नीति तथा कार्यक्रम संशोधन गर्नुपर्ने अडानपछि यस्तो छ बालेन र वडाध्यक्ष महर्जनबीचको सवाल-जवाफ – Nepal Press

नीति तथा कार्यक्रम संशोधन गर्नुपर्ने अडानपछि यस्तो छ बालेन र वडाध्यक्ष महर्जनबीचको सवाल-जवाफ

काठमाडौं । काठमाडौं महानगरको नीति तथा कार्यक्रम पारित गर्ने विषयमा नगरसभाको बैठकमा विवाद भएको छ । महानगर प्रमुख बालेन शाहले नीति तथा कार्यक्रम आएको सुझावको आधारमा संशोधन हुने भन्दै पारित गर्न प्रस्ताव गरेपछि वडाध्यक्ष मच्छराज महर्जनले विरोध जनाए ।

बालेनले भने, ‘नगरसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रममा आएको संशोधन प्रस्तावलाई सम्भव भएसम्म समेटेर आगामी नीति तथा कार्यक्रम स्वीकृत गर्ने प्रस्ताव पेश गर्छु ।’

तर, बहुमत सदस्यले संशोधनको प्रस्ताव गरेको भन्दै वडाध्यक्षले संशोधन हुनुपर्ने अडान सुनाउँछन् ।

त्यसपछि बालेनले जवाफ दिन्छन्, सम्भव हुने कुरा हुन्छ, असम्भव कुरा गर्न सकिँदैन ।

वडाध्यक्षले बुहुमत सदस्यले हस्ताक्षर गरेपछि यथासम्भव भन्ने शब्द हुँदैन राख्न हुने अडान लिन्छन् ।

बालेनले भन्छन्, ‘असम्भव भनेको सूर्य पश्चिमबाट उदाउँछ भन्ने कुरालाई असम्भव मान्ने हो । त्यसरी बुझ्ने हो ।’

वडाध्यक्ष भन्छन्, ‘सूर्य पश्चिमबाट उदाउनेजस्तो प्रस्ताव छैन ।’

‘सम्भव भएका कुरा समेटिन्छन्, असम्भव सकिँदैन’, बालेनले दोहोर्याउँछन् ।

तर, वडाध्यक्ष महर्जनले संशोधन गर्नको लागि कार्यदल बनाउन माग गर्दै भन्छन्, ‘संशोधन प्रस्तावमा कार्यदल बनाउनुपर्छ । कार्यदलले निर्णयअनुसारको सहमतिलाई हामी सहमति जनाउन सक्छौं । अन्यथा हुँदैन ।’

लिखित २८ बुँदे प्रस्ताव आजै आएको भएकाले अध्ययन गर्न बाँकी रहेकाले यथासम्भव भएकाले संशोधन हुने बालेनले दोहोर्याए ।

वडाध्यक्ष थप्छन्, ‘त्यसको लागि कार्यदल आवश्यक हुन्छ । समिति बनाइदिनुस्। त्यहीबाट निर्णय हुन्छ ।’

वडाध्यक्षको अडानपछि बालेनले उपप्रमुख सुनिता डंगोलसँग परामर्श लिएर भन्छन्, ‘कानूनी रुपमा हेर्दा यसको लागि कुनै समिति वा कार्यदल नहुने भएकाले यथासम्भव नै भन्नुपर्ने हुन्छ । यसमा सहमति छैन भने आज बजेट पेश गर्न मिल्दैन ।’

तर, उनले लिखित बाहेकको प्रस्तावमा यथासम्भव भन्न सकिने बताउँछन् ।

बालेन जवाफ फर्काउँछन्, ‘त्यो पनि अध्ययन भएको छैन । आजै पेश भएको हो यहाँ । अध्ययन गरेर पछि गर्ने हो भने बजेट पेश गर्न मिल्दैन । अर्को बैठकमा अध्ययन गरौं ।’

त्यसपछि वडाध्यक्ष महर्जनले बैठक केहीबेर स्थगित गरेर छलफलको प्रस्ताव राख्छन् । तर, बालेनले त्यो प्रस्ताव अस्वीकार गर्दै नीति तथा कार्यक्रम पारित नभइ उपप्रमुख डंगोललाई बजेट पेश गर्न अनुमति दिन्छन् । अहिले डंगोलले आगामी वर्षका बजेट वाचन गरिरहेकी छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर