श्रीमान बितेको एक वर्षपछि सौभाग्य रुपमा भूमिका- सासूले नै दिइन् सिन्दूर, पाेते र टीका – Nepal Press

श्रीमान बितेको एक वर्षपछि सौभाग्य रुपमा भूमिका- सासूले नै दिइन् सिन्दूर, पाेते र टीका

‘साैभाग्य पहिरनले मनोबल बढेको छ, खुसी फर्काएको छ’

सुर्खेत । कालीकोटको महावै गाउँपालिका- ७ औलगेलाकी भूमिका पोखरेलको २०७९ साल वैशाख ४ गते प्रेम विवाह भयो । उनले इलामका भानु पौडेलसँग प्रेम विवाह भएकी थिइन् ।

भूमिका र भानु एउटै अफिसमा काम गर्थे, दुवैजना प्रेममा परे । केही समयपछि दुबैले नेपाली परम्पराअनुसार विवाह पनि गरे । विवाहपछि दुई जनाको प्रेम अझै गाढा भयो, तर यो खुसी धेरै समयसम्म टिक्न सकेन । २०८० साल जेठ १९ गते भूमिकाको जीवनमा कहिल्यै नसोचेको घटना भयो । भानु सडक दुर्घटनामा परे ।

अफिसको कामको सिलसिलामा खोटाङको मौरेगढी प्राविधिक शिक्षालय जाँदै गर्दा भानु सवार गाडी सिन्धुलीको मध्यपहाडी राजमार्गअन्तर्गत सुनकोशीको किनारमा दुर्घटना भएको थियो । दुर्घटनामा भानु र अन्य दुई जनाको मृत्यु भयो । भानुको शव ५ दिनपछि मात्रै भेटिएको थियो । अर्का एक जनाको भने ८ दिनपछि शव भेटिएको थियो ।

भानु दुर्घटनामा परेको दिन भूमिकाको मुहारको खुसी हरायो । श्रीमानसँग देखेका सपना चकनाचुर भयो । भूमिकाले माया गरेको श्रीमान् मात्रै गुमानन्, एउटी आमाको कोख रित्तियो, बुवाको भरोषा टुट्यो ।

विवाह भएको १४ महिनामै भूमिकाको जीवनमा बज्रपात भयो, तर भूमिकाको साहस टुटेन । उनले हिम्मत हारेनन् । समाजदेखि डराएर भागिनन् । उल्टै समाजको रुढी र कुसंस्कारविरुद्ध धावा बोल्ने हिम्मत गरिन् । त्यसैको प्रमाणस्वरुप भूमिकाले श्रीमानको सम्मानमा सिउँदोमा सिन्दूर, गलामा पोते र रातो परिहरण लगाउन थालेकी छन् । समाजले दिने परिचय ‘विधवा’ एवं ‘एकल महिला’को धेरा तोडेर भूमिकाले सिन्दूर र पोतेसहितको रातो पहिरनमा सजिएको फोटो आफ्नो सामाजिक सञ्जाल फेसबुकमा साझा गरेकी छन् ।

उनले फोटोसहित यस्तो लेखेकी छन्,

‘तिथिअनुसार यही असार ५-६ गते जेठ शुक्ल त्रयोदशीका दिन मेरो श्रीमानले हामीलाई छोडेर जानुभएको १ वर्ष पुग्यो । उक्त तिथिको कामपछि घरमा पूजा गरेर उहाँले मलाई विवाहमा दिनुभएको उपहार सिन्दूर, पोते र चुरामा मलाई मेरी सासूआमाले सजाउनुभयो ।

भगवानले उहाँलाई मबाट खोसे पनि उहाँले दिनुभएको उपहारहरू मसँग सुरक्षित थिए र रहनेछन् । जब जब मलाई ती उपहारहरू लगाउन मन लाग्छ, म लगाउनेछु ।

यस कार्यमा समाजले तोकेको नियमभन्दा मेरो भावनालाई बढी महत्त्व दिएर सहयोग गर्नुहुने पुरेत ठूलोबुवा, उहाँको घरपट्टिका हजुरआमाहरू, फुपूहरू, आमा, दिदी, बहिनी, काकीहरू, मेरो माइतको बुवा, आमा, फुपू, दाइ-भाउजू, बैनी, भाइ र सम्पूर्ण समाजप्रति आभारी छु ।’

उनको पोस्टलाई धेरैले फेरि साझा गरेर आफ्नो अभिव्यक्ति दिएका छन् । अधिकांशले उक्त हिम्मतलाई सलाम भनेका छन् ।

यस किसिमको परिवर्तनकारी एवं सामाजिक कुसंस्कारविरुद्ध चालेको हिम्मतिलो कदमका बारे नेपालप्रेसले सोध्दा भूमिकाले सुरुमा यस्तो लगाउनुपर्छ भन्ने सोच नभएको बताइन् । ५-६ महिनाअघि त्यही घटनाले गर्दा आफूले कसैसँग नबोल्ने गरेको बताउँदै उनले भनिन्, ‘अफिस जाँदा म अरूले बोलेमात्रै बोल्ने र नबोल्दा बोल्दिन थिएँ । मलाई देख्दा अफिसका स्टाफ पनि निराश नै देखिनुहुन्थ्यो । सबैले दयालु तरिकाले हेरेको जस्तो लाग्थ्यो । यसरी होइन, मैले अब मलाई पनि ख्याल राख्नपर्छ भन्ने हिम्मत गरें ।’

उनले केही समय श्रीमानको फोटो र भिडियो हेरेर बिताएको बताइन् ।

उनले सुनाइन्, ‘एक दिन विवाहको भिडियो हेर्दै थिएँ, विवाहमा सिन्दूर लगाएको भिडियो हेर्दै जाँदा सिन्दूर लगाएपछि तुरुन्तै छोप्नुपर्ने रहिछ । तर, हाम्रो विवाहमा सिन्दूर छोप्ने कपडा तत्काल भेटिएन । त्यो कपडा खोज्दासम्म मेरो श्रीमानले आफ्नो हातले मेरो सिन्दूर पुरै छोपिराख्नु भएको थियो । त्यो देखेपछि कति मायाले सिन्दूर लगाइदिनु भएको रहेछ भनेर फेरि सिन्दूर लगाउने सोच आयो । त्यसपछि उसले मलाई यति धेरै माया गरेर लगाइदिएको सिन्दूरलाई फेरि लगाउन मन लाग्यो । आखिर म उहाँकै श्रीमती हो । मैले फेरि सिन्दूर लगाएँ ।’

भूमिकाले आफ्नो दुवैतिरको परिवारले सिन्दूर, पोते, चुरा र रातो कपडा लगाउन साथ दिएको बताइन् । परिवारले आफ्नो इच्छा जे छ, त्यही गर, हामीले सहयोग गर्छौं भन्ने हौसला दिएको उनको भनाइ छ । सबैले सहयोग गरेको हुँदा आफूलाई हौसला मिलेको र केही अप्ठेरो नभएको भूमिकाले बताइन् ।

अहिले उनी निर्धक्क रातो पहिरन लगाउँछिन् । ‘सौभाग्य पहिरनले महिलालाई धेरै फरक पार्ने रहेछ’, भूमिकाले भनिन्, ‘अहिले मेरो मनोबलसमेत बढेको छ । रातो पहिरनले खुसी फर्काएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर