ईङ्ग्ल्यान्ड र साउथ अफ्रिकाले काटे सेमिफाइनलको टिकट, वेस्ट इन्डिज छुट्यो – Nepal Press

ईङ्ग्ल्यान्ड र साउथ अफ्रिकाले काटे सेमिफाइनलको टिकट, वेस्ट इन्डिज छुट्यो

‘भाग्यमानी’ साउथ अफ्रिकाको वेस्ट इन्डिजविरुद्ध सकसपूर्ण जित

काठमाडौं । टी २० विश्वकपको सेमिफाइनलमा ईङ्ग्ल्यान्ड र साउथ अफ्रिकाले आफ्नो स्थान निश्चित गरेका छन् । दोस्रो समूहबाट शीर्ष दुईमा रहँदै यी दुई टिम सेमिफाइनलमा प्रवेश गर्दा आयोजक राष्ट्र वेस्ट इन्डिज भने बाहिरिएको छ ।

आज भएको खेलमा ईंग्ल्यान्डले अमेरिकामाथि र साउथ अफ्रिकाले वेस्ट इन्डिजलाई हराउँदै शीर्ष दुईमा रहन सफल भएका हुन् । यससँगै समूह २ का सबै खेलहरू सकिएका छन् ।

समूह चरणको खड्गो मुस्किलले काटेको ईङ्ग्ल्यान्ड सेमिफाइनलमा स्थान बनाउने पहिलो टीम बन्यो । अर्कोतर्फ हरेक खेलहरूमा हारको मुखबाट बालबाल जोगिएको साउथ अफ्रिका पनि भाग्यमानी बनेको छ ।

हिजो राति भएको खेलमा ईंग्ल्यान्डले आयोजक राष्ट्र अमेरिकामाथि १० विकेटको शानदार जित हासिल गरेको हो । अमेरिकाले दिएको ११६ रनको मामूली लक्ष्य ईंग्ल्यान्डले ९.४ ओभरमै भेट्टाएको थियो । ईंग्ल्यान्डका कप्तान जोस बटलरले विष्फोटक ब्याटिङ गर्दै ३८ बलमा ८३ रन बनाएपछि अमेरिकाले पानी पनि भन्न पाएन ।

आज बिहान भएको अर्को खेलमा साउथ अफ्रिकाले वेस्ट इन्डिजमाथि सकसपूर्ण जित हासिल गर्यो । यसअघि हरेक खेलमा भाग्यशाली रहँदै झिनो जितका साथ अगाडि बढेको साउथ अफ्रिका आज पनि भाग्यमानी ठहरिएको हो ।

वेस्ट इन्डिजले पहिले ब्याटिङ गर्दै ८ विकेट क्षतिमा १३५ रन जोडेको थियो । आज निकोलस पुरण नचल्दा वेस्ट इन्डिज ठूलो स्कोर बनाउन चुक्यो । १७ ओभरमा १२३ रनको परिमार्जित लक्ष्य पाएको साउथ अफ्रिका संघर्ष गर्दै लक्ष्यसम्म पुगेको हो । अन्तिम ओभरको पहिलो बलमा म्याक्रो जेसनले छक्का हान्दै साउथ अफ्रिकालाई सेमिफाइनलमा पुर्‍याए ।

अब समूह १ को खेल आज साँझ अष्ट्रेलिया र भारतबीच हुँदैछ । आज हारेमा अष्ट्रेलिया प्रतियोगिताबाट बाहिरिन सक्ने खतरा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *