बालेनप्रति लक्षित गर्दै वडाध्यक्ष चीनकाजीले भने- फरक मतलाई दबाउन खोज्ने प्रवृत्ति मुर्दावाद (भिडिओ)
काठमाडौं । काठमाडौं महानगरपालिका २२ नम्बर वडाका वडाध्यक्ष चीनकाजी महर्जनले आफ्नो ‘फ्रिडम अफ स्पिच’ लाई दबाउन खोजिएको गुनासो गरेका छन् । काठमाडौं महानगरको जारी १५औं नगरसभा बैठकमा मेयर बालेन शाहलाई लक्षित गर्दै उनले यस्तो गुनासो गरेका हुन् ।
वडाध्यक्ष महर्जन केही दिनअघि न्यूरोडको सडक भत्काउने मेयर बालेन्द्र शाहको योजनाको विरोध गरेर चर्चामा आएका थिए । त्यसयता उनी बालेनका समर्थकहरूको निरन्तर निशानामा पर्दै आएका छन् । आजको बैठकमा बोल्दै उनले फरक मतलाई सम्मान गर्न आग्रह गरे ।
उनको भनाइ यस्तो थियोः
म राजनीतिमा आउनुका पछाडि एउटा प्रेरक प्रसंग छ । २०४२ सालमा नेवारी नयाँ वर्षको स्वागत गर्न निकालिएको एउटा जुलुसमा सहभागी भएको थिएँ । त्यसबेला मैले प्रहरीको लाठी खाएँ । यही माटोमा हुर्केको, एउटा संस्कृति र भाषामा नयाँ वर्षको शुभकामना दिँदा लाठी खाइन्छ भने यो व्यवस्था राम्रो होइन भन्ने मलाई लाग्यो । त्यो व्यवस्था किन राम्रो लागेन भने ‘फ्रिडम अफ स्पिच’ थिएन । बोल्न र विरोध गर्न पाइँदैनथ्यो । त्यो व्यवस्थाको विरोध गर्दागर्दै आज यहाँसम्म आएँ ।
तर, अझै पनि विरोधका आवाजहरू दबाइन्छ, विरोध सुन्न तयार छैनन्, फरक मत र विमति राख्नेलाई दवाउन खोजिन्छ भने जिन्दाबाद होइन, मुर्दाबाद भन्न चाहन्छु । ती विरोधका आवाज सुन्न नचाहने सबै मुर्दाबाद । फरक मतलाई सम्मान गर्ने, विमतिसँग सहकार्य गर्ने मेरिट अफ डेमोक्रेसीको अभ्यास अहिले हाम्रो संस्थामा वेवास्ता भएको छ । प्रमुखज्यूलाई भन्न चाहन्छु, फरक मत र विमतिका कुरा राम्रा पनि हुन सक्छन् भन्ने मनमा राखेर अगाडि बढ्दा राम्रो हुन्छ । एक्लै होइन, सहकार्यमा हिडौं । १ र १ दुई होइन ११ हुनेगरी काम गरौं ।
हिजो छलफल र संवाद गरेर साझा कुरा एकैजनाले बोल्ने परम्परा थियो । त्यो परम्परालाई निरन्तरता दिइरहँदा साथीहरुलाई आक्षेप लगाइयो । मेरा अग्रजलाई आक्षेप लगाइयो । त्यो गलत थियो । यस्तो नदाहोरियोस् भन्न चाहन्छु । म फ्रिडम अफ स्पिचलाई माया गर्ने मान्छे । मेरा कुरा अरु केही साथीभन्दा फरक र विपरीत हुन सक्छ । तर, यो मेरो अधिकार हो । फरक विचारलाई नदबाइयोस् ।