अवकाशको मुखैमा डीआईजी पोखरेलकाे बढुवा, एआईजीको फुली लगाएकाे ३६ घन्टामै बिदा हुने – Nepal Press

अवकाशको मुखैमा डीआईजी पोखरेलकाे बढुवा, एआईजीको फुली लगाएकाे ३६ घन्टामै बिदा हुने

काठमाडौं । सरकारले नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी)को एक दरबन्दी रिक्त हुनुभन्दा ८ दिनअघि सोमबार बढुवाका लागि सिफारिस गर्‍यो ।

डीआईजी पोषराज पोखरेलको हतारमा गरिएको यो बढुवा सिफारिस अर्थपूर्ण छ । पोखरेल असार २० गते रातिबाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि एआईजी उमेशराज जोशीले असार १८ गते रातिबाट अवकाश पाउनेछन् । जोशीले नै अवकाश पाउने भएकाले सरकारले पोखरेललाई अगाडि सारेको हो ।

सोमबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, गृह सचिव एकनारायण अर्यालसहितको टोली युनाइटेड नेसन्स चिफ्स अफ पुलिस समिट (यूएनकप्स)मा सहभागी हुन अमेरिका गएको छ । उक्त समिट असार १३ गतेसम्म हुनेछ । गृह सचिव नेतृत्वको बढुवा समितिले एआईजी बढुवाको सिफारिस गर्छ। आईजीपी बढुवा समितिको सदस्यसचिव रहन्छन् ।

बढुवा सिफारिसविरुद्ध उजुरी गर्न एक साताको समय चाहिने भएकाले पोखरेललाई चाँडै सिफारिस गरिएको बताइन्छ । असार १४ पछि पोखरेलको बढुवा सिफारिस हुन सक्दैन थियो । पोखरेलले एआईजीको फुली लगाएको बढीमा करिब ३६ घण्टामै ५६ वर्षे उमेर हदका कारण अवकाश पाउनेछन् । नेपाल प्रहरीमा एआईजी र डीआईजीको उमेर हद ५६ वर्ष तोकिएको छ । डीआईजी राजपत्रांकित प्रथम श्रेणी र एआईजी राजपत्रांकित विशिष्ट श्रेणी दर्जा हुन् ।

पोखरेल हालका आईजीपी वसन्त कुँवरका भर्ना ब्याची हुन् । कुँवर, पोखरेलसहित १७ जना एसएसपी २०७९ असार ८ गते डीआईजीमा बढुवाका लागि सिफारिस भएका थिए । त्यतिबेला पोखरेल १३औं नम्बरमा थिए । उक्त सूचीबाट कुँवर आईजीपी र अन्य १० जना एआईजी भइसकेका छन् । जन्म मिति विवादपछि अशोक सिंहले भने डीआईजीबाट राजीनामा दिएका थिए । उक्त सूचीबाट पोखरेलका लागि भनेर एआईजी बढुवामा पहिलो पटक वरियता मिचिएको छ।

१२औं नम्बरमा रहेका रामदत्त जोशीभन्दा पहिला पोखरेललाई बढुवाका लागि सिफारिस गरिएको छ । २०७९ फागुनमा कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई वरियता नमिची एआईजीमा बढुवा गरिएको थियो । त्यसको एक महिनापछि सन्दीप भण्डारी, सुदपि गिरी, मीरा चौधरी र टेकप्रसाद तामाङलाई एआईजीमा बढुवा गरिएको थियो ।

गत बैशाखमा उमेशराज जोशी र भीमप्रसाद ढकाल एआईजीमा बढुवा भएका थिए । उक्त सूचीमा रहेका अन्यमा रामदत्त जोशी, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा डीआईजी नै छन् । एआईजी रहेका ज्ञवालीले भदौ र बज्राचार्यले आगामी कात्तिकमा उमेर हदका कारण अवकाश पाउँदैछन् ।

यसअघि २०७९ जेठमा वसन्त लामालाई ३६ घण्टाका लागि एआईजी बनाइएको थियो । जेठ ८ गते रातिबाट अवकाशमा जान लागेका लामालाई त्यसको अघिल्लो दिन एआईजीको फुली लगाइएको थियो । जेठ ६ गतेमात्र उनलाई एआईजीमा बढुवा गर्ने निर्णय भएको थियो । एआईजीमा ५ वटा दरबन्दी खाली हुँदाहुँदै लामामात्र बढुवाका लागि सिफारिस भएका थिए ।

त्यसपछि अवकाशको मुखमा रहेका तत्कालीन एसएसपी विकासराज खनाललाई पनि सरकारले यस्तै तरिकाले गुण लगाएको थियो। खनाललाई बढुवा गर्न सरकारले अस्वाभाविक सक्रियता देखाएको थियो । सरकारले खनालसहित १३ जना एसएसपीलाई २०८० बैशाखको अन्तिम साता बढुवाका लागि सिफारिस गरेको थियो ।

उजुरीका लागि तोकिएको ७ दिनको समय २०७९ जेठ ५ गते सकिँदै थियो । उजुरी पनि पर्‍यो । तर, भोलिपल्टै उजुरीबारे टुंगो लगाएर सरकारले बढुवा गर्‍यो । यदि त्यस दिन बढुवा नगरेको भए मध्यरातबाट एसएसपीको ५५ वर्षे उमेर हदका कारण अवकाश पाउने थिए । डीआईजीको फुली लगाएर सेवा अवधि लम्ब्याउन सफल भएका खनाल पछि लुम्बिनी प्रदेशको प्रमुख नै बनेका थिए ।

नेपाल प्रहरीमा विगतमा बढुवा समयमा नभएको र बढुवा गर्दा वरीयता र वरिष्ठताक्रम मिचिएको भनेर बारम्बार विवाद आएको थियो । आफ्नालाई आईजीपी बनाउन दरबन्दी थप गर्नेदेखि १७ महिना जुनियर एआईजीलाई आईजीपी बनाएकोसम्मका कारण प्रहरीमा सरकारको हस्तक्षेप छरप्रष्ट हुँदै आएको छ ।

हालसालै मात्र सरकारले वरीयतामा समेत अगाडि रहेको एउटा सिंगो ब्याचलाई पछाडि पारेर डीआईजीमा बढुवा गरेको थियो । दरबन्दी खाली हुँदाहुँदै पनि बढुवा नगरेर अवकाशमा पुगेका र अदालतमा मुद्दा परेका घटना पनि छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *