अन्धविश्वास हटाउन सबै लाग्नु पर्छ : उपकुलपति जोशी
कैलाली । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले अन्धविश्वासको विरुद्धमा बारेमा सचेतना फैलाउन आवश्यक रहेको टिप्पणी गरेका छन् ।
सामाजिक विकास मन्त्रालयको आयोजना र प्रेस क्लब धनगढीको संयोजनमा धनगढीमा आयोजना गरिएको अन्धविश्वासबारेको बहसमा उपकुलपति जोशीले विभिन्न प्रकारका कुरीतिहरू अझै पनि समाजमा व्याप्त रहेको भन्दै त्यसलाई हटाउन सचेतना मूलक कार्यक्रमहरू आयोजना गर्नु पर्ने बताए ।
वरिष्ठ पत्रकार हेमन्त पौडेलले अन्धविश्वास अझै सम्म कायम रहनुमा नीतिमै समस्या रहेको बताए । उनले उच्च पदस्थ व्यक्तिहरू पनि अन्धविश्वासमा रहेको भन्दै सबै वर्ग समुदायका नागरिकहरूलाई यस विषयमा जानकार बनाउन आवश्यक रहेको बताए ।
सञ्चारकर्मी तथा प्रेस क्लबका अध्यक्ष सुशील ढुङ्गानाले सुदूरपश्चिममा अन्धविश्वासको अवस्था अन्य ठाउँ भन्दा बढी रहेको भन्दै यसको निराकरणका लागि सबै लाग्नु पर्ने बताएका थिए ।
अधिकारकर्मी माधव चौधरीले धर्मसँग अन्धविश्वास जोडिने गरिएको भन्दै त्यस्ता कुराहरूमा सचेतना फैलाउनुपर्ने बताए । सञ्चारकर्मी तथा रक्तदाता दीपक आचार्यले घरबाटै अन्धविश्वास हटाउनुपर्ने बताए।
लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका नागरिकहरूको सवालमा आवाज उठाउँदै आएका राजु लामाले तेस्रो लिङ्गी र समलिङ्गीहरू पनि बलात्कारको सिकार भइरहेको भन्दै यस विषयमा राज्यले ध्यान दिनुपर्ने बताए।
मिना भण्डारीले पछिल्लो समय बिस्तारै अन्धविश्वास कम हुँदै गएको बताइन्। एकल महिलालाई अझै बढी समस्या रहेको उनको भनाइ थियो । त्यस्तै निर्मला विकले अन्धविश्वासकै कारण समाजमा बलात्कार जस्ता जघन्य अपराध बढेको बताइन् ।
अम्बिका भण्डारीले अन्धविश्वासको जड हटाउन लैङ्गिक विभेद हटाउनुपर्ने भन्दै छोरीले पनि क्रिया गर्न पाउनुपर्ने उनको भनाइ थियो ।
सञ्चारकर्मी गगन ऐडीले एनजिओ आईएनजीओले बजेटलाई लक्षित लक्षित वर्गसम्म पुर्याउनुपर्ने बताए । इन्द्रा धामीले समाजमा गलत क्रियाकलाप हुँदै गएको भन्दै राज्यले ध्यान दिनुपर्ने बताइन् ।
सञ्चारकर्मी विवेक नागरिकले दलित समुदायमा व्याप्त विभेद रहेको बताए विद्यालय स्तरमा पनि दलित समुदायका विद्यार्थीहरू विभेदको मारमा परेको उनको भनाइ थियो।
सञ्चारकर्मी तथा अधिकारकर्मी लोग्शवरी कुँवरले केही समयअघि मात्रै अन्धविश्वास र कुरीति सम्बन्धी पुस्तक शल्यक्रिया सार्वजनिक गरेकी थिइन्।
आज बोल्ने अधिकांश वक्ताले पुस्तकमा भनिए जस्तै समाजमा अझै पनि विभिन्न बहानामा विभेद कायमै रहेको भन्दै त्यस्ता विभेदहरूलाई हटाउन सरकार गम्भीर हुनुपर्ने बताएका थिए।
उनीहरूले विद्यालय र समाजबाटै यस्ता अन्धविश्वास र कुरीति हटाउनुपर्नेमा जोड दिए । कार्यक्रमको सहजीकरण लेखक कुँवरले नै गरेकी थिइन् ।