एकल महिला अधिकार कार्यान्वयनको अवस्था खोज्दै राष्ट्रिय महिला आयोग
रुपन्देही । राष्ट्रिय महिला आयोगले एकल महिलाका लागि विभिन्न खालका कार्यक्रम गर्दै उनीहरुलाई सहयोग गरिरहेको बताएको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा आयोगले गरेको एकल महिलाहरुको सुरक्षा सम्बन्धमा नीतिगत तथा कार्यक्रमगत पृष्ठपोषणका लागि सरोकारवालासंगका अन्तरक्रियामा आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले एकल महिला समाज परिवर्तनका संवाहक भएको बताइन् ।
आयोगले राष्ट्रिय स्तरमा अन्तरक्रिया, प्रदेशस्तरीय अन्तरक्रिया तथा नीतिगत सिफारिस गर्दै राज्यलाई एकल महिलाको सवालमा उठेका विषयलाई कार्यान्वयन गर्नुपर्ने आग्रह गरिरहेको उनले जनाइन् ।
रुढिवादी परम्पराले एकल महिलालाई अरुभन्दा बढी समस्या पर्ने भएकाले सो को निवारण केही हदसम्म भएको भएपनि निराकरण नभएको उनको भनाई छ । खतिवडाले पुरुष मान्यता कानुनभन्दा पनि माथि भइदिनाले कतिपय विषय बेखबर गरिएकोप्रति आयोग गम्भीर रहेको बताइन् ।
तत्कालीन महिला विकास कार्यालयसमेत हटाई राज्यले महिलाका साथै एकल महिलाको राजनीतिक, संवैधानिक तथा पदीय अधिकार सुनिश्चित गर्न सक्नुपर्ने उनले बताइन् ।
जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईंले एकल महिलाको हकहित र सशक्तिकरणका लागि जिल्लाका १६ वटै स्थानीय तहसंग समन्वय गरी छलफल तथा नीतिगत कार्यक्रम गरिने बताए । उनले महिलाको हरेक कागजी प्रकृयालाई संकुचित भावनाले हेरिने भएकाले पनि उनीहरुलाई बाध्यताले गांजिरहने बताए ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एकल महिलाको भोगाई बोल्नेले अनुमान गर्न नसकिने खालको हुने भएकाले अनुमानका आधारमा धेरै बोल्न नमिल्ने जनाए । उनले कठिन परिस्थितिबाट गुज्रिएर संघर्ष गरी बाँचिरहेका एकल महिलालाई परिवारका सदस्यबाट कत्तिको साथ छ भन्ने विषय नै प्राथमिकतामा पर्ने बताए ।
उनले भने, ‘रुपान्तरण परिवारबाट सुरु गरौं, समाजलाई झेल्न सहज हुन्छ । महिलाले अधिकारका लागि लड्दा पोथी बासेको राम्रो हुंदैन भन्ने समाजमा विवाह पश्चातको बलात्कारका विषयमा मुद्धा हाल्नसक्ने अवस्थासम्म सृजना गर्न सफल भएकाले यसपछिका अवस्थामा पनि सफलता हांसिल गर्न सकिन्छ भनेर लाग्नुपर्ने छ ।’
मानव अधिकारका लागि महिला, एकल महिला समुह लुम्बिनी प्रदेशको तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा १८ हजार ७ सय एकल महिला रहेका छन् । समुहले लुम्बिनी प्रदेशमा दाङ, बाँके र बर्दियामा भवन स्थापना गरी सेवा दिंदै आएको छ भने रुपन्देहीमा भवन निर्माणाधीन रहेको प्रदेश अध्यक्ष जानकी घिमिरेले बताइन् । समुह अन्तर्गत बुटवलका १९ वटै वडामा संजाल बनाई बजेटसहितका कार्यक्रम गरिरहेको उनले जनाइन् ।