भक्तपुरको दधिकोटमा २ करोड डाँका गर्ने बहालवाला हवल्दारसहित ४ जना पक्राउ – Nepal Press

भक्तपुरको दधिकोटमा २ करोड डाँका गर्ने बहालवाला हवल्दारसहित ४ जना पक्राउ

काठमाडौं । भक्तपुर सूर्यविनायकको एक घरमा डाँका गरी फरार भएका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरेर पक्राउ परेकालाई आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसेका सुजन रसाइली, भोटेकोशीका भीमबहादुर तामाङ्ग, भोटेकोशीकै कृष्णबहादुर बोहरा र ओखलढुंगाका मुनाराज राई रहेका छन् । घटनापछि अनुसन्धानमा जुटेको प्रहरीले उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरेको एसपी काजीकुमार आचार्यले जानकारी दिए । यीमध्ये कृष्णबहादुर बोहरा बहालवाला हवल्दार हुन् । उनी नेपालगञ्जको महाराजगञ्ज गणमा कार्यरत् रहेको बुझिएको छ ।

यही असार ४ गते दिउँसो १ बजे सूर्यविनायक नगरपालिका-४ दधिकोटका डिल्लीबहादुर राउतको घरमा आफूहरू सीबीआईबाट आएको भन्दै डरधम्की देखेर धनमाल लुटेको प्रहरीले बताएको छ ।

उनीहरूले परिचयपत्र र खुकुरी समेत देखाएर राउतको घरबाट अन्दाजी २ करोड लुटेर लगेको प्रहरीको भनाइ छ । लुटेको रकम भीमबहादुर बस्दै आएको गोकर्णेश्वर माकलबारीस्थित कोठामा लगेर ५ जनाले बाँडेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

सुजन यसअघि २०७६ सालमा पहेलो धातु देखाई सुन भन्दै ठगी गरेको र सिन्धुपाल्चोकमा कुटपिट तथा झैझगडा मुद्दामा कारबाही भोगेका व्यक्ति हुन् । उनीहरूको साथबाट घटनामा प्रयोग भएको २ वटा मोटरसाइकल, १० थान मोबाइल, पैसा बोकेको झोला, खुकुरी, ३६ लाख ३६ हजार नगदलगायतका सामान पनि बरामद भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *