गैँडाको खाग किनबेच अभियोगमा ९ जनाविरुद्ध मुद्दा, एकजना यसअघि नै परेका थिए जेल – Nepal Press

गैँडाको खाग किनबेच अभियोगमा ९ जनाविरुद्ध मुद्दा, एकजना यसअघि नै परेका थिए जेल

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराले संरक्षित वन्यजन्तु एकसिङे गैँडाको खाग खरिदबिक्री गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । निजहरुविरुद्ध आज चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो ।

कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाएअनुसार मुद्दा दायर गरिएकाहरूमा भरतपुर महानगरपालिका-२८ का ४० वर्षीय सन्तबहादुर कुमाल, राप्ती नगरपालिका-३ सुन्दर बस्ती बस्ने ३३ वर्षीय बालकुमार राई, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बर्दघाट नगरपालिका-८ भानुनगर बस्ने ३५ वर्षीय देवबहादुर परीयार, रुपन्देहीको बुटवल उपमहानगरपालिका-७ कालिका टोल बस्ने ३८ वर्षीय धनबहादुर बानियाँ, बुटवल-११ आनन्द पथ बस्ने ५१ वर्षीय कृष्णराज पाण्डे क्षेत्री छन् ।

बाग्लुङको जैमिनी नगरपालिका-७ बस्ने २८ वर्षीय कमल राना, सोही नगरपालिका-१० को राडखानी बस्ने ३८ वर्षीय नगेन्द्र थापा, वडा नम्बर ९ बस्ने ३६ वर्षीय खड्कबहादुर थापा, स्याङजाको निरकोट नगरपालिका-९ घर भई हाल बुटवल-४ बस्ने ४७ वर्षीय कुलबहादुर बुढाथोकीलाई पनि प्रतिवादी बनाइएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

उनका अनुसार गत वैशाख २८ गते भरतपुर-९ क्षेत्रमा एकसिङे गैँडाको खाग खरिदबिक्री भइरहेको भन्ने सूचनाका आधारमा खानतलासी गर्दा उनीहरू पक्राउ परेका थिए । सो क्रममा मुद्दा दायर भएकामध्ये सन्तबहादुर कुमाललाई खानतलासी गर्दा निजका साथबाट खाग भेटिएको थियो ।

तिवारीका अनुसार प्रतिवादीहरुमध्ये सन्तबहादुर भन्ने पङ्कज कुमालले यसभन्दा पहिला पनि गैँडालाई गोली हानी घाइते बनाएको अभियोगमा ८ वर्ष कैद सजाय पाइसकेका छन् । निजले ५० हजार जरिवाना तिरेर ६ वर्षअघि छुटेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *