सांसदहरूको स्त्रीद्वेषी अभिव्यक्तिप्रति महिलामन्त्री चौधरीको आपत्ति, आत्मालोचना गर्न आग्रह
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले विनियोजन विधेयकको छलफलका क्रममा केही सांसदले संसद्मा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् । मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले केही सांसदहरूको स्त्रीद्वेषी अभिव्यक्तिप्रति आपत्ति जनाएकी हुन् ।
‘गत ज्येष्ठ ३१ गते सदनमा संशोधन गर्ने क्रममा केही माननीय ज्यूहरूले महिलाहरू असक्षम र सङ्कीर्ण सोच भएका हुन्छन् । सम्भवतः पुरुष मन्त्री भएको भए यो अवस्था हुँदैनथ्यो भन्ने गरी दिएको अभिव्यक्ति तथा वैवाहिक बलात्कार जस्तो जघन्य अपराधका बारेमा बोल्दै गर्दा महिलाहरूलाई कसैको रहर पुरा गर्न मनोरञ्जनको साधन तथा उपभोग्य बस्तुको रूपमा मात्र चित्रण गरिने गरी दिएको अभिव्यक्तिले सम्पूर्ण महिलाको आत्मसम्मान र मर्यादालाई अवमूल्यन गरेको छ’, मन्त्री चौधरीले बताइन् ।
सम्बन्धित मन्त्रालयगत छलफलमा भाग लिने क्रममा नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसी र स्वतन्त्र सांसद योगेन्द्र मण्डलले महिलालाई लक्षित गरी अमर्यादित अभिव्यक्ति दिएका थिए ।
सांसदबाटै यस्तो खाले अभिव्यक्तिले आम महिलाको आत्मसम्मानमा चोट पुगेको भन्दै उक्त अभिव्यक्तिप्रति आत्मा आलोचित हुन उनले सम्बन्धित सांसदलाई आग्रह गरेकी छन् ।
चौधरीले मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका र यौनिक अल्पसंख्यक, लैंगिक अल्पसंख्यक, अन्तर्राष्ट्रिय गैरसकारी संघसंस्था परिचालन र नियमनसम्बन्धी सबै क्षेत्र समेट्ने गरी बजेट ल्याएको बताइन् ।
महिला सशक्तिकरण एवं अपांगता भएका व्यक्तिहरुका लागि विभिन्न लक्षित कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले प्राथमिकताका साथ बजेट विनियोजन भएको उनो दाबी छ । वित्तीय हस्तान्तरण गरिएका कार्यक्रम कार्यान्वयनका लागि प्राथमिकतामा कार्यान्वयन गर्न स्थानीय र प्रदेश तहको समन्वय प्रणाली विकास गर्नुपर्ने अवस्था रहेको मन्त्री चौधरीले बताइन् ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम परियोजनाअन्तर्गत दुर्गम क्षेत्र, गर्भवती तथा सुत्केरी महिला हवाई उद्धार गर्ने कार्यक्रमले सकारात्मक परिणाम दिएको भन्दै उनले प्रधानमन्त्री छोरी आत्मनिर्भरता कार्यक्रम आगामी आर्थिक वर्षमा अपेक्षाकृत बजेट विनियोजन प्रस्ताव नभएपनि आगामी आर्थिक वर्षमा बजेट विनियोजन हुने आशा राखेको बताइन् ।
मन्त्री चौधरीले कार्यक्रम कार्यान्वयन, प्रभावकारिता, अनुगमन, सहजकर्ता समेतका लागि मन्त्रालयको उद्देश्य प्राप्तिका लागि बजेट निश्चित स्थानमा विनियोजन गरेको दाबी गरिन् ।