास्त्री, दार्शनिक, उद्यमी बन्न सक्छन् ।

जीवन तीक्ष्ण विवेकी (Life Smart) जीवन र जगतको अस्तित्वप्रति उत्सुक यस्ता व्यक्तिहरु आफू यस संसारमा आउनुको उद्देश्य तथा जीवनको अर्थ खोज्ने स्वभावका हुन्छन् । यस्ता स्वभावका व्यक्तिहरु भविष्यमा सन्न्यासी, धर्म गुरु, दार्शनिक बन्न सक्छन् ।

कुनै पनि विषय तथा पेशालाई छनोट गर्दा आफ्नो गुण तथा स्वभाव र क्षमतामात्र नभई आफ्नो रुचि र आवश्यकतालाई पनि ध्यान दिनु जरुरी हुन्छ । यसरी जुन कुरामा आफ्नो क्षमता, रुचि र आवश्यकता जोडिएको छ, त्यो आफ्नो खुशी वा जोस हो । सफलता तबमात्र सम्भव हुन्छ, जहाँ हामी खुशी हुन्छौं, तर हामी यो भ्रममा छौं कि सफल भएपछि खुशी मिल्छ । एप्पलका संस्थापक स्टिभ जब्सले भनेका छन्- ‘तिमी त्यही गर, जसमा तिमी खुशी छौ कि जे गर्छौ त्यसमा खुशी हौ ।’

नेपाली फिल्म क्षेत्रमा महानायकको उपमा पाएका अभिनेता राजेश हमाल एक अन्तर्वार्तामा सुनाँउदै हुनुहुन्थ्यो- उहाँको बुवालाई छोरो फिल्मी क्षेत्रमा लागेको मन परेको थिएन, जसले गर्दा बोलचाल पनि बन्द भयो । यसरी नै बुवाले यो संसार छोड्नुभयो । यसो भनिरहँदा उहाँका आँखा रसाइरहेका थिए र उहाँले आफ्नो बुवाको भनाइलाई जोड्नुभएको थियो- ‘तिमी जे गर, त्यसमा शत प्रतिशत देउ, फल पक्कै मिल्छ ।’ आज बुवाले मेरो अवस्था देख्न पाउनुभएको भए पक्कै खुशी हुनुहुन्थ्यो होला ।’

कुनै पनि कुरामा सफल हुन योग्यता र योजनाले मात्र पुग्दैन । त्यसमा आफ्नो खुशी पनि जोडिनु जरुरी हुन्छ । यही खुशीले मात्र निरन्तरको प्रयास र लगनशीलताको गुण विकास हुन्छ । सफलता भनेको निरन्तरताको प्रक्रिया हो, गन्तव्य होइन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *