नेपालबाट बढी निर्यात हुने वस्तु बन्नेतर्फ ‘डग च्यू’, पाँच वर्षमा २४ बाट १२ औं स्थानमा – Nepal Press

नेपालबाट बढी निर्यात हुने वस्तु बन्नेतर्फ ‘डग च्यू’, पाँच वर्षमा २४ बाट १२ औं स्थानमा

काठमाडौं । नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुहरूमा गलैँचा र पाम तथा रिफाइन्ड पाम आयल पर्दछन् । यसका साथै नेपालबाट अधिकांश निर्यात हुनेमा चिया र कफी पनि पर्दछन् ।

अहिले नेपालबाट निर्यात हुने वस्तुहरूमा सबैभन्दा राम्रो चर्चा र बजार पाइरहको वस्तु हो ‘डग च्यू’ अर्थात् छुर्पी । नेपालको पूर्वी पहाडी तथा हिमाली जिल्लाहरूमा चौँरी गाई तथा गाईको दूधबाट छुर्पी तयार गरिन्छ ।

उक्त कच्चा छुर्पीलाई प्रशोधन र प्याकेज गरेर नेपालबाट विदेशी मुलुकहरूमा पठाइँदै आइएको छ । नेपालबाट यसरी प्रशोधन गरेर विदेशमा पठाइएको छुर्पीलाई ‘डग च्यू’को नामबाट चिन्ने गरिन्छ । ‘डग च्यू’लाई विदेशमा कुकुर तथा बिरालाहरूको खाने आहाराका रूपमा प्रयोग गर्ने गरिन्छ ।

नेपालबाट सबैभन्दा बढी ‘डग च्यू’ निर्यात हुने राष्ट्र अमेरिकामा हो । एकै वर्षमा नेपालले करिब साढे दुई अर्ब बढीको ‘डग च्यू’ नेपालले अमेरिकामा निर्यात गर्ने गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

आजभन्दा पाँच वर्षअघि नेपालबाट निर्यात हुने वस्तुहरूको तालिकाको २४ औँ स्थानमा ‘डग च्यू’ पर्दथ्यो भने अहिले उक्त निर्यात बढेर ११/१२ औं स्थानमा आइसकेको छ ।

चालू आर्थिक वर्ष २०८०/८१ को जेठ महिनासम्म नेपालले कुल १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख ९२ हजार रुपैयाँ बराबरको आयात गरेको छ ।

नेपालले १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख ३३ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ । पछिल्लो ११ महिनामा नेपालले २ अर्ब ९७ करोड ७५ लाख ९७ हजार रुपैयाँ बराबरको कुरकुरलाई खुवाउने आहारा ‘डग च्यू’ निर्यात गरिसकेको छ ।

गत आर्थिक वर्ष २०७९/८० मा नेपाललेले कुल १ खर्ब ५७ अर्ब १४ करोड ६ लाख ९५ हजार बराबरको वस्तु निर्यात गरेको थियो । गत वर्ष भरी नेपालले सबैभन्दा बढी ११ अर्ब ५० करोड ६६ लाख २३ हजार रुपैयाँ बराबरको गलौचा निर्यात गरेको थियो ।

त्यस्तै, नेपालले सबैभन्दा बढी निर्यात गर्ने वस्तुको रूपमा रिफाइन्ड पाम आयल रहेको छ । गत आर्थिक वर्षमा नेपालले १० अर्ब ७१ करोड ८९ लाख ५० हजार रुपैयाँको रिफाइन्ड पाम आयल निर्यात गरेको थियो ।

गत आर्थिक वर्ष २०७९/८० मा मात्रै नेपालले ३ अर्ब ४० करोड ९० लाख ७३ हजार रुपैयाँ बराबरको १७ लाख ८६ हजार ११२ केजी ‘डग च्यू’ विदेशी मुलुकहरूमा निर्यात गरेको थियो ।

गत वर्ष नेपालबाट अन्य विदेशी मुलुकहरूमा वस्तु निर्यातको तालिका हेर्दै जाँदा १३ औँ नम्बरमा नेपाली छुर्पी अर्थात् ‘डग च्यू’ रहेको थियो । आर्थिक वर्ष २०८०/८१ को जेठ महिनासम्म १२ औँ स्थानमा उक्लिसकेको छ ।

पाँच वर्षमा २४ बाट १२ औँ स्थानमा

आर्थिक वर्ष २०७५/७६ मा नेपालले कुल ९७ अर्ब १० करोड ९५ लाख २१ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो । उक्त कूल निर्यातमध्ये नेपालले १ अर्ब ५ करोड २८ लाख ७६ हजार रुपैयाँ बराबरको ‘डग च्यू’ मात्रै विदेशमा बिक्री गरेको थियो । यस वर्ष नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुहरूको तालिकाको २४ औँ स्थानमा ‘डग च्यू’ रहेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा नेपालले १ अर्ब २२ करोड ८३ लाख ५६ हजार रुपैयाँ बराबरको ‘डग च्यू’ निर्यात गरेको थियो । एक वर्षमै नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुहरूको तालिकाको १७ औँ नम्बरमा ‘डग च्यू’ झरेको थियो ।

आर्थिक वर्ष २०७७/७८ सम्म आइपुग्दा नेपालले एक वर्षमा १ अर्ब ९६ करोड ५० लाख ४६ हजार रुपैयाँ बराबरको ‘डग च्यू’ विदेशमा निर्यात गरेको थियो । यस वर्ष नेपालबाट निर्यात हुने वस्तुहरूको तालिकामा ‘डग च्यु’ १४ औँ स्थानमा झरेको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा नेपालले कुल १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार रुपैयाँको बराबरको आयत गर्दा, २ खर्ब ३ करोड ९ लाख ६२ हजार रुपैयाँको निर्यात गरेको थियो ।

यस वर्ष नेपालले सबैभन्दा बढी ४८ अर्ब १२ करोड ४ लाख ३१ हजार रुपैयाँ बराबरको सोयाविन तेल निर्यात गरेको थियो । त्यस्तै, पाम आयल, रिफइन्ड पाम आयल गरी विभिन्न वस्तुहरू नेपालबाट बढी निर्यात हुने गरेका थिए । भने, १५ औँ नम्बरमा ‘डग च्यू’ को निर्यात रहेको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा नेपालले २ अर्ब ९१ करोड १९ लाख ३९ हजार रुपैयाँ बराबरको १७ लाख ४४ हजार ४५१ केजी ‘डग च्यू’ निर्यात गरेको थियो । नेपालबाट सबैभन्दा बढी निर्यात हुने तालिकाको १५ औँ स्थानमा ‘डग च्यू’ पुगे पनि एकै वर्षमा नेपालले करिब १ अर्बको ‘डग च्यू’ निर्यात बढाएको देखिन्छ ।

आर्थिक वर्ष २०७९/८० मा मात्रै नेपालले ३ अर्ब ४० करोड ९० लाख ७३ हजार रुपैयाँ बराबरको १७ लाख ८६ हजार ११२ केजी ‘डग च्यू’ विदेशी मुलुकहरूमा निर्यात गरेको थियो । यस वर्ष नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुहरूको तालिकामा ‘डग च्यू’ १३ औँ नम्बरमा रहेको थियो ।

चालू आर्थिक वर्ष २०८०/८१ को जेठ महिनासम्मकै तथ्यांक हेर्दा नेपालबाट सबैभन्दा बढी निर्यात हुनेको १२ औँ नम्रमा ‘डग च्यू’ झरी सकेको छ ।

पछिल्लो ११ महिनामा नेपालले २ अर्ब ९७ करोड ७५ लाख ९७ हजार रुपैयाँ बराबरको कुरकुरलाई खुवाउने आहारा ‘डग च्यू’ निर्यात गरिसकेको छ । नेपालबाट सबैभन्दा बढी कुकुरलाई खुवाउने आहार ‘डग च्यू’ निर्यात अमेरिकामा हुने गरेको छ ।

नेपालबाट निर्यात हुने वस्तुमा अहिले सबैभन्दा राम्रो बजार र चर्चा ‘डग च्यू’ले नै कमाई रहको छ । छुर्पी व्यापारीहरुले पनि नेपालबाट हुने निर्यातले निकै राम्रो वृद्धि लिने आकलन गरेका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर