सर्वोच्चले यसकारण खारेज गर्यो केदार कार्कीको रिट
काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्कीको नियुक्ति असंवैधानिक भएको जिकिर गर्दै केदार कार्कीले दायर गरेको रिट खारेज हुने फैसलाको तत्काल लिखितरूपमा केही नआउने भएको छ ।
सर्वोच्च अदालतका सूचना अधिकारीले केही दिनभित्र एकैपटक पूर्णपाठ तयार गरेर सार्वजनिक गरिने बताए । तर, उनले फैसला गर्ने इजलाससँग बुझेर रिट खारेज हुनुको कारण नेपाल प्रेसलाई बताए । उनले केदार कार्कीको रिट खारेज हुनुको कारण यसरी उल्लेख गरे, ‘धारा १६८ (५) बमोजिम गठित सरकारलाई समर्थन गर्ने दल वा व्यक्तिले दिएको समर्थन फिर्ता दिएको अवस्थामा धारा १८८ (२) बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको देखिन्छ । सो बमोजिम तत्कालीन मुख्यमन्त्री केदार कार्कीले तोकिएको समयभित्र विश्वासको मत लिएको नदेखिएको अवस्थामा प्रदेश प्रमुखबाट बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई सभाको बहुमत रहेको विश्वास हुने आधारसहित मुख्यमन्त्रीको पदमा दाबी पेश गर्न आह्वान भएबमोजिम नयाँ सरकार गठन भइ विश्वासको मतसमेत प्राप्त भइसकेको देखिँदा निवेदकको रिट खारेज हुने ठहर्छ ।’