मुख्यसचिव अर्यालको सरूवाबारे सरकारले भन्यो- मुद्दा दायर हुँदैमा दोषी प्रमाणित हुँदैन (भिडिओ)
काठमाडौं । सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले कसैविरूद्व मुद्दा लाग्दैमा दोषी प्रमाणित नहुने जिकिर गरेकी छन् । निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गरेपछि उनले आरोप लाग्दैमा दोषी प्रमाणित नहुने बताइन् ।
मन्त्रिपरिषद्को बैठकपछि उनले सञ्चारकर्मीसँग भने, ‘कसैलाई मुद्दा दायर हुँदैमा दोषी प्रमाणित हुँदैन । मुद्दा अवधिभर उहाँको पद स्वतः निलम्बनमा हुन्छ । त्यो पद रिक्त भएको अवस्था होइन । एकातिर उहाँ निलम्बनको अवस्थामा हुनुहुन्छ । अर्कोतिर पद रिक्त भएको छैन । त्यसैले कायम मुकायम गर्न वा रिकन्फर्म गर्न र अरू कुनै गर्नलाई पनि बाटो नखुल्ने भएको कारणले विशेष पद सिर्जना गरिएको हो ।’
उनले अर्यालको कार्यअवधिभर विशेष पद रहने उल्लेखै गर्दै अवधि सकिएपछि स्वतः हट्ने बताइन् ।
निलम्बित मुख्य सचिव अर्यालले राजीनामा नदिएपछि उनलाई विशेष पद सिर्जना गरेर आजै बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगमा सरुवा गरेको थियो ।