दही चोकका इतिहासकारहरूप्रति सम्मान र श्रद्धाञ्जली
लामो फड्को मार्ने आँटीले तर्नसक्ने गेउरिया खोलो । खोला वारि, डिल मास्तिर दुई काठे घर । त्यसका पश्चिमतिर बाटातर्फ फर्किएका खर र टिनको मिश्रित छानो र काठको बेरा भएका लहरै चार वटा घर । २०५० सालभन्दा केही अघितिरको स्मरण, झापाको लखनपुर गाविसको वडा नं ४ । महेन्द्र राजमार्गमा पर्ने पाडाजुङ्गी चोकदेखि सीमान्त गाउँ गौरीगञ्ज जोड्ने ढुङ्गे बाटो लमतन्न थियो । त्यही लमतन्न सडक किनारका चार घरको झुप्पो दही चोक ।
ती थोत्रा काठे घर मक्किए । केहीले स्वरुप फेरे, रंग बदले, धनी बदले । तर, दही चोक अझै पनि खडा छ । यो तीन-साढे तीन दशकका बीचमा दही चोकको दही हजारौंले चाखिसके । तर, अचेल यही दही चोकमै दही होइन, मोही पाउन पनि कठिन भइसक्यो । त्यसो त, दही चोकले धेरै रमिता देख्यो । कैयौं रैथाने रमिता विस्मृतिमा पुग्दा न्यास्रिएको पनि छ, दही चोक । वर्षाका बेला धान र पाटा बोकेका पञ्जाबी ट्रक पुरिने बाटोका खाल्डा दुई चरणको कालोपत्रेले निलिसकेको छ । टुकीमा मट्टीतेल भरेर थाङ्नाको सलेदो फेर्नुपर्ने साँझहरु बिजुली बत्तीमा झिलिमिली भएका छन् । परदेशीको खबर बुझ्न दमकको आवाघरको बाटो हातहातका स्मार्ट मोबाइलले विरानो पारिदियो । सजिला धेरै भए । सुविधा धेरै पुगे । आनन्द छ, दही चोकमा ।
विरानो पनि लाग्छ दही चोक, कैयौं दृश्य र सम्झनाले । बडेमानका हात्ती चढेर आउने जिम्दारहरु सायद बिते होलान् । बिचरा ती हात्ती चैँ के भए होलान् कुन्नि ? हातमा मकैका घोगा र बुटा बोकेर रमिता हेर्ने आँखा अझै पनि फट्किरी टोकेको मुख जस्ता भएका छन् । हात्तीले टेकेको माटो बारीमा छर्दा फलिफाप हुने कैरन सुनेको दही चोक त्यसै गर्थ्यो । कहाँ देखोस् जिम्दारहरुका ती हात्ती र कहाँ पाओस् दही चोकले अचेल ती हात्तीका पैतालाको माटो ।
न्यास्रिएको छ दही चोक । डोलीमा बोकिएर आएका बेहुली हेर्न पिपल चौतारोमा धुइरिन पाउँदैन अचेल दही चोक । पिपलको सयेंलमा बेहुलीलाई बिसाएर काँधको गाम्छाले पसिना पुछ्ने महसुरहरुका पाखुरा पनि सुके होलान् अचेल । गोरुगाडामा झल्लाको छानो हालेर जन्ती जानेहरु कहाँ देखोस् दही चोकले । गाडाको ताँतीबाट आउने ‘चुई चुई’ सुन्न नपाएर खिस्रिक्क परेको छ दही चोक ।
बडेमानका हात्ती चढेर आउने जिम्दारहरु सायद बिते होलान् । बिचरा ती हात्ती चैँ के भए होलान् कुन्नि ? हातमा मकैका घोगा र बुटा बोकेर रमिता हेर्ने आँखा अझै पनि फट्किरी टोकेको मुख जस्ता भएका छन् । हात्तीले टेकेको माटो बारीमा छर्दा फलिफाप हुने कैरन सुनेको दही चोक त्यसै गर्थ्यो ।
झमझम झरी परेका बेला गौरीगञ्जबाट आउने आँप बोकेका गाडाका लस्कर, माटोका भाँडा बोक्नेहरुका ताँती, धानसँग बाँसका ढाकी र कोठा साट्न आउने श्रमजीवी, मामफुलीको ढाकी बोकेर खमार खमार धाउने मेहनती पाइलाहरु कहाँ रोकिए होलान् ? टिनको चौकुने बाकसमा साइकलको पछाडि बाँधिएर आउने दूध बरफ, रातो बरफ र पानी बरफ नभेट्दा खडेंरीमा खरिएको वर्षौं भयो दही चोक । त्यही बरफ गाउँमा भित्रिएको जनाउ दिने डमरुको ‘डमडम’ आवाज पर्खिएर प्याससँग जुधिरहेको छ, न्यास्रिएको छ, दही चोक ।
कहाँ छन् ती इतिहासकार ?
दही चोक बनाउने इतिहासकारहरु कहाँ गए होलान् ? जसका कारण बेनाम बस्तीले दही चोक नाम पायो । उनीहरु अहिले नेपथ्यमा छन् । सोनापुर र गेउरिया जस्ता पुराना बस्तीका माझको झुप्पो बस्तीलाई दही चोक नामकरण गराउनेहरु के गर्दै होलान् ? उनीहरुले उत्पादन गरेको दहीकै कारण बिहान १० बजे विराटनगरतर्फ लागेर साँझ ५ बजे लखतरान भएर फर्किने लालीगुराँस बस झ्याप्पै रोकिन्थ्यो, त्यो गाउँमा । पाडाजुङ्गी-गौरीगञ्ज सडकमा पर्ने गेउरिया पैनीमाथिको काठे पुलमा भद्रपुर जाने २२ नम्बरे र ४६० नम्बरे आरती बस आइपुग्दा पुलका बाकलको ‘घर्याकघुरुक’ ५० पाइला तल्तिरको हाम्रा घरसम्म पस्थ्यो । बुङबुङी धूलो उडाउँदै बोलबम, अन्नपूर्ण र गोधूली बस धरान र विराटनगरदेखि धाउँथे । लालुपाते एक्सप्रेसमा काठमाडौंवासी पुग्थे । अटेसमटेस गरेर चल्ने सीता ट्याक्सीहरु दही चोकमा पानी भर्दै दमक र गौरादह गर्थे । तिनै बस र ट्याक्सीबाट हलुङ्गेका ट्याम्पी खत्र्याङखुत्रुङ पार्दै झर्थे दही चोकका इतिहासकारहरु ।
गेउरिया, विष्णुकट्टा, लालध्वन्द्रा, पिङडाँडालगायतका गाउँबाट दूध जम्मा हुन्थ्यो, गेउरिया चोकमा । पुरुषहरु बिहानै गाग्रीहरु लिएर दूध संकलनका लागि पुग्थे । दैनिक एक जना दहीवालाले ५० देखि १५० लिटरसम्म दूध वर्षौंसम्म ओसार्दा खुइलिएका काँध अहिले कस्ता भए होलान् ? दूध संकलन गर्ने, आँगनमा पित्ले कुँडेमा दनदनी आगो बालेर तताउने । दारका ठेकी र हर्पेमा जमाउने काम पुरुषहरुको थियो । अर्थात हाम्रा हजुरबाहरुको । बिहान ३ बजे उठेर ठेकामा जमाइएको दही सिल्भरे ट्यामीमा खन्याउने, बिर्कामा दाउराको चोइटोको चाबी लगाउने र काकँडभिट्टासम्म लगेर बेच्ने काम महिलाहरुको । अर्थात हजुरआमाहरुको । ठिक्क पारिएको दहीका भाँडा साइकलमा राखेर आधा घण्टाको दूरीमा पर्ने पाडाजुङ्गी चोकसम्म पुर्याइदिने काम छोराखाल अर्थात बुवाहरुको ।
कहिलेकाहीँ रहरले म पनि त्यो सम्हाल्न तम्सिन्थें । बिहान उठ्न ‘अलार्म’ चाहिँदैन थियो । गाउँका भाले मन लागे बास्थे, मन नलागे बास्दैन थिए । बास्नैपर्ने तिनीहरुलाई केको टन्टो ! नबासे पनि हजुरआमाहरु आफैं थाहा पाउँथे रातको अन्तिम प्रहर । अनि उनीहरुले उठाउँथे सघाउने अरु पुरुषहरुलाई । पुरुषहरु दूध संकलन र दही बनाउने काममा मात्र लाग्दैन थिए, दही बेच्न जाने आमा वा श्रीमतीहरुलाई वर्षे झरीमा चुल्हो नबल्दा पनि मट्टीतेल हालिने सलेदोवाला स्टोभमा चाम्रे पनि बनाइदिन्थे, उनीहरुको खाजाको बन्दोबस्ती मिलाइदिन्थे । कस्तो राम्रो कार्य विभाजन !
दही चोक बनाउने इतिहासकारहरु कहाँ गए होलान् ? जसका कारण बेनाम बस्तीले दही चोक नाम पायो । उनीहरु अहिले नेपथ्यमा छन् । सोनापुर र गेउरिया जस्ता पुराना बस्तीका माझको झुप्पो बस्तीलाई दही चोक नामकरण गराउनेहरु के गर्दै होलान् ?
दैनिक सय लिटरभन्दा बढी दही । हाम्रै घरकी हजुरआमा (पवित्रादेवी गुरागाईं), बरालनी हजुरआमा, माथि मंगलबारेभित्र झारबारीकी दाहालनी हजुरआमा, मंगलबारेकी उप्रेती आमाहरु सीमावर्ती पूर्वी बस्ती काँकडभिट्टासम्म लिएर पुग्थे । चैते खडेरी र चर्को घाम, वर्खे झरी र भेल । न आँधीले रोक्थ्यो न त बादलले छेक्थ्यो । पौरख गर्ने ती आमाहरुले दशकौंसम्म यही रफ्तारको पौरखमात्र गरेनन्, अनाम बस्तीको नाम पनि स्थापित गरिदिए, दही चोक । दही चोकबाट दमकसम्म दही लानेमा पोखरेल हजुरआमा, खनाल हजुरआमाहरु, अधिकारी हजुरआमा, मास्तिर कान्छी फूपूहरु पनि यही मेसोमा हुनुहुन्थ्यो । पौरखको सिलसिला दशकौं चल्यो ।
अहिले सिथिल भएका दही चोकका इतिहासकारहरु पञ्चामृत वा पञ्चगव्य बनाउन पनि दही खोज्न धर्खराउँदै हिँड्नुपर्ने अवस्थामा पुगेका छन् । उनीहरुले बल र बरगत हुन्जेल पौरख गरे । पौरखले परिवार चलाए, गाउँ चलाए, गाउँको सुनाम चलाए । तर, उनीहरु पनि गले, थाके । व्यवसायिक ढाँचा र ढर्रामा आएको परिवर्तनले उही स्वरुपमा यो पेशाले निरन्तरता पाउन सकेन । आधुनिक रुपमा पनि कसैले दही चोकमा दही उद्यम गर्न सकेन । अहिले दहीविनाको गाउँ बनेको छ, दही चोक ।
नाम फेर्ने घनचक्कर
गणतन्त्र आएपछि कैयौ चोकहरुका नाम फेरिए । जनआन्दोलन चोक, गणतन्त्र चोक, मुक्ति चोक आदि आदि । बस्ती विकासको इतिहास बनाएका रैथाने नामहरु परिवर्तनको भेलले बगाएर लग्यो ।
चोकको के कुरा, कैयौं देशकै नाम समयले फेरेको छ । शहरहरुले नयाँ भोटो लाए जस्तै नयाँ नाम पाएका छन् । परिवर्तन अविरल र अनवरत रहने कुरा हो । त्यसैले दही चोकको मात्र नाम नफेरिनुको कारण पनि के नै छ र ? दुनियाँको नाम फेरिँदा मामुली दही चोकको मात्र केही नफेरिनु कुन चैँ ठूलो पुरातात्विक नाम र ठाम हो र दहीचोक ? हो, फेरियो यसको पनि नाम !
२०५० साल जेठ ३ गते एमाले नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको निधनको शोक दही चोकसम्म पुग्यो । स्तब्ध भयो दही चोक पनि । दिवङ्गत नेताहरुप्रति सम्मान र श्रद्धा गर्नेहरुकै बाहुल्य थियो, दही चोकमा । राष्ट्र परिवर्तनका लागि युगान्तकारी परिवर्तन गर्ने नेताहरुको स्मृतिमा मामुली एउटा बस्तीको नाम परिवर्तन किन नगर्नु ? घर अगाडि एउटा काठे घुम्तीमा किराना पसल थियो हाम्रो । त्यही पसल र सडकका माझमा ‘मदनपुर टोल, लखनपुर- ४ झापा’ लेखिएको एउटा टिनको पातो काठको बाकलमा ठोकेर उभ्याइयो । नेता मदनकै प्रतिमूर्ति सम्झिएर फूलमाला पनि त्यही बाकलमा चढाइयो । बिहान गौरीगञ्ज, दामुनाबाट आउने केही बसहरुलाई हामीभन्दा ठूलाहरुले रोक्दै सम्झाए, ‘अब यो ठाउँलाई दही चोक होइन, मदनपुर भन्नु’ भनेर ।
बिहान उठ्न ‘अलार्म’ चाहिँदैन थियो । गाउँका भाले मन लागे बास्थे, मन नलागे बास्दैन थिए । बास्नैपर्ने तिनीहरुलाई केको टन्टो ! नबासे पनि हजुरआमाहरु आफैं थाहा पाउँथे रातको अन्तिम प्रहर । अनि उनीहरुले उठाउँथे सघाउने अरु पुरुषहरुलाई ।
त्यसको केही महिनापछि, गौरादहमा तत्कालीन एमाले नेतृ विद्या भण्डारी तथा सोही क्षेत्रका नेता केपी शर्मा ओलीको सम्बोधन थियो । जाँदा उनीहरु हतारमा थिए, ‘मदनपुर टोल’मा रोकिन भ्याएनन् । नेतृ भण्डारी गौरादहबाट दमकतर्फ फर्किंदा उनलाई स्वागत सम्मान गर्ने भनेर बेलैमा खाना खाएर खासगरी आमाहरु त्यही मदनपुर लेखिएको बाकलका फेदमा भेला भए । हामी भुराहरु पनि आमाहरुका गुन्युका फेर समाउँदै ताँतीमा उभियौं । पर्खाइ निकै बेला रह्यो । पट्यारलाग्न थालिसकेको थियो । तर, साँझ रातमा बदलिँदै गर्दा केही गाडीको ताँती सम्मुखमा आउँदा सबैले थप्पडी बजाएर स्वागत गरे ।
‘बरखी’ पहिरनमा रहेकी विद्या भण्डारी हेर्न आमाहरु जीपका झ्यालबाट मुन्टो छिराउन तँछाडमछाड गरे केहीबेर । हातका फूलका माला र थुङ्गा दिए । नेता ओलीलाई पटक पटक उसैगरी स्वागत गरिरहेका कारण पनि स्वागतको प्राथमिकतामा भण्डारी थिइन् । स्वागत टोलीले गर्वका साथ गाउँको नाम फेरेको टिनको पातोतर्फ इङ्गित गर्दै भन्दै थियो, ‘हामीले त अब यो दही चोकको नाम पनि फेरिसक्यौं नि, मदनपुर टोल राख्यौं ।’ ओली, भण्डारीसहितका नेताहरु हतारमा थिए । गाडीको ताँती दमकतिर हानियो, हामी सबै घरघरतिर ।
नाम फेरेकोप्रति दही चोकका इतिहासकारहरु खुसी थिएनन् । जसले दैनिक हजार लिटरसम्म दही उत्पादन गरी दमकदेखि काकडभिट्टासम्म लान्थे, उनीहरु हाम्रै कारण यो गाउँको नाम दही चोक भएको हो, किन फेर्नु भन्थे, भनिरहन्थे, भनिरहन्छन् । त्यसपछि कतिपय सरकारी कागजातमा टोलको नाम लेख्ने महलमा देखिने दही चोक देखिन छोड्यो, दही चोकलाई मदनपुरले विस्थापित गरिदियो । कागजमा दही चोक हराए पनि जनजिब्रोमा हराएन । गाडीवालाहरु यात्रु चढाउन र उतार्न दही चोक नै भनिरहे । दक्षिणबाट आउने गाडीमा गेउरिया कट्नासाथ र उत्तरबाट झर्ने गाडी लखनपुर कट्नासाथ कण्डक्टर र सहचालक चिच्याइहाल्थे ‘दही चोक झर्ने जति ढोकातिर आउनू है’ भन्दै । अहिले त गाडीवालाले मात्र होइन, अधिकांशले दही चोक नै भन्छन् । आर्थिक वर्ष २०८१/८२ को सरकारी बजेट पुस्तिकामा पनि यो गाउँलाई दही चोक नै भनेर उल्लेख छ । कतिपय सरकारी कागजमा पनि फेरि दही चोक भनिन थालिएको छ ।
म घुम्न जाँदा बरालबा जिस्क्याउनु हुन्थ्यो, यो केटी हेर्न गएको भनेर । ‘हजुरआमालाई भन्नु है’ भन्दै मलाई उडाउनु हुन्थ्यो, गीतका भाकामा भन्नुहुन्थ्यो, ‘एक मानेमा के छ, के छ, दुई मानेमा दही छ । ससुराली जान्छु आमै केटी कत्री भइछ ।’
अचेल दही चोक न चोक छ न त दही पाइन्छ । गाउँको विहे, बटुलामा पनि बजारबाट दही किनेर ल्याउन थालिएको छ । पहिले काठे पुल भएको ठाउँमा पक्की कलभर्ट छ । त्यहाँबाट पूर्व गाउँपालिकातिर जाने सडक पनि कालोपत्रे भइरहेको छ । त्यही कुइनेटोका जग्गाधनी मोहिनी खनालसहितको परिवारले केही सटरसहितको कवल बनाएका छन् । सटरहरुमा विभिन्न पसल छन्, दही नपाए पनि त्यहाँ दूध चैँ पाइन्छ । बिहान बिहान संकलन पनि हुन्छ । सटर बनाउने खनाल परिवारकी आमा र भाउजूले पनि दही चोकको इतिहास दर्विलो पार्न योगदान पु¥याएकै हुन् । थाप्लामा ठेकी र ट्यामी राखेर दमकसम्म दही ओसारेका हुन् । खनाल परिवारले कुनै भावनात्मक नभई व्यवसायिक उद्देश्य नै राखेर पसल कवल बनाएको होला । तर, त्यसले अन्ततः प्राण धर्मराउन थालेको दही चोकलाई प्राण दिएको छ । जीवन्तताका लागि सहयोग गरेको छ । कम्तीमा दही चोकलाई चोकको इज्जत दिएको छ ।
इतिहासकारहरुलाई सम्मान र श्रद्धाञ्जली
जसले दूधबाट दही र दहीबाट दही चोक बनाए, उनीहरु अवकाश प्राप्त बनिसके । कति बसाइ सरेर अन्तै पुगे । कति ओछ्यान परेका छन् । कति बितिसके । दूध संकलन गर्ने हजुरबुवाको कामलाई मेरो बुवाले पनि निरन्तरता दिनुभयो । उहाँपछि मैले पनि केही समय पछ्याएँ । घरबाट गाडीसम्म ओसार्ने काममा बुवापछि म पनि तम्सिएँ । काकडभिट्टामात्र होइन, भारतीय बजार पानी ट्याङ्की र नक्सलसम्म दारका ठेकी टाउकामा राखेर घरघर डुलाउँदै बेच्ने हजुरआमाको बिँडो केही समय आमाले पनि थाम्नुभयो । अरुका परिवारमा पनि यस्तै यस्तै सिलसिला चल्यो । तर, केही समय चल्यो, टिकेन । इतिहास बनाउनेहरु सबै इतिहासकार हुँदैनन् । उनीहरुको योगदान अरुले लेखिदिए त हुने/बन्ने हो, इतिहास । तर, दही चोकको इतिहास बनाउनेहरुले न आफैं इतिहास लेख्न सके न त कसैले लेखिदियो उनीहरुको इतिहास । गुमनाम बितिरहेका छन्, थला परिरहेका छन्, उनीहरु ।
केही वर्षअघि बिते बरालबा । हाम्री हजुरआमा र ती बापत्नी अर्थात बरालनी हजुरआमा बीचको नाता दिदीबहिनी । सँगै जाने-आउने गर्नुहुन्थ्यो । म पनि कहिलेकाहीँ हजुरआमासँग काकडभिट्टा घुम्न जान्थे २०५०/५१ सालतिर । १० रुपैयाँ भाडा तिर्नुहुन्थ्यो, दमक पूर्वको पाडाजुङ्गीदेखि काकडभिट्टाको । म घुम्न जाँदा बरालबा जिस्क्याउनु हुन्थ्यो, यो केटी हेर्न गएको भनेर । ‘हजुरआमालाई भन्नु है’ भन्दै मलाई उडाउनु हुन्थ्यो, गीतका भाकामा भन्नुहुन्थ्यो, ‘एक मानेमा के छ, के छ, दुई मानेमा दही छ । ससुराली जान्छु आमै केटी कत्री भइछ ।’
रतुवा पुल पार गरेर पूर्व आउँदै गर्दा एक किलोमिटरभन्दा परको गाडीको न रंग देखिन्थ्यो न त नम्बर । नम्बर नै देखिए पनि ती निरक्षर आमा/हजुरआमाहरुले के चिन्नू ? तर ‘यो भैरहवाको गाडी हो, यो पोखराको, यो गाडीमा फल्नो ड्राइभर छ, यो गाडीले भाडा धेरै लिन्छ………’ प्रस्टै भन्ने, प्रस्टै चिन्ने । कसरी चिन्न सक्या हुन् ?
दाहाल बा अझ केही वर्षअघि बिते । दाहालनी हजुरआमा र बरालनी हजुरआमा साख्खै दिदीबहिनी । प्रायः कुर्ता सुरुवाल लगाउने होचा कद दाहालबा सुस्तरी मीठो भाकामा बोल्ने । कहिलेकाहीँ हामी जाँदै गर्दा उहाँ हजुरआमालाई गाडी चढाएर फर्कंदै गर्दा भेट्नुहुन्थ्यो । ‘हाम्रो त अघि नै रैनामा गयो’ भन्दै खबर सुनाउनु हुन्थ्यो । दाहालबा दही चोकभन्दा अलिक माथिल्लो गाउँका । बरालबा खास दही चोकका । यी इतिहासका शिल्पीहरु गुमनाम बिते । श्रद्धाञ्जली उहाँहरुप्रति । गुमनाम बिते पनि गुमनाम गाउँलाई दही चोक नाम दिने उनीहरुको कृति दही चोकले भुलेको छैन ।
बिहानको ३-३:३० बजे । रतुवा पुल पार गरेर पूर्व आउँदै गर्दा एक किलोमिटरभन्दा परको गाडीको न रंग देखिन्थ्यो न त नम्बर । नम्बर नै देखिए पनि ती निरक्षर आमा÷हजुरआमाहरुले के चिन्नू ? तर ‘यो भैरहवाको गाडी हो, यो पोखराको, यो गाडीमा फल्नो ड्राइभर छ, यो गाडीले भाडा धेरै लिन्छ………’ प्रस्टै भन्ने, प्रस्टै चिन्ने । कसरी चिन्न सक्या हुन् ? ती पराक्रमी र पौरखीहरुको त्यो तिख्खर र तेज आत्मविश्वास र शरीर कमजोर भएसँगै अहिले धमिलो भइसकेको छ ।
यसरी इतिहास बनाउनेहरु धेरैजसोका हात-पाउबाट बरगत बिदा भयो, आँखा मधुरा भए, पाखुराका छालाहरु लावर जस्ता भए, अनुहार मुझाले छोप्यो, हातगोडा चल्न छोडे । तर, उनीहरुले नाम दिएको दही चोक चलिरहेकै छैन । तीव्र बस्ती विकास भइरहेको छ । गाडीहरु ठस्ठसी कनेर कुद्ने सडकमा प्रतिघण्टा ६० किलोमिटरको दरमा हुइँकिन्छिन् । किनाराका घरभित्र बसेर दही चोकका इतिहासकारहरु आफ्नो पौरख सम्झँदै घोरिइरहन्छन्, बाटातिर हेरेर टोलाइरहन्छन् । विस्मृतिमा मात्र पुगेका हुन्, इतिहासकारहरुका पौरख र पराक्रम मेटिइसकेका छैनन् ।
करिब ४ दशकअघि व्यवसायिक दही उत्पादन गरी उद्यमशीलता र स्वरोजगारी सिर्जना गर्ने, दूध उत्पादन र पशुपालनलाई प्रोत्साहित गर्ने, निरक्षर भएर पनि घरघरमा आर्थिक गतिविधिलाई चलायमान बनाउने, दैनिक १०० किलोमिटरभन्दा लामो दूरी तय गरी शहरको पैसा गाउँसम्म भित्र्याउने ती सबै पौरखी र पराक्रमी आमाहरुलाई सम्मान । यी सबै आर्थिक कारोबार र उद्यम ती निरक्षर र निर्धन-विपन्न आमाहरुकै अगुवाइमा भएको थियो । उनीहरुको पसिनाले नै परिवारमा आर्थिक विकासको जग बसाल्यो, शिक्षा-स्वास्थ्यको अभर टार्यो । सबैभन्दा ठूलो कुरो त, गुमनाम गाउँले नाम पायो । दही चोकलाई नाम दिने ती सबै पौरखी-श्रमजीवी श्रमशिल्पीहरुप्रति उच्च सम्मान !
दहिचोकमा भक्का, सेलरोटि चै बेचेन छन??
राजनितिको फोहोरी खेलमा डुबेर इतिहास मास्ने कार्य प्रति स्तम्भकारको चित्त दुखाई जायज छ। देश बनाउन भन्दा झुटा आश्वासन बाँड्न र चलेका र बनेका नामहरु परिवर्तन गर्ने राजनिति खेदजनक छ। स्तम्भकार साँच्चै इतिहास प्रति माया गर्नुहुन्छ भने पुराना नामहरु पुनर्जीवित गरौं। दहिचौक दहिचौक नै बनाऔं। आदिवासी रंगशालाले आफ्नो नाम फेरी पाओस्। महेन्द्र राजमार्ग फेरि सिलान्यास गरेको नाटक नहोस र नेपाल अधिराज्य कायम होस्।
पुराना पहिचान बोक्ने नाम चौतारी पिपल छाहारी लाई नमासुम आउने पुस्ताले पनि यिनिहरु को चिनारी र सम्मन गर्न सकुन किस्ने खोला लाई नाम परिवर्तन गरि सिस्ने खोला महेन्द्र राजमार्गलाई पुन अर्को फेर्नेनाम यस्तो नगरौ यो हाम्रो ईतिहास हो पाडाजुगी मा रहेको पिपल काटी कङ्किट बाट बनाइएको कमलको फुल पिपललाइ नै कुनै आकृती दिएको भएकती सुन्दर देखिन्थियो होला
राम्रो लेख। मेरो पनि बाल्यकालको सम्झना ताजा भएर आयो । चेतनामा चाही मदनको सालिक उखेलेर फाल्न मन लागेको छ ।