जंगली च्याउ खाएर मकवानपुरमा एक सातामा ३ जनाको मृत्यु , १९ बिरामी – Nepal Press

जंगली च्याउ खाएर मकवानपुरमा एक सातामा ३ जनाको मृत्यु , १९ बिरामी

हेटौंडा । मकवानपुरमा पछिल्लो एक हप्तामा जंगली च्याउ खाएर तीनजनाको ज्यान गएको छ भने १९ जना बिरामी परेका छन् ।

जंगली च्याउ खाएर गत असार ३ गते बिरामी परेका कैलाश गाउँपालिका वडा नम्बर ९ नामटारका ४ वर्षीय दिपेश लामाको असार ८ गते ज्यान गएको हो ।

जंगली च्याउ सेवनबाट बिरामी भएका लामालाई उपचारको लागि चितवन मेडिकल कलेज लगिएकोमा ८ गते घर फर्कने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

असार ३ गतेनै कैलाश ९ कै निरुमाया रुम्बाले जंगली च्याउ सेवन गरेर बिरामी भएपछि उपचारको लागि ४ गते सिएमसी लगिएकोमा ९ गते पुनः हेटौंडा अस्पताल ल्याएर उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

असार ९ गते मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ७ का बल बहादुर प्रजाको परिवारनै जंगली च्याउ सेवन गर्दा बिरामी परे । परिवारका पाँचजना विरामी परेको मध्य हेटौंडा अस्पतालमा उपचारको क्रममा बलबहादुरको ज्यान गयो भने उनको श्रीमती र छोराछोरी भने उपचाररत छ्न् ।

असार ७ गते मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ का ८ जनाले जंगली गोब्रे च्याउ खाएर बिरामी परे । उनीहरुको हेटौंडा अस्पतालमा उपचार भएको थियो । त्यसैगरी राक्सिराङ ८ लाचेमा पनि जंगली च्याउको सेवनबाट एकै परिवारका ४ जना बिरामी भएका छ्न् । भुवल प्रजाको परिवारले जंगली च्याउ खादा उनको श्रीमती , भाइ र छोरा बिरामी परे । उनीहरुको पनि उपचार जारी छ ।

पछिल्लो एक हप्ताको अवधिमा जंगली च्याउ सेवन भएर बिरामी भएकाहरु मध्य ८ जनाको डिस्चार्ज भइसकेको छ भने अरु उपचाररत रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरमा बर्सेनि जंगली च्याउ सेवनको कारण दर्जनौले ज्यान गुमाउँदै आएका छ्न् । मकवानपुरको पश्चिम क्षेत्रमा जंगली च्याउ सेवनले प्रत्येक वर्ष मनिसहरुको ज्यान लिदै आएको छ । जंगली कन्दमुलबारे जानकार रहेको चेपाङ समुदाएनै जंगली च्याउ सेवनबाट समस्यामा पर्दै आइरहेका छ्न् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर