नेतृत्वले क्रिकेट कहिलेसम्म हेरेरमात्रै बस्ने ? – Nepal Press

नेतृत्वले क्रिकेट कहिलेसम्म हेरेरमात्रै बस्ने ?

नेपालले गत वर्ष एसिया कप र यो वर्ष विश्वकप टी-२० क्रिकेटमा सहभागिता जनायो । नेपालका लागि क्रिकेटका यी दुई ठूला रण संग्राममा छनोट हुनु नै एउटा विजय थियो । यी प्रतियोगिताको अन्तिम स्पर्धामा नेपालका खेलाडीहरुले आफ्ना सीमित स्रोत र राज्यको कर्मकाण्डी व्यवहारका बावजुद नेपालीहरुको मन जिते ।

यसअघि नेपालले १० वर्ष अगाडि पहिलो पटक आफूलाई टी-२० विश्वकपमा प्रवेश गराउँदै विश्व क्रिकेट मानचित्रमा एउटा बुलन्द सन्देश दिएको थियो । त्यो १० वर्ष पहिले र आजको दिनसम्मको यात्रामा नेपाली क्रिकेटले क्षमता प्रदर्शन गर्‍यो । हाम्रा खेलाडीले उनीहरुले सकेको गरे, तर यो दश वर्षमा हामीले एउटा महत्वपूर्ण फड्को मार्ने अवसर थियो, जुन चिज सरकार र नेपालको निजी क्षेत्रको सहभागितामा कुनै ठूलो खेलोफड्को थिएन ।

यी दुबै क्षेत्र कर्मकाण्डी स्याबासीबाट माथि उठ्न सकेन । यो विश्वकपको दौरानमा नेपाल एउटै कुरामा कमजोर देखियो, त्यो हो अनुभव । क्रिकेटका एसोसियट राष्ट्रहरुमा आफ्नो प्रभावशाली उपस्थिति जनाइरहेको नेपाली क्रिकेटलाई यो देशले यो १० वर्षमा त्यस्तो घनीभूत के दियो ?

उत्तर- केही छैन् ।

यो उत्तर मलाई मात्र होइन, खेलप्रेमी नेपाली सबैलाई अप्रिय लाग्छ । नेपाली क्रिकेटका लागि सरकार, राष्ट्रिय खेलकुद परिषद्, क्रिकेट एसोसियसन अफ नेपाल (क्यान) कसैले पनि गम्भीर भएर केही गरेकै छैनन् । यदि गरेका हुन्थे भने क्यान २०७३ सालमा आईसीसीको प्रतिबन्धमा पर्ने थिएन । यदि गरेका भए देशका प्रधानमन्त्री पुष्पकमल दाहालले एक वर्ष अगाडि टीयू क्रिकेट मैदानमा फ्लड लाइट राख्न दिएको निर्देशन केही समयमै पूरा भइसक्नु पर्थ्यो, तर आजसम्म भएको छैन । बरु यतिबेला प्रम सुपुत्री गंगा दाहालले फ्लडलाइट राखिसकियो भनेर गरेको पोस्ट मानसपटलमा आउँछ ।

यो विश्वकपको दौरानमा नेपाल एउटै कुरामा कमजोर देखियो, त्यो हो अनुभव । क्रिकेटका एसोसियट राष्ट्रहरुमा आफ्नो प्रभावशाली उपस्थिति जनाइरहेको नेपाली क्रिकेटलाई यो देशले यो १० वर्षमा त्यस्तो घनीभूत के दियो ?

यदि गम्भीर भएको भए यो अवधिमा मूलपानीको क्रिकेट मैदान तयार भइसक्नुपर्ने होइन र ? तर भइरहेछ के भन्दा वैकल्पिक शक्तिका रुपमा देखापरेको भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सासंदहरु जर्सी लगाएर हुल बाँधेर संसद भवन प्रवेश गर्छन् र भाइरल फुटेजको लागि क्लिक सट दिन्छन् । स्मरणीय के छ भने खेलकुद मन्त्रालय यही दलले हाँकिरहेको छ ।

आफूले फ्लडलाइट राख्न दिएको निर्देशनको कार्यान्वयन के भयो, त्यो प्रधानमन्त्रीलाई थाहा छैन, तर आउँछ केभन्दा जर्सी लगाएर सोफामा बसेर क्रिकेट हेरिरहेको तस्विर ! के यही शैलीले हाम्रो क्रिकेट अगाडि बढ्छ ? हामी भारत, अस्ट्रेलिया जस्ता क्रिकेटका महारथीसँग नियमित पैंठेजोरी खेल्ने अवस्थामा पुग्छौं त ?

यसका लागि सरकार, राखेप र क्यानसँग कहाँ छ गुरुयोजना ?

छ भने त्यो कहिले र कसरी सुरु हुन्छ ?

यी प्रश्नको जवाफ खोज्न मुस्किल छ । नेपाल सरकार र नेपाली क्रिकेट नेतृत्व ‘नेपाल विश्वकपमा पुग्यो’ भन्ने क्षणिकतामा मात्र रमाइरहेका छन् । के हामी फेरि अर्को १० वर्ष कुरेर अहिले जसरी नै रमाउनेमात्र हो । खेलमात्र एउटा यस्तो माध्यम हो, जसबाट विदेशी भूमिमा देशको झण्डा लहराउँदै गर्वसाथ हिँड्न सकिन्छ । खेलले नै देशलाई चिनाउँछ । सगरमाथा र बुद्धको देशबाहेकको नेपालको परिचय दिनसक्ने खेललाई हाम्रो किन यस्तो उपेक्षा ?

आजको मितिमा क्रिकेटले मात्र विश्वकपको मैदानमा आफूलाई उभ्याउन सकेको छ । फुटबललगायतका अन्य खेल यो अवस्थामा कहिले पुग्छ ? हामीलाई थाहा छैन । यस्तोमा क्रिकेटमा सरकारले आफ्नो लगानी किन नबढाउने, किन ठोस योजनामा काम नगर्ने ? सरकारले नगरे यो गरिदिने कसले हो ?

क्रिकेटलाई मजबुत बनाउन देशमा थरीथरीका पिच भएका क्रिकेट रंगशाला आवश्यक छ । टीयू मैदानको पिचले मात्र हाम्रो ब्याटिङ सुध्रिने अवस्था छैन । हामीलाई त्यहीअनुसार प्रशिक्षण आवश्यक छ ।

यसका लागि हामीले ठोस योजना ल्याउनुपर्छ । विश्वकप र यसैपालि खेलेको एसिया कपलगायतका प्रतियोगितामा नेपालमा अनुभवको कमी देखियो । क्यानले एक वर्षदेखि टीमलाई सँगै राखेर तयारी त गरायो, तर यो हाम्रा लागि पर्याप्त हुनसकेन । विश्वकप र एसिया कप अगाडि हामीले हामीभन्दा बलिया राष्ट्रमा गएर त्यहाँका बलिया टीमसँग क्रिकेट खेल्ने वातावरण बनाउन नै सकेनौं । यसमा क्यानको किचलो र फोहोरी राजनीतिबाट नेतृत्वले फुर्सद निकालेर सोच्ने र योजना बनाउने काम नै बनाउन सकेन ।

विश्वकप खेल्न र वातावरणसँग भिज्न हाम्रो टोली विश्वकप खेल्नु एक महिना अघि नै अमेरिका गयो, तर त्यहाँ गएर खेलिएका अभ्यास खेल हामीलाई विश्वकप अनुभवका लागि परिपक्व बनाउने किसिमका थिएनन् । विश्वकपमा हुनुपर्ने जति तयारी नभएको पटक पटक हाम्रा क्रिकेट कप्तानले नै भनिरहे ।

क्रिकेटका धुरन्धर राष्ट्रहरु भारत, पाकिस्तान, बंगलादेश नजिक रहेको नेपालले खेल स्तर सुधार्न क्रिकेट डिप्लोमेसीमा किन ठोस कदम चालिरहेको छैन । आईसीसीसँग समन्वय गर्न सकेको पनि यो विश्वकपमा देखिएन । विश्वकपमा हाम्रा खेलाडीले सकेको गरे । केही खेलमा हामी जितको नजिक पुगेर पनि त्यसलाई हासिल गर्न सकेनौं, तर विश्वका क्रिकेटप्रेमीका माझ नेपालले आफ्नो उज्यालो भविष्यको संकेत भने गर्न सक्यो ।

अबको हाम्रो रणनीति भनेको जतिसक्दो धेरै बलिया टोलीसँग क्रिकेट खेल्ने हुनुपर्छ । कुनै समय नेपालभन्दा कमजोर भएर क्रिकेट सुरु गरेको अफगानिस्तानले एउटा लामो फड्को मारिसकेको छ । नेपालसँग उसले क्रिकेट खेल्न चासो दिइरहेको छ ।

क्रिकेटलाई मजबुत बनाउन देशमा थरीथरीका पिच भएका क्रिकेट रंगशाला आवश्यक छ । टीयू मैदानको पिचले मात्र हाम्रो ब्याटिङ सुध्रिने अवस्था छैन । हामीलाई त्यहीअनुसार प्रशिक्षण आवश्यक छ । निःसन्देश मोन्टी देशाईले नेपाली क्रिकेटमा ऊर्जा थपिरहेका छन्, तर हामी अगाडि बढ्ने हो भने हामीले अझ स्तरीय प्रशिक्षक ल्याउनुपर्छ । हामी अझै पनि बलरको भरमा क्रिकेट खेलिरहेका छौं । नेपालले ब्याटिङ सुधारका लागि पर्याप्त कदम चाल्नुपर्ने देखिन्छ ।

अबको हाम्रो रणनीति भनेको जतिसक्दो धेरै बलिया टोलीसँग क्रिकेट खेल्ने हुनुपर्छ । कुनै समय नेपालभन्दा कमजोर भएर क्रिकेट सुरु गरेको अफगानिस्तानले एउटा लामो फड्को मारिसकेको छ । नेपालसँग उसले क्रिकेट खेल्न चासो दिइरहेको छ । हामीले यस्ता मौका खेर जान दिनुहुन्न । छिमेकी राष्ट्र भारतको क्रिकेटका क्षेत्रमा दबदबा छ । कैयौं कुरामा उसको साथ लिएको नेपालले क्रिकेटको विकासका लागि गम्भीर योजनासहित लबिङ गर्नैपर्छ । बाँकी पाकिस्तान, श्रीलंका एवं बंगलादेशलगायतका मुलुकसँग पनि यस्तै गर्न सकिन्छ ।

चाहना भए यो सबै चिज गर्नै नसकिने काम होइनन्, तर हाम्रो खेल नेतृत्व बोलीमा मात्र गम्भीर छ । नेपाली खेलाडीहरुको क्षमता र सम्भावना कति छ बन्ने कुरा आईपीएलसम्म खेलेका खेलाडीको यात्रालाई लिन सकिन्छ । हङकङमा बलिङ गरिरहेको एउटा १५ वर्षे ठिटाको प्रतिभा पहिचान गरेर अस्ट्रेलियाका पूर्वकप्तानले उतै लगेर आफ्नो घरमा राखेर ग्रुमिङ गरेर आईपीएलसम्मको यात्रा तय गराइदिन सक्छन् भने हाम्रो खेल नेतृत्व किन अगाडि बढिरहेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *