पोखरा महानगरले ल्यायो साढे ७ अर्बको बजेट, आफ्नै भवन बनाउने – Nepal Press

पोखरा महानगरले ल्यायो साढे ७ अर्बको बजेट, आफ्नै भवन बनाउने

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि साढे ७ अर्ब बजेट ल्याएको छ । पोखरा सभागृहमा भएको १५औं नगर सभामा उपमेयर मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।

पर्यटन, कृषि, उद्योग तथा व्यापार क्षेत्रको सम्वन्ध सुदृढीकरणदेखि सरलीकृत, हरित दिगो र विपद् उत्थानशील पूर्वाधार विकास, प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको उपमेयर गुरुङले बताइन् ।

आर्थिक विकासतर्फ सिचाईं सुविधा वृद्धि गरी उत्पादन बढाउन सिचाई आयोजना निर्माण तथा मर्मत गर्ने योजना महानगरले ल्याएको छ । शिक्षातर्फ सामुदायिक विद्यालयको स्तर बढाउन प्रोत्साहन कार्यक्रम र स्वास्थ्यतर्फ ९८ प्रकारका औषधी निशुल्क उपलब्ध गराउन बजेट विनियोजन गरेको छ ।

पर्यटनतर्फ पोखरा भ्रमण वर्ष घोषणा गर्ने योजना महानगरपालिकाले ल्याएको छ । भौतिक पूर्वाधारतर्फ आफ्नै भवन नभएका वडामा कार्यालय बनाउने र महानगरको आफ्नै प्रशासकीय भवनको थालनी गर्न महानगरले बजेट विनियोजन गरेको छ ।

महानगरपालिकाले स्रोतमा संघीय सरकारबाट अनुदान ४ अर्ब २० करोड २२ लाख १ हजार रुपैयाँ, प्रदेश सरकारबाट अनुदान ९ करोड ६३ लाख ८१ हजार रुपैयाँ र आन्तरिक आयबाट १ अर्ब ५५ करोड ५१ लाख ४० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।

शिक्षा, खेलकुद तथा यूवा र प्रज्ञा प्रतिष्ठानका कार्यक्रम सञ्चालनमा १ अर्ब ६५ करोड रुपैैयाँ, स्वास्थ्यका कार्यक्रमलाई ३५ करोड रुपैयाँ, सामाजिक विकासमा ६ करोड, पर्यटन तथा सहरी विकास कार्यक्रम सञ्चालनार्थ ५६ करोड रुपैयाँ विनियोजन भएको हो । एसियाली विकास बैंकको सहयोगमा सञ्चालन हुने सहरी उत्थानशिलता तथा जिविकोपार्जन सूधार आयोजनका लागि २६ करोड १६ लाख रुपैयाँ विनियोजन भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर