टी-२० विश्वकपपछि के खेल्दैछ नेपाल ? क्यान उपाध्यक्ष भन्छन्- टेस्ट राष्ट्रसँग निरन्तर पहल गर्दैछौं – Nepal Press

टी-२० विश्वकपपछि के खेल्दैछ नेपाल ? क्यान उपाध्यक्ष भन्छन्- टेस्ट राष्ट्रसँग निरन्तर पहल गर्दैछौं

अफगानिस्तान नेपाललाई भ्रमणमा निम्त्याउन इच्छुक, तर सुरक्षा संवेदनशीलताले क्यान हच्कियो

काठमाडौं । टी-२० विश्वकप खेलेर नेपाली टीम स्वदेश फर्किसकेको छ । विश्वकपमा तीन वटै खेलमा हार व्यहोरे पनि नेपालले बलिया टेस्ट टीमहरुलाई टक्कर दिन सफल भएको थियो ।

क्रिकेट समर्थकहरुलाई चासो छ कि अब नेपालले टेस्ट टीमहरुविरुद्ध फेरि कहिले खेल्न पाउँछ ? अहिलेसम्म त्यस्तो कुनै चाँजोपाँजो मिलेको छैन । नेपाल एसिया कपमा छनोट भएको भए आगामी वर्ष दक्षिण एसियाली टेस्ट राष्ट्रहरुसँग खेल्न पाउँथ्यो । तर, गत वैशाखमा ओमानमा आयोजित एसीसी प्रिमियर कपको सेमिफाइनलमा पराजित भएपछि त्यो सम्भावना समाप्त भयो ।

नेपाल क्रिकेट संघ (क्यान)ले टेस्ट राष्ट्रहरुसँग द्वीपक्षीय प्रतिस्पर्धाका लागि पनि प्रयास गरिरहेको छ । यदि मुख्य टीम उपलब्ध नभएको खण्डमा टेस्ट राष्ट्रका ‘ए’ टीमसँग पनि खेलाउने क्यानको सोच छ । यसअघि आयरल्यान्डको ‘ए’ टीम र वेस्ट इन्डिजको ‘ए’ टीमले नेपाल आएर खेलिसकेका छन् । विश्वकपमा नेपालको सहभागितापछि टेस्ट राष्ट्रहरुले चिन्न थालेकाले आगामी दिनमा उनीहरुसँग प्रतियोगिताको वातावरण सहज बन्नसक्ने क्यानको विश्वास छ ।

नेपालका लागि मुख्य चुनौती भनेको रंगशाला हो । नेपालमा एउटा पनि अन्तर्राष्ट्रिय स्तरको रंगशाला नभएकाले राम्रा टीमहरु ल्याउन कठिन हुने क्यानको बुझाइ छ । नेपालसँग अन्तर्राष्ट्रिय म्याचका लागि दुई वटामात्र मैदान छन् । त्यसमा पनि त्रिवि मैदानमा अहिले सुधारका कामहरु भइरहेकाले त्यहाँ केही समय खेल हुनेछैन ।

नेपालको फ्यान फलोइङले धेरै देशहरु लोभिएका छन् । देशको प्राकृतिक सौन्दर्य र फ्यान फलोइङको बलमा विदेशी टीमहरुलाई भ्रमणमा तान्न सकिने भनेर क्यानका पदाधिकारी लागिपरेका छन् ।

स्रोतका अनुसार दक्षिण एसियाली राष्ट्र अफगानिस्तान नेपाली राष्ट्रिय टीमलाई भ्रमणमा निम्त्याउन इच्छुक छ । विश्वकपभन्दा पहिलेदेखि नै अफगानिस्तान बोर्डले यसका लागि प्रस्ताव पठाएको स्रोत बताउँछ । तर, त्यहाँको सुरक्षा संवेदनशीलताका कारणले क्यानले निर्णय लिन सकेको छैन ।

अब दुई महिनासम्म नेपालको अन्तर्राष्ट्रिय प्रतियोगिता छैन । नेपालले अब सेप्टेम्बरमा हुने लिग- २ को लागि तयारी गर्नेछ । नेपालका लागि सबैभन्दा महत्वपूर्ण प्रतियोगिता यही नै हो । क्यानडा र ओमानसँग नेपालले दुई-दुई वटा खेल क्यानाडामा खेल्नेछ । त्यस प्रतियोगितापूर्व तीन वटै टीमले तयारीका रुपमा टी-२० म्याचहरु पनि खेल्नेछ ।

क्यानको क्यालेन्डरअनुसार सेप्टेम्बरमा नै नेपालले क्यानाडासँग दुई म्याचको ओडीआई सिरिज खेल्नेछ । त्यसपछि अक्टोबरमा नेपाल, अमेरिका र स्कटल्यान्डबीच त्रिकोणात्मक टी-२० प्रतियोगिता आयोजना हुनेछ ।

नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंह नेपालले टेस्ट टीमहरुसँग निरन्तर प्रयास गरिरहेको बताउँछन् । सिंहका अनुसार चतुरबहादुर चन्दको अघिल्लो कार्यकालको बेला श्रीलंका, बंगलादेश र अफगानिस्तानसँग प्रस्ताव गरिएको थियो ।

‘म र चतुर दाइसँगै भएर कुराकानी गरेका थियौं । उहाँहरुले सकारात्मक जवाफ दिनुभएको हो । नेपाल आउन तयार छौं, तर २०२४ सम्म प्याक छौं भन्नुभएको थियो । मलाई लाग्दैन कि अब श्रीलंका, अफगानिस्तानलाई यहाँ बोलाउन गाह्रो हुन्छ । अध्यक्षज्यू आफैंले समय दिनुभयो भने टेस्ट टीमहरु ल्याउन सकिन्छ’, उनले भने ।

एसीसी र आईसीसीको प्रोग्राम ल्याउन फ्लड लाइट एकदमै महत्वपूर्ण भएको उनी बताउँछन् ।

‘हिजो भर्खरै मेरो एसीसीका मान्छेहरुसँग कुराकानी भएको थियो । हालखबर सुरु हुनु अगाडि नै उनीहरुले सोधे कि तिमीहरुकोमा फ्लड लाइट के भइरहेको छ भनेर । यसबाट नै थाहा हुन्छ कि फ्लडलाइट कति महत्वपूर्ण छ । हाम्रो लागि फ्लड लाइट जडान गर्ने कुरा पनि वीरवलको खिचडी जस्तो भयो’, उनले भने ।

फ्लडलाइट जडान गर्न कुनै टेन्डर प्रक्रिया नगरिकन नेपाली सेनालाई दिनुपर्ने उनको सुझाव छ ।

उनले थपे, ‘फ्लड लाइट जडान भएको एक वर्षभित्र एसीसीले प्रोग्राम दिन्छ । नत्र एसीसी र आईसीसीको प्रोग्राम ल्याउन नेपाललाई गाह्रो छ । फ्लड लाइट भयो भने रंगशाला नभए पनि टीमहरु ल्याउन सकिन्छ ।’

उपाध्यक्ष सिंह छिमेकी राष्ट्र भारतको क्रिकेट बोर्ड, एसीसी र आईसीसीबाट नेपालले सहयोग लिन सक्नुपर्ने बताउँछन् । यसका लागि सरकारले समेत कूटनीतिक पहल गर्नुपर्ने उनको भनाइ छ ।

सिंहले भने, ‘जस्तो कि अफगानिस्तानमा लामो समयदेखि द्वन्द्वका कारण खेल्ने माहोल थिएन । भारत सरकारले अफगानी टीमलाई नोइडामा खेल्न अवसर दिएको थियो । हामीलाई पनि भारत सरकारको सहयोग आवश्यक छ । यसका लागि नेपाल सरकारबाट पहल हुनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर