कुनै समूह विशेषको प्रभावबाट महशुल निर्धारण गरेको प्रमाण पेश गरे सामना गर्न तयार छु : अर्थमन्त्री पुन – Nepal Press

कुनै समूह विशेषको प्रभावबाट महशुल निर्धारण गरेको प्रमाण पेश गरे सामना गर्न तयार छु : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले कुनै समूह विशेषको प्रभावमा परेर भन्सार महशुल निर्धारण गरिएको प्रमाण सांसद वा बाहिर अन्य निकायमा सांसदहरुले पेश गरे सामना गर्न तयार रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा भन्सार ऐनका विषयमा सांसदहरुले गरेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्रीले यस्तो बताएका हुन् । उनले आफूले आर्थिक विधेयकमा कुनैपनि व्यवसायी समूहको प्रभाव र दबाबमा निर्धारण नगरेको स्पष्टिकरण दिए । उनले सांसदहरुले त्यस्तो प्रमाण संसद वा अन्य निकायमा पेश गरे सामान गर्न तयार रहेको भन्दै प्रमाण विनाका आरोपलाई रोष्टमबाट नै खारेज गर्ने बताए ।

उनले तयारी सामानहरुलाई महँगो भन्सार शुल्क र कच्चा पदार्थहरुलाई सस्तो बनायने सरकारको स्पष्ट नीति रहेको उल्लेख गरे । उनले यस्तो नीतिले मुलुकभित्रको आन्तरिक उत्पादन बढ्ने भएकाले भन्सारतिर धेरै चिन्ता लिनुपर्ने अवस्था नपर्ने बताए ।

उनले आन्तरिक उत्पादन र बिक्रीवितरणतिर आउने अन्तःशुल्कहरु र मूल्य अभिवृद्धिकरबाट मुलुकको राजश्व मुख्य रुपमा सञ्चालन हुने र राजश्व प्रणालीमा जाने विश्वास सरकारको रहेको भन्दै त्यही अनुसारका भन्सार नीति बनाएको बताए । उनले एसेम्बल उद्योगहरुको हकमा भन्सार महशुल छुट दीर्घकालिन रुपमा मुलुकमा उत्पादनको प्रवद्र्धन हुने अपेक्षाले दिइरहेको बताए ।

उनले मुलुकको अर्थतन्त्र भन्सारमा आधारितमा केही सत्यता भएपनि मुलुक पछिल्लो समय विस्तारै आफ्नै उत्पादनमा आधारित हुँदै गएको दाबी गरे । उनले आगामी आर्थिक वर्षमा समग्र अर्थतन्त्रको अवस्थामा सन्तुलित बजेट आकारमा ल्याएकाले राजश्व संकलनको लक्ष्यमा पूरा हुने दाबी गरे ।

उनले चालू आर्थिक वर्षको जस्तो ४१ प्रतिशतको राजश्व संकलन गर्ने अस्वभाविक महत्वकांक्षा नराखेकाले आगामी वर्ष राजश्वको लक्ष्य पूरा हुने बताए । उनले भन्सारलाई फेस,कन्ट्याक,पेपर लेस बनाई प्रविधिमैत्री बनाउँदै पारदर्शी बनाउने विषयमा सरकार स्पष्ट नीति लिएर अघि बढेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *