ऋणको भार चिन्ताजनक ठाउँमा नपुगे पनि सचेत हुनुपर्ने अवस्था छ : वाग्ले – Nepal Press

ऋणको भार चिन्ताजनक ठाउँमा नपुगे पनि सचेत हुनुपर्ने अवस्था छ : वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले देशले सोचेको जस्तो ऋणको भार लिएर चिन्ताजनक ठाउँमा नपुगे पनि सचेत हुनुपर्ने अवस्थामा पुगेको बताएका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै वाग्लेले नेपालले लिएको ऋणको भारीमा सचेत हुनुपर्ने अवस्थामा पुगेको बताएका हुन् । सरकारको थपिएको ऋण र पहिला लिएको ऋणले पनि आर्थिक वृद्धि गर्दा उक्त ऋण ठिकै हुने उनको भनाइ छ ।

वाग्लेले भने- अर्थमन्त्री ज्युले यसपालिको बजेटमा १४१९ अर्ब राजस्व उठाउँछु । त्यसको झन्डै १६० अर्ब तलब दिन्छु । ५२ अर्ब वैदेशिक अनुदान लिन्छु । यसरी सङ्घीय आम्दानी करिब १३ सय १३ अर्ब जति हुन्छ भन्नुभएको छ । १४ सय ९३ अर्ब खर्च गर्छु भन्नुभएको छ । जसमा ७३२ चालू र ३५२ पुँजीगत र ४०९ वित्तीय हस्तान्तरण गर्छु भन्नुभएको छ ।

यसरी वित्तीय व्यवस्थापन गर्नुपर्ने घाटा १८० अर्बको हिसाब अर्थमन्त्रीले ल्याएर आउनुभएको छ । त्यसको ३३० अर्ब आन्तरिकबाट उठाउँछु । तर, पहिला पहिलाको ऋण २४६ अर्ब जति तिर्छु र ८४ अर्ब ऋण थप्छु भन्नुभएको छ आन्तरिकबाट । बाह्य ऋणमा २१६ अर्ब उठाउँछु, ५४ अर्ब पुरानो ऋण तिर्छु भन्नुभएको छ । र १६४ अर्ब विदेशी ऋण थप्छु भन्नुभएको छ ।

यसरी थप्ने भकारीमा अहिले नै करिब २४ सय अर्ब ऋण रहेको छ । यो स्टक भयो । र अहिलेको प्रभाव उहाँले करिब १८० अर्ब जति थप्छु भन्नुभएको छ । यो ठिकै हो, यदि थपिएको ऋण र पहिला लिएको ऋणले पनि आर्थिक वृद्धि गर्ने हो भने । तर, अहिले हामी त्यो हैसियतमा पुगेका छैनौँ । किनभने, विगत १० वर्षमा मात्रै हामी अर्थतन्त्रको आकारको अनुपात २३ प्रतिशत एकै पटक ४३ प्रतिशतमा पुगेका छौँ ।

२० प्रतिशतको फड्को यो १० वर्षमा ठुलो हो । ठुला ठुला परियोजना बनेर विकास भएको भए चिन्ता गर्नुपर्ने विषय थिएन । त्यतातिर भएन । कहाँ खर्च गरेछौँ यो २० प्रतिशत बिन्दु अल्लि कति भूकम्पमा खर्च गरेका छौँ भने , कोभिडमा अलिकति खर्च गरेका छौँ, सङ्घीयतामा अल्लि अल्लि खर्च भएको छ र ठुला पूर्वाधारका नाममा लिएका केही थप ऋणहरूले यो भार थपिएको छ ।

त्यसैले सोचेको जस्तो ऋणको भार लिएर घिउ नै खायौ त म भन्दिन । ठ्याक्कै चिन्ताजनक ठाउँमा नपुगे पनि सचेत हुनुपर्ने अवस्थामा पुगेका छौँ । अब नयाँ स्रोत र नयाँ सर्तको खोजी गर्नुपर्‍यो । मूल मन्त्र आन्तरिक अनुशासनमा बसेर प्राइभेट क्यापिटलतिर जानुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर