सरकारले सार्वजनिक नगर्दै लिक भयो सुदूरपश्चिममा ‘रातो किताब’, कांग्रेसको विरोध – Nepal Press

सरकारले सार्वजनिक नगर्दै लिक भयो सुदूरपश्चिममा ‘रातो किताब’, कांग्रेसको विरोध

कैलाली । सुदूरपश्चिम प्रदेशमा आगामी आर्थिक वर्षको रातो किताब ‘रेडबुक’ सरकारले अझै आधिकारिक रूपमा सार्वजनिक गरेको छैन । तर, अहिले सरकारले ल्याउन लागेको योजना सहितको बजेटको डिजिटल प्रति सार्वजनिक भइसकेको छ ।

उक्त प्रति कसरी बाहिरियो भन्ने विषयमा सरकारले अझैसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

कांग्रेसले भने सरकारकै लापरबाही र स्वार्थका कारण बाहिरिएको जनाएको छ । मङ्गलवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले सरकारले सार्वजनिक नगर्दै ‘रेडबुक’ बाहिरिनुको कारण बारे सरकारको आधिकारिक धारणा माग गरेका छन् ।

उनले बिचौलियाबाट रकम उठाउन सहज होस् भन्ने उद्देश्यले सरकारी निकायबाटै रातो किताब बाहिर सार्वजनिक भएको आरोप लगाए । उनले यस विषयमा उच्चस्तरीय छानबिन समिति गठन गरी नैतिकताको आधारमा राजीनामा माग गरेका छन् ।

‘नैतिकताको आधारमा राजीनामा दिनु पर्छ र सरकार छोड्नु पर्छ । विगतमा यस्ता कुरा उठ्दा अर्थमन्त्रीले राजीनामा दिएको इतिहास छ । उच्चस्तरीय छानबिन समिति गठन गरेर छानबिन गरेर कानुन अनुसार कारबाही गर्नु’ उनले भने ।

निवर्तमान मुख्यमन्त्री समेत रहेका शाहले रातो किताब बाहिरिएको विषयमा सरकारले तत्काल जवाफ दिनु पर्ने बताए ।

‘सबै मन्त्रालयको शीर्षक अनुसारको बजेट आएको देखिन्छ । जे तपाइहरूले शङ्का गर्नु भएको छ ती कुराहरू यसमा प्रतिविम्ब हुन्छ’ उनले भने, ‘यदि सरकारले राखेको हो भने बजेट पुस्तिका सार्वजनिक किन गर्न सकेन । यो सरकारले सार्वजनिक गरेको होइन भने किन सरकार मौन रहेको छ ।’

उनले बिचौलिया मार्फत सरकारको रातो किताब सार्वजनिक हुनु दुखद पक्ष रहेको जनाए । सांसदहरूको योजना माग गरिएको थियो तर, अहिले सांसदको योजना छैनन् । ‘यो सरकारले ल्याएको बजेट बिचौलियाको जस्तो देखिएको छ’ उनले भने।

पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले सरकारले बजेट सार्वजनिक गरेको दुई सातासम्म पनि बजेट किताब नआउनु विडम्बनापूर्ण विषय रहेको बताए ।

‘यो भन्दा पहिलो को सरकारहरूले पहिले पहिलो सातामै बजेट पुस्तिका सार्वजनिक गर्ने गरेको थियो । तर, यो सरकारले दुई साता सम्म पनि यो सरकारले बजेट पुस्तक ल्याएको छैन । यो दुर्भाग्य हो’ उनले भने, ‘सरकारले सार्वजनिक नगर्ने तर, विभिन्न व्यक्तिका मोबाइलहरूमा योजनाका कुराहरू आउने कुरा ठिक भएन ।’

उनले रातो किताब सार्वजनिक भएको विषयमा सरकारले चित्तबुझ्दो जवाफ दिनुपर्ने बताए । उनले सरकारले चित्त बुझ्दो जवाफ दिन नकसे सदन भित्र पनि बाहिर पनि सरकारविरुद्ध आन्दोलन गर्ने जनाए । उनले सरकारको राजीनामा माग्ने बताए ।

‘निष्पक्ष उच्चस्तरीय छानबिन समिति गठन गर्नु पर्छ । नैतिक जिम्मेवारी लिएर सरकार छोड्नु पर्छ । भोली आउन सक्ने परिणामको जिम्मेवारी सरकारले लिनु पर्छ’ उनले भने ।

उनले वर्तमान सरकार गठन भएदेखि एक अर्का प्रति विश्वास नरहेको भन्दै सरकारले यस विषयमा गम्भीर हुनुपर्ने बताए ।
सरकारले भने अहिले सम्म बाहिर आएको रातो किताब कहाँबाट सार्वजनिक भएको हो भन्ने बारे कुनै धारणा सार्वजनिक गरेको छैन ।

असार १ गते सरकारले बजेट सार्वजनिक गरेको थियो । तर, अहिले सम्म पनि उक्त बजेटमा छलफल सुरु भएको छैन । अहिले बजेटमाथि छलफल गर्ने बेलामा प्रदेश सभा सदस्यहरू विभिन्न संसदीय समितिको भ्रमणमा रहेका छन् । एकातर्फ सरकारले बजेटमाथिको छलफल सुरु गर्न सकेको छैन भने अर्को तर्फ सरकारले सार्वजनिक नगर्दै रातो किताब बाहिरिएको कुरा आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *