मापदण्ड बनाएपछि राजदूतका लागि रास्वपाले गर्यो आवेदन खुला
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजदूतको लागि आवेदन खुला गरेको छ । पार्टीले तयार पारेको राजदुत सिफारिस मापदण्ड २०८१ अनुसार असार १४ भित्र इच्छा हुने व्यक्तिहरुले फर्म भर्न सकिने जनाएको छ ।
नेपालको प्रतिनिधित्व गर्दै मित्रराष्ट्र एवं संयुक्त राष्ट्र संघलगायत अन्य अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संघ संगठनहरूमा नेपालको कूटनीतिक जिम्मेवारी निर्वाह गर्न राजदुत, स्थायी प्रतिनिधि, वा विशेष प्रतिनिधि नियुक्ति गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हुनसक्ने सिफारिस वा समन्वयका लागि रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालको संयोजकत्वमा सोविता गौतम र प्रा.डा. अतिन्द्र दाहाल सदस्य रहेको कार्यदलले मापदण्ड बनाएको रास्वपाले उल्लेख गरेका छ ।
रास्वपाले राजदूतको लागि आवेदन माग गर्दै भनेको छ, ‘यस मापदण्ड अनुसार असार १४, २०८१ सम्म दिएको लिङ्कमा आवेदन फारम भरी आफ्नो इच्छा जाहेर गर्न वा उपयुक्त व्यक्ति सिफारिस गर्नुहुन अनुरोध छ । आवेदन अनुसार आगामी दिनका लागी पनि रोष्टर तयार पारिनेछ ।’
सत्ता गठबन्धनमा आबद्ध रास्वपाले दुई देशको राजदूत आफ्नो भागमा पाउँदैछ । एमाले, जसपा, माओवादीले आफ्नो मागमा परेको राजदूतमा भने नियुक्ति गरिसकेको छ ।