२ करोड लुटपाटका योजनाकार मामा- घटनापछि सुरक्षित हुन्छ भन्दै भाञ्जाबाट थप लगेका थिए ३५ लाख – Nepal Press

२ करोड लुटपाटका योजनाकार मामा- घटनापछि सुरक्षित हुन्छ भन्दै भाञ्जाबाट थप लगेका थिए ३५ लाख

काठमाडौं । भक्तपुरको दधिकोटमा गत साता भएको लुटपाटमा पीडितका मामा मुख्य योजनाकार रहेको प्रहरीले दाबी गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले कुलबहादुर खत्रीको योजनामा असार ४ गते उनका भाञ्जा डिल्लीबहादुर राउतको घरमा लुटपाट भएको बताए ।

दुइटा मोटरसाइकलमा गएका ४ जनाको समूहले दिउँसो १ बजे आफूलाई प्रहरी बताएर राउतको घरबाट करिब २ करोड रुपैयाँ लुटेर लगेको थियो । लुटिएको रकमध्ये एक करोड १० लाख रुपैयाँ खत्रीको भागमा परेको प्रहरीको दाबी छ । खत्री फरार छन् ।

प्रहरीले एक साता लगाएर घटनामा संलग्न भएको आरोपमा सिन्धुपाल्चोकको बाह्रबीसेका ३० वर्षीय सुजन रसाइली र भोटेकोशीका ३१ वर्षीय भीमबहादुर तामाङ तथा ३८ वर्षीय कृष्णबहादुर बोहरा र ओखलढुंगाको मानेभञ्जयाङका ३६ वर्षीय मुनाराज राईलाई पक्राउ गरेको छ । बोहरा नेपाल प्रहरीका बहालवाला हवल्दार हुन् ।

राउतको घरमा ठूलो रकम रहेको जानकारी पाएपछि खत्रीले सुजनलाई बताएको र त्यसपछि लुटपाटको योजना बनेको एसएसपी भट्टराईले जानकारी दिए । लुटिएको रकम तामाङको माकलबारीस्थित कोठामा पुर्‍याएर बाँडफाँट गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

‘२०-२० लाख रुपैयाँ सुजन, भीम र मुनाराजलाई र ३० लाख रुपैयाँ कृष्णलाई दिइएको देखिन्छ । बाँकी एक करोड १० लाख रुपैयाँ मामा खत्रीले लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, अनुसन्धानमा खटिएका अधिकारी भन्छन् ।

प्रहरीले पक्राउ परेकाको साथबाट हालसम्म ३६ लाख ३६ हजार रुपैयाँ बरामद गरेको छ । प्रहरीका अनुसार घटनापछि खत्री भाञ्जाको घर पुगेका थिए । मोटो रकम घरमा राखेको प्रहरीले थाहा पायो भने अप्ठेरो पर्छ भन्दै उनले उजुरी नगर्न भनेको र घरमा रहेको ३५ लाख रुपैयाँ आफूले सुरक्षित राखिदिने भन्दै लगेको पीडितले प्रहरीलाई बताएका छन् ।

‘घटनापछि घरमा रहेको करिब एक करोड रुपैयाँ पीडितले ट्राभल एजेन्सीलाई लगेर बुझाएको पनि देखिन्छ । यसबाट उक्त घरमा धेरै रकम थियो भन्ने हाम्रो बुझाइ हो, तर लुटेराले २ करोड रुपैयाँमात्र लगेको पीडितको भनाइ छ’, अनुसन्धानमा खटिएका ती अधिकारी भन्छन् ।

खत्री र राउत दुवै युरोप मान्छे पठाउने काम गर्छन् । विदेश मान्छे पठाउने कामबाट जम्मा भएकोसहितको रकम राउतको घरमा भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

‘कतै हुन्डीको रकम हो कि भन्नेतर्फ पनि हामी अनुसन्धान गरिरहेका छौं’, ती अधिकारीले भने । स्रोतका अनुसार राउतको घरमा लुटपाट भएकोबारे प्रहरीले बाहिरबाटै सूचना पाएको थियो ।

एक अधिकारीका अनुसार राउत धेरै कुरा भन्न चाहिरहेकै थिएनन् । घरमा रहेको रकमका कारण आफू पनि अप्ठेरोमा पर्नसक्ने डरले उनले बाहिर कुरा ल्याउन नचाहेको अनुसन्धान अधिकारीको आशंका छ ।

प्रहरीका अनुसार पक्राउ परेका सुजनसँग खत्रीको पुरानो चिनजान थियो । सुजनले बाँकी तीन जना खोजेर टोली बनाएको पाइएको छ ।

प्रहरी हवल्दार बोहरा र भीम साथी हुन् । १९ वर्षअघि प्रहरीमा जागिर खाएका बोहरा लागुऔषध दुर्व्यसनीसमेत रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनले प्रहरीमा सेवा गर्ने क्रममा १३ पटक लिखित स्पष्टीकरण खाएको, नसिहत पाएकोलगायत कारबाही भोगेका छन् ।


प्रतिक्रिया

One thought on “२ करोड लुटपाटका योजनाकार मामा- घटनापछि सुरक्षित हुन्छ भन्दै भाञ्जाबाट थप लगेका थिए ३५ लाख

  1. यो हो नि त लाइन । खतरा मामा-भान्जा काण्ड भएछ त ।
    ‘मामाको धन फुपूको श्राद्ध’ भन्या यही होला ।
    त्यो भान्जा पनि कहाँँ गतिलो रहेछ त ? अर्काको पैसामा मोजमस्ती गर्न खोज्ने असत्ती हरु ।
    पाप धुरिबाट कराउँछ । अत्ती भएसी खती हुन्छ, हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *