भरतपुर महानगरले जागिर खोसेका वातावरण संरक्षणकर्मी सागरको अठोट- नयाँ पुस्ताको भविष्यको लागि मेयर बन्नुछ
चितवन । चितवनको नारायणी नदी जोगाउन २०८० साल बैशाख ४ मा सर्वोच्च अदालतले गरेको एउटा फैसला सम्झनायोग्य छ । फैसलामा अदालतले २०७९ साल पुस २२ मा नारायणी नदी किनारमा पुरिएको फोहोर उत्खनन् गर्न अटेर गरेकाले अविलम्ब फोहोर निकालेर व्यवस्थापन गर्नू भनेको थियो ।
फैसला यसकारण पनि सम्झनायोग्य छ कि यो फैसलाले भरतपुर महानगरले वातावरण संरक्षणमा देखाएको लापरबाहीमा प्रश्न उठ्यो र अहमता फेल भयो । अदालतमाथि गरेको अपमानमाथि पनि प्रश्न उठ्यो । अनि आफ्नो लापरबाही सच्याउन फोहोर खोतलेर व्यवस्थापन गर्न बाध्य भयो ।
अन्ततः आफ्नो गुमेको अहमता फर्काउन महानगरको नेतृत्वले फोहोर फालेर जथाभाबी दूषित नगर भनेर खबरदारी गर्ने अभियन्ताकै लजास्पद तरिकाले जागिर खोस्यो । यो कथा तिनै युवा संरक्षणकर्मी एवं अभियन्ताको हो ।
के थियो घटना ?
उद्योग वाणिज्य संघ चितवनले गर्ने चितवन महोत्सवको लागि नदी किनार सम्याउन नगरका अस्पतालजन्य मिश्रित फोहोर नारायणी नदी किनारमा डम्प गरिएको थियो । महानगरका गाडीले सुईसहितको मिश्रित फोहोर नदी किनारमा डम्प गर्दै सम्याइएको थियो ।
चितवनका सचेत युवाले नदी किनारमा गरिएको उक्त कार्यको विरोध गरे । उनीहरुले भरतपुर महानगर अनि उद्योग वाणिज्य संघ चितवनलाई नदी दूषित पार्ने काम नगर्न पटक पटक लिखित तथा मौखिक अनुरोध पनि गरे, तर औपचारिक रुपमा न भरतपुर महानगर बोल्यो न त उद्योग वाणिज्य संघ चितवन नै ।
स्थानीय तहमा सुनुवाइ भएन । अन्ततः उनीहरुले नदी जोगाउन कानूनको सहारा लिए । सर्वोच्च अदालतको ढोकामा पुगे । तीन अधिवक्ता र नौ जना संरक्षणकर्मी मिलेर नारायणी नदी किनारमा पुरिएको फोहोर निकालेर अन्त व्यवस्थापन गर्न माग गर्दै २०७९ साल पुस १९ मा रिट दायर गरे ।
उनीहरुको रिटमा सर्वोच्च अदालतले उत्प्रेषणको आदेश गर्दै पुस २२ गते नै फोहोर निकाल्न भन्यो, तर उक्त आदेशको बेवास्ता गर्दै चितवन महोत्सव सम्पन्न गरियो । त्यसपछि फेरि संरक्षणकर्मीहरु अदालतको अवहेलना मुद्दामा पुनः सर्वोच्च पुगे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर हालिएको मुद्दामा सर्वोच्चले २०८० साल वैशाख ४ मा फैसला गरेर आदेशको पालना गर्नू भन्ने निर्देशन दियो ।
त्यसपछि बाध्य भएर उद्योग वाणिज्य संघले फोहोर निकालेर अन्यत्र व्यवस्थापन गर्यो, तर महानगरले गरेको वातावरणप्रतिको दोहन यतिले मात्रै सकिँदैन । यो घटनामा जोडिएका मूल पात्रप्रति महानगरले प्रतिशोध साँधेको घटनाको सिलसिला यतिले मात्रै सकिँदैन ।
हुन त मुद्दा मामिला चलेपछि बाबुछोरा पनि शत्रु गनिन्छन् भनिन्छ, तर नारायणी जोगाउने पवित्र उद्देश्य राखेर प्रश्न गर्ने युवाले यो घटनापछि जीवनभर धक्का लाग्ने अनुभूति भोग्नुप¥यो ।
ती युवा हुन्, सागर कार्की । ३४ वर्षीय सागर पेशाले सिभिल इन्जिनियर हुन् । भारतको बैंगलोरबाट इन्जिनियरिङ सकेका सागरका साथीहरु अधिकांश विदेशमा छन् । उनी भने कहिले पिपलको बोट जोगाउन चितवनका सडकमा हिडिँरहेका भेटिन्छन् त कहिले नारायणी जोगाउन पम्प्लेट बोक्ने, स्थानीय पालिकाका नेतृत्वलाई खबरदारी गरिरहेको अवस्थामा भेटिन्छन् ।
रुखहरुको शोकसभा
अहिले भरतपुरको विकासमा महानगरले सबैभन्दा पहिले देखाउने भनेको ६ लेन बाटो हो । संघीय सरकारको बजेटमा बाटो बनेको भए पनि महानगरले आफ्नै पहलमा भएको भनेर प्रचार गर्ने गरेको छ ।
सडक त लगभग सम्पन्न भइसक्यो, तर यो सडक बनाउँदा गरेको विरुवाको बेपरवाह कटानीले नेपालको विकास प्रक्रिया कति अदूरदर्शी छ भन्ने प्रस्ट पार्न सहयोग गर्छ ।
माथिकाे तस्वीरमा साँझपख बस्ने ठाउँ नपाएर उँडिरहेको चरा देख्नुभयो । यो फोटो तिनै इन्जिनियर सागरले खिचेका हुन्, जतिबेला भरतपुरको ६ लेन सडक बनाउने तयारी भइरहेको थियो ।
सागर इन्जिनियर भएकाले उनलाई अझ राम्रोसँग थाहा छ, सडक बनाउँदा बाटो चल्ने क्षेत्रमा भएका रुखको ‘अडिट’ गराउनुपर्छ । जसलाई राइड अप वेमा पर्ने विरुवाले ओगटेको क्षेत्रफल, उचाइ, चौडाइ सबै मापन गर्नुपर्छ । त्यतिमात्रै होइन कतिवटा रुख बाटो आसपास छन्, नम्बर पनि लगाउनुपर्छ । गाडी चल्ने क्षेत्र (राइट अफ वे) भित्र पर्ने रुखका बोट छुट्याउनुपर्छ । त्यसपछि आवश्यक हो भने तिनीहरुलाई व्यवस्थापन गर्नुपर्छ ।
भरतपुरमा बनाउन लागिएको सडक छेउका रुखको भने अडिट त के गणना पनि थिएन । ६ लेनको सडक क्षेत्रमा पर्ने कति वरपिपल छन्, कति अन्य भन्ने कुनै अभिलेख थिएन । त्यही सडक बनाउने क्रममा साझा बसपार्क, जिल्ला प्रशासन कार्यालय गेटलगायतका ठाउँका वर्षौं पुराना वरपिपल काटिसकिएको थियो ।
एक साँझ सागर रिजाल चोक हुँदै निस्किँदा त्यस आसपास आकाशमा वासस्थान खोज्दै चरा उडिरहेको देखे । सडकमा कैयौं बचेरा पछारिएका थिए, भत्किएका गुँड असरल्ल सडक छेउमा थिए ।
‘ओहो ! मान्छेले यतिसम्म पाप कसरी गर्न सक्छ ?’, इन्जिनियर सागर सम्झिन्छिन्, ‘त्यो क्षतविक्षत चराका घर, मरेका बचेरा र फुटेका फुल देखेर मैले त आफूलाई सम्हाल्नै सकिनँ ।’
त्यही दिनदेखि ‘अजम्बरी रुख’ जोगाउन एक्लै भए पनि पहल गर्ने ‘अजम्बरी निर्णय’ लिए सागरले । सागर भन्छन्, ‘त्यसपछि आफैंले ६ लेनभित्र पर्ने रुखहरु गन्न थालें । सडक डिभिजन, वन कार्यालयलाई खबर गर्दा रुखको अडिट गरेको जवाफ पाए पनि नम्बर गन्दै जाँदा एउटै नम्बर लेखिएको ४ वटा रुख भेटें । आफ्नो स्वार्थको लागि सरकारी तहबाटै प्रकृतिमाथि कतिसम्म ज्यादती हुन्छ भन्ने उदाहरण थियो त्यो । आफ्नो मोडल र विशेषताको विकास कहिल्यै नसोच्ने नेतृत्वको कारण हामीले उजाड भरतपुर देख्ने अवस्था आइरहेको छ ।’
वरपिपल, समी जस्ता ‘अजम्बरी रुख’ ढाल्न अलिकति पनि समवेदना सरकारकै कार्यालयहरुमा नदेखिएपछि सागरकै अगुवाइमा सन् २०१५ मा गठित युवाहरुको संस्था बेटर चितवनले भरतपुरको चौबीस कोठीमा रुखहरुको शोकसभा कार्यक्रम गरेर सरकारी कार्यालयलाई खबरदारी गरेको थियो ।
कसरी जाग्यो संरक्षणमोह ?
सागरका बाबु नेपाल सरकारको निजामती कर्मचारी भएकाले उनले राम्रो शिक्षाको अवसर पाए । विद्यालयमा छँदा नेपाल स्काउटको सदस्य भए । कक्षा ९ पढ्दै उनले पुस्तक लेखेका थिए ।
बाल्यकालदेखि नै रुखविरुखा लगाउन र हुर्काउन चासो राख्ने सागर विस्तारै वातावरण र आफ्नोपन जोगाउनुपर्छ भन्नेमा सचेत हुँदै गए । ‘स्कूल पढ्दा धादिङको गणेश ढुङ्गाना भन्ने साथीसँग आआफ्नो ठाउँ अब्बल बनाउने सपना बुनेका थियौं’, उनी सम्झन्छन्, ‘कसरी देश बनाउने भन्ने मन्थन गर्दा हामीले एकै पटक देशै सकिँदैन भनेर सुरुमा आआफ्नो जिल्ला अनि देश बनाउने भनेर पढ्ने विषय पनि भाग लगाएका थियौं ।’
सागरले रुचिले भन्दा पनि देश बनाउने अभियान सोचेर नै इन्जिनियरिङ पढ्ने निर्णय लिएका थिए । बाल्यकालीन निर्णयमा आफूलाई अघि बढाउँदै चितवनलाई आफ्नै विशेषतासहितको विकसित जिल्ला बनाउने एक्लो अभियान सफल बनाउन सागरले चितवनमै युवा समूहको अगुवाइ थाले । सन् २०१५ मा वीरेन्द्र क्याम्पसको चौरमा बसेर ३० जना युवाले ‘बेटर चितवन’ अभियान सुरु गरे ।
उनीहरुले नयाँ आइडिया पनि बनाए- आर्थिक रुपमा सक्षम बन्दै जिल्लाको नेतृत्व लिँदै जाने । त्यही योजनाअनुसार माली दाइ नाम दिएर फूल नर्सरी सुरु गरे । सयपत्री फूल युवाहरुकै अगुवाइमा लगाए । राम्रो फाइदा पनि गरे ।
त्यसयता नर्सरीको पनि काम राम्रो हुँदै थियो, तर व्यक्तिगत लाभ लिनेगरी बेटर चितवनबाट आम्दानी नहुने कारणले सागरले क्षमताअनुसारको काम पनि गर्दै थिए । त्यही बीचमा केही समय वीरगञ्ज गएर सफाइमा काम गरे । २०७२ सालको भूकम्पपछि धादिङमा प्रोजेक्ट को-ओर्डिनेटर भएर दुई वर्ष काम गरे ।
पछि चितवन फर्किएर फोहोर व्यवस्थापन सम्बद्ध काम गर्ने नेपाल विकास समाज संस्थाको कार्यक्रम संयोजक भएर सागरले काम गर्न थाले । त्यस सँगसँगै बेटर चितवनका क्रियाकलाप हुँदै गए ।
सागर भन्छन्, ‘हामीले वातावरण जोगाउने अभियानसँगै फूल खेतीबाट आर्थिक आम्दानी गर्न थालिसकेका थियौं । यद्यपि, सबै जनाले विनापैसा काम गर्न सम्भव नभएकाले ३ जना कर्मचारीलाई मेरो तलबबाट आएको पैसा दिएर नर्सरीको काममा राखेका थियौं ।’
संरक्षणको आवाज उठाउँदा खोसियो जागिर
यो कथाको सुरुमा उठाइएको संरक्षण, मुद्दा र गुमेको आत्मसम्मानको प्रतिशोध सागरले अहिले भोगिरहेका छन् । स्थानीय तहको गलत काममा प्रश्न गर्दा एउटा व्यक्तिमाथि कतिसम्म निर्मम बन्नसक्छ भन्ने उदाहरण हुन् इन्जिनियर सागर ।
सागरले भरतपुर महानगरपालिकासँग आफ्ना लागि केही मागेका छैनन् । उनको एउटामात्रै माग छ, ‘विकासको मोडल फेर, सुरक्षित पृथ्वी हामीपछिका पुस्तालाई हस्तान्तरण गर्नु छ ।’
त्यही माग र प्रश्नका कारण भरतपुर महानगरले आफ्नो कानूनी अधिकारको गलत प्रयोग गरी सागरलाई जागिर छोड्न बाध्य पार्ने हत्कण्डा अपनायो ।
अहिले हरेक गैरसरकारी संस्थाले काम गर्न स्थानीय तहको अनिवार्य सहमति लिनुपर्छ । सागरले काम गर्ने संस्थालाई महानगरले चेपुवामा पार्दै लग्यो । सागरलाई काम गर्न अप्ठेरो पर्दै गयो ।
‘पहिले म महानगरपालिकाको सफाइ तथा संरक्षणसम्बन्धी तालिमसमेत दिने काम गर्थें’, सागर सम्झिन्छिन्, ‘तर, नारायणी नदीको फोहोर उत्खनन, वरपिपल जोगाउने, नगर वनमा फोहोर थुप्रिन दिनुहुन्न नदीलाई असर पर्छ भनेर बोल्न थालें । त्यसपछि मलाई काम गर्नै समस्या पर्न थाल्यो ।’
सागर एडीबीको सफाइसम्बन्धी एउटा कार्यक्रमका कन्सल्टेन्टसमेत थिए । ‘म त्यहाँ भएको थाहा पाएर भरतपुर महानगरको वातावरण शाखा प्रमुखले कार्यक्रममा म भएसम्म नआउने अड्डी लिनुभयो । कार्यक्रम गैंडाकोट नदी किनारको एउटा होटलमा थियो । उहाँहरुको अड्डीको कारण म कार्यक्रममा सहभागी हुन पाइनँ । उहाँहरु गएपछि मात्रै फेरि सहभागी भएको थिएँ ।’
संरक्षणको लागि आवाज उठाउँदा सार्वजनिक कार्यक्रममा भरतपुर महानगरले बहिस्कार गर्नेमात्रै होइन, काम गरेको संस्थामाथि नै प्रश्न गर्ने अवस्था बन्यो ।
सागरले भने, ‘काठमाडौंबाट संस्थाका संस्थापक चितवन आउँदा मेयर रेनु दाहालसँग बैठकमा बस्नुभएको रहेछ । उहाँबीच के छलफल भयो ? थाहा भएन । तर, मलाई एक जना संस्थापकले त्यही साँझ बोलाएर स्पष्ट रुपमै कि बेटर चितवन छोड्नुस् कि त नेपाल विकास समाज छोड्नुस् भन्नुभयो । मैले बेटर चितवन छोड्न सक्दिनँ भनेर ३ महिनापछि गएको फेब्रुअरीदेखि जागिर नै छोडिदिएँ ।’
सम्हाल्दै माली दाइ
भरतपुरको कृष्णपुरमा माली दाइ नामक नर्सरी छ । अहिले त्यही नर्सरीको व्यवस्थापनमा पूर्णकालीन जागिरे भएका छन्, सागर ।
नर्सरीमा एउटा टिनको छानो भएको टहरो पनि छ । वार्षिक ५० हजार भाडा तिर्नेगरी बहालमा लिएको उक्त जमिनको सानो टहरो पुस्तकालय जस्तै छ । सागर आफैंले लेखेका पुस्तकदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय पुस्तकको संगालो छ पुस्तकालयमा ।
नेपालप्रेसकर्मी नर्सरी पुग्दा चितवन महोत्सव गर्न नारायणीमा फोहोर भन्ने समाचारको कटिङ राखिएको फ्रेम पृष्ठभूमिमा राखेर सागर आफ्नो काम गरिरहेका थिए ।
त्यही पृष्ठभूमिको आडमा संरक्षण, दिगो विकासमा आवाज उठाउँदा आफूले युवावयमै भोग्नुपरेको स्थानीय राज्यको अपहेलना सम्झिँदै सागरले भने, ‘मपछिको पुस्तालाई मसँग जोड्ने प्राकृतिक सम्पदा जोगाउन स्थानीय तहको नेतृत्व आफैंले लिनुपर्ने आवश्यकता महसुस गरेको छु, एक दिन पक्कै भरतपुरको मेयर बनेर दिगो संरक्षणको नेतृत्व लिन्छु ।’
Shubhakamana ! Sochale purna saphalata pawos !